‘भेडाको पछिपछि वनमै डुल्ने, वनमै बस्ने बानी परिसक्यो’

आफ्नै काखमा हुर्किएको भेडा मर्दा सारै नमज्जा लाग्छ

जेष्ठ ३, २०८२

चन्द्रबहादुर गुरुङ

”Following the sheep in the forest, living in the forest has become a habit”

गोरखा — चुमनुब्री गाउँपालिका–३ सिर्दिवासको न्याकगाउँमा मेरो बसोबास छ । यो गोरखाको लेक हो । यहीँ जन्मिएर दुःखमै हुर्किएँ । पढ्नका लागि लेकमा स्कुल थिएन । गुजाराका लागि बुवाले भेडा पाल्नु भएको थियो । सानैदेखि म पनि भेडाको गोठ आउने जाने गर्थें । त्यही १६/१७ वर्षको उमेरमा विवाह भयो । बिहेवारी गरेपछि व्यवहारले च्याप्यो । अनि त म पनि भेडा पाल्नतिरै लागेँ । अहिले ४० वर्ष भइसक्यो । भेडाको पछिपछि दौडिरहेको छु ।

अहिले ६० वर्षको भएँ । यतिन्जेल भेडी गोठालोबाहेक नोकरी गरिएन । खेतीपाती गर्ने सुर नै भएन । सानैदेखि भेडाको पछि दौडिएर होला– वनमै हिँड्ने, वनमै बास बस्ने बानी परिसक्यो । अहिले मसित ७० वटा भेडा छन् । लेकबेसी गर्दै भेडाको स्याहार गर्दैमा दिन बित्छ । कहिले पूर्व पुग्छु त कहिले पश्चिम । बास बस्ने कुनै ठेगान हुँदैन । सिर्दिवास क्षेत्रका चार/पाँच वटा खर्कमा भेडा पुर्‍याउँछौं । हिँडेर ५/६ दिन लाग्ने ठाउँसम्म लेक छ । चामल, कोदोको पिठो, ओड्ने ओछ्याउने सबै बोकेर भेडाको पछिपछि कुद्ने हो । 

जंगलमै आगो फुक्यो, त्यहीँ बास बस्यो । भेडाले घाँस पाएको बेला कतै दुई सातासम्म एकै स्थानमा बास बस्नुपर्छ । कुनै दिन एकै रात पनि एक ठाउँमा बस्न पाइँदैन । ५/६ वटा गाई पनि छन् । भेडा गाउँको खर्कमा मात्र होइन, लमजुङसम्म चराउन पुर्‍याउने गरेको छु । पहिले यही गाउँका १५/१६ जनाको भेडीगोठ थियो । अरूले दुःख भएर भेडापालन छाडे । म सहित चार जना भने अझै भेडा पालेर नै निर्वाह गर्छौं । भेडा पाल्न सारै दुःख छ । स्याहार्न पर्‍यो, भुत्ला बढ्छ काट्न पर्‍यो । बिरामी पर्छन्, हेर्न पर्‍यो ।

कति भेडाका बच्चा त के रोगले हो, त्यसै मर्छन् । यसरी आफ्नै काखमा हुर्किएको भेडा मर्दा सारै नमज्जा लाग्छ । दुःख छ, भेडा मर्‍यो भनेर पनि यो काम छाड्न मन लाग्दैन । तीन छोरा, दुई छोरी यही भेडा पालेर हुर्काएँ । जेठो छोरोलाई भेडाको पालो दिन लगाउँदा पढाउन पाइनँ । दुई छोरालाई पढाउँदै छु । नुन, तेल, चामल सबै किन्ने यही भेडा बेचेको पैसाले हो । कसै गरे पनि महिनामा १०/१५ हजार खर्च त भइहाल्दो रहेछ । 

हाम्रो गाउँमा धान खेती हुँदैन । चामलदेखि हरेक थोक किन्ने हो । कोदो, मकै बारीमा हुन्छ । महिनामा एक/दुई बोरा चामल किने टरिहाल्छ । खर्च भनेको नै खानमा हो । वनमा हिँड्ने म लगाउन त नफाटेको भए जस्तो लगाए पनि चलिहाल्छ ।

एउटा साँढ बेच्न पाए २५/२६ हजार आउँछ । सानो ठूलो हेरेर भाउ हुन्छ । कुनैलाई १२/१३ हजारमा पनि बेच्नुपर्छ । महिनामा एउटा भेडा बेच्न सके घरको गर्जो टर्छ । धेरैले पाल्न छाडेर पनि होला, भेडा बिक्री गर्न त्यति धेरै समस्या छैन । कोही बेला त ग्राहक लेकमै आइपुग्छन् । छोराहरूलाई पढाउन, चाडपर्वमा एकसरो लुगा किन्न यही भेडा बेचेको पैसाले पुगेको छ । शरीरमा त्यस्तो ठूलो बिमार छैन । हिँड्दा लागेको चोट त गाउँघरकै जडीबुटीले पनि ठिक पारिहाल्छ । दुःख भनेको नै वनमै हिँड्ने काम हो । बानी परेर होला यही वन, यही लेक प्यारो लाग्छ । 

श्रीमतीलाई पनि बुढ्यौली लाग्दै गयो । छोराहरू पढ्दै छन् । अहिले मलाई भेडा हेर्न पालो दिने मान्छे छैन । घरमा मुस्किलले एक रात आएर बस्न पनि समस्या छ । बर्खाको बेला गाउँ नजिकै भेडा झारेको बेला घर बस्न पाइन्छ । अरू बेला गाउँकै साथीको भेडामा मिसाएर पालो लगाएर कहिलेकाहीँ एक रातलाई घर पुग्ने गर्छु । श्रीमतीले खर्च सकिएका बेला खेताला खोजेर ज्याला दिएर चामल, नुन, तेल गोठमै पठाउँछिन् । नत्र घरका कोहीको फुर्सद भए ल्याइदिन्छन् । ४० वर्षदेखि वनमा बितेको जिन्दगी भएर मेरो मन वनमै रमाएको छ ।

प्रस्तुति : हरिराम उप्रेती

चन्द्रबहादुर

Link copied successfully