‘तरकारी बेचेर महिनामा ४० हजार बचत गरिरहेको छु’

पहिलो वर्ष नै एक सिजनमा २० हजारभन्दा बढी कमाएपछि तरकारी खेतीमै रस बस्यो

जेष्ठ ५, २०८२

ठाकुरप्रसाद डाँगी

”I am saving 40,000 per month by selling vegetables”

सल्यान — बिहान ४ बजे मोबाइलमा अलार्म बज्नासाथ म उठ्छु । हातमुख धोइवरी चिसै हात घरभन्दा ५० मिटर दूरीमा रहेको तरकारी बारीमा पुग्छु । त्यसपछि तरकारी गोडमेल, सिँचाइ र मलजल गर्छु । लहरे तरकारीलाई बार लगाएपछि लामो स्वास फेर्छु । रेखदेख सकिएपछि तरकारी टिप्न थाल्छु । खलंगा, श्रीनगरका व्यापारीले एक दिनअगाडि नै अर्डर गर्छन् । त्यसैले माग अनुसारमात्र तरकारी टिप्छु ।

तौलेर प्लास्टिकको थैलोमा प्याक गरेर घर ल्याएर राख्छु । त्यसपछि पनि आराम पाइँदैन । गाईबाख्रालाई घाँसपात गरेर बिहान १० बजे खाना खाएपछि बल्ल दुई घन्टा आराम गर्छु । दिउँसो बाहिरफेरको काम गरेपछि अपराह्न ४ बजेतिर पुनः तरकारी गोडमेल सुरु गर्छु ।

पहिले बाबुआमासितै शारदा नगरपालिका–४ मा बस्दा आर्थिक अभावले ६ कक्षा भन्दामाथि पढ्न सकिनँ । १५/१६ वर्षको उमेरमा विवाह गरेँ । दुई छोरा भए । परिवारका ६ जनाका लागि खर्चको जिम्मेवारी मेरै काँधमा आयो । पढ्न नसकेका कारण जागिर खान सकिनँ । आवश्यकता पूर्तिका लागि सुरुवातमा मजदुरी गरेँ । मजदुरी गर्दा दिनमा मिल्ने ५ सयले घरखर्च चलाउन हम्मेहम्मे भयो । बच्चैदेखि कृषिकार्यमा रुचि थियो । त्यसैले घरखर्च चलाउन २१ वर्षको उमेरमा तरकारी खेतीमा लागेँ । अहिले म ४४ वर्षको भएँ । अहिले पनि कृषिलाई निरन्तरता दिएको छु । 

मैले सात रोपनी जग्गामा काँक्रो, सिमी, भेडेखुर्सानी, टमाटर, बसन्ते मकै, आलु, प्याज लगायत खेती गरेको छु । अहिले काँक्रो प्रतिकिलो ४०, सिमी ७०, आलु ४५, बोडी ८०, लामो फर्सी ३५, प्याज ४० मा बिक्री भइरहेको छ । अर्डर र फुटकर गरी अहिले दैनिक ४/५ हजारसम्मको तरकारी बिक्री गरिरहेको छु । वर्षमा १०/१२ लाखको तरकारी बिक्री हुन्छ । त्यसमा सबै खर्च कटाएर ४ देखि ५ लाखजति बच्छ । बचेको पैसाले केही जग्गा जोडेको छु । अरु सबै दुई छोरालाई पढाउन ठिक्क छ । २०५७/५८ तिर खलंगा बजारमा मजदुरी गर्ने क्रममा स्थानीय काँक्रोलाई ५० देखि सय रुपैयाँसम्ममा बिक्री भएको देखेपछि मैले मजदुरी पेसालाई सदाका लागि त्यागी बाबुबाजेले जोडेको बरलाको दुई रोपनी खेतमा काँक्रो लगाएर परीक्षण गरेको थिएँ । 

पहिलो वर्ष नै एक सिजनमा २० हजारभन्दा बढी कमाएपछि यसैमा रस बस्यो । त्यसले मलाई झनै उत्साहित गर्‍यो र अहिले पनि काँक्रो लगायतका तरकारी बाली लगाइरहेको छु । तरकारी माग बढ्न थालेपछि स्थानीयको जग्गा भाडामा लिएर तरकारी खेती गरेँ । सुरुसुरुमा त धेरै गाह्रो भयो । बिस्तारै बजार पाउन थालेपछि तरकारी बेचेर कमाएको पैसाले तीन रोपनी खेत किनेँ । भाडामा लिएको जग्गा फिर्ता गरेर अहिले आफ्नै सात रोपनी जग्गामा तरकारी लगाइरहेको छु ।

बाबुआमा अहिले मसँगै हुनुहुन्न । दुई छोरा पनि पढाइका लागि सहरमा बस्छन् । घरमा श्रीमान्–श्रीमती मात्रै छौं । दुई जना खटिएर काम गर्छौं । दैनिक मैले ४ हजारदेखि ५ हजारसम्मको तरकारी बिक्री गर्दा महिनामा कहिले एक लाख त कहिले १ लाख ५० हजारसम्मको तरकारी बिक्री हुन्छ । 

त्यसबाट सहरमा पढ्न बसेका छोरालाई महिनैपिच्छे ३०/४० हजार पठाउने गर्छु । घरमा दुई जनालाई खाने खाद्यान्न र तरकारी किन्न पर्दैन । स्वास्थ्योपचार गर्ने र अन्य आवश्यकता अनुसार खर्च गर्न १५/२० हजार भए पुग्छ । सबै खर्च कटाएर अहिले महिनामा ४० हजारसम्म बचाइरहेको छु । त्यही बचाएको पैसाले घर, जग्गा जाडेको छु ।

विगतमा तरकारी बिक्री गर्न एक घन्टा बढी समय हिँडेर खलंगा पुग्थेँ । अहिले तरकारी किन्न खरिदकर्ता घरमै आउने गरेका छन् । यसले गर्दा सजिलो भएको छ । तरकारी खेतीमा लागेपछि घरमा दुई जनालाई रोजगारी मिलेको छ । विगतमा चिनेजानेका मान्छेले कतै काम लगाई दिन्छन् कि भनेर आश गरी बस्नु पर्थ्यो । काम नपाए कहिलेकाहीँ त भोकै पनि बस्नुपर्थ्यो, अहिले त्यस्तो छैन । 

प्रस्तुति : विप्लव महर्जन

ठाकुरप्रसाद

Link copied successfully