राम्रो कोठामा बस्नलाई भाडा तिर्न पैसा पुग्दैन । सस्तो भएकाले टहरोको बास नै ठिक छ
काठमाडौँ — कामको खोजीमा रौतहटबाट राजधानी आइपुगेँ । मौसमी व्यापार नै मेरो जिउने आधार बनेको छ । अहिले डालोमा काफल बेचेर गुजारा चलाइरहेको छु । ५८ वर्षको भएँ । काफल बेचेर कमाएको पैसाले साँझ–बिहान आठ जनाको परिवारको पेट भरिरहेका छौं ।
परिवार एकै ठाउँमा छैनौं । म कलंकीमा एउटा टिनको टहरोमा बस्छु । परिवारका बाँकी सदस्य रौतहटमै छन् । राम्रो कोठामा बस्नलाई भाडा तिर्न सक्दिनँ । सस्तो भएकाले टहरो नै ठिक छ ।
म हरेक दिन बिहान ५ बजेतिर कलंकीबाट कालीमाटी आइपुग्छु । काफल किनेपछि डालो बोकेर सामाखुसी हुँदै ग्रीनल्यान्ड, टोखातिर पैदलै जान्छु । जाडोमा घरदैलोमा डुल्दा चिसो र गर्मीमा साह्रै गर्मी हुन्छ । लखतरान परेका बेला कहिलेकसो बस पनि चढ्छु । पैदल हिँड्दा ३० रुपैयाँ भए पनि बचिहाल्छ । सिजन हेरेर फलफूल बेच्ने गर्छु ।
काफलको सिजनमा काफल, नत्र बदाम र स्टबेरी बेच्ने हो । सबेरै कोठा छाड्ने भएकाले पकाएर खान भ्याउदिनँ । बाहिरफेर खाँदा धेरै पैसा खर्च हुन्छ । त्यसैले बाहिर खासै केही खाँदिनँ पनि । हिँड्दै गर्दा भोक लागेपछि चिया बिस्कुट खाने गर्छु । प्रायः बिहानको खाना भनेकै चिया बिस्कुट हो । बेलुका भने कोठामा पुग्दा निकै भोक लागिरहेको हुन्छ । जाने बित्तिकै पकाएर स्वाटसुट खाइहाल्छु ।
रौतहटमा श्रीमती, दुई छोरा–बुहारी र पोतापोती छन् । दुई बेटीको बिहे भैसक्यो । सानो छोरा आठमा पढ्दै छ । ठूलो छोरा २१ वर्षको भयो । उसले बिहे पनि आफैंले रोजेर गरेपछि हामी खुसी थियौं । तर अहिले कुलतमा फसेर तनाब दिएको छ । सम्झाउँछु यस्तो नगर भनेर । उल्टै मलाई सम्झाउन थाल्छ । छोराले कमाएर खान दिने बेलामा म आफैं डालो बोकी कुदिरहेको छु । डालो बोकेर कुद्ने बेला घामपानी पनि भन्न पाइँदैन । छोराले राम्रो गर्ला भनेर दुःख गरेँ । उल्टै अहिले रक्सी खाएर हामीलाई पिट्न खोज्छ । आफ्नै आमालाई पिट्न खोज्छ । जिन्दगीमा यसभन्दा दुःख के हुन सक्छ ! के गरेँ मैले, के भयो अहिले ? मलाई नै समझमा छैन ।
गाउँलेबाट कर्जा लिएर बिदेश गए पनि बिमार भएर फर्किन पर्यो । नेपाल आएर बाख्रा, भैंसी र काठमाडौंमा मौसमी व्यापार गरेर दुई लाख कर्जा तिरेँ । अब छोरीहरूको सादीको ऋण तिर्न छ । अहिले पानी परेका दिन काफल बिक्री हुँदैन । व्यापार नभएपछि दिमाग खराब भइहाल्छ । खर्च नै खर्च छ । घरभाडा तीन हजार, ग्यास सिलिन्डरलाई दुई हजार, तेल, दाल–चालम उस्तै महँगो छ ।
रौतहटमा जहान–परिवारले अरूको खेतबारी कमाएका छन् । तर, त्यो उत्पादनले घरकैलाई खान चामल पुग्दैन, मलाई कहाँबाट पठाउने ! मदिरा पिउन पैसा नदिए छोराले बर्तन फाल्ने, झगडा गर्ने गर्छ । यहाँबाट पठाएको पैसाले मिठो मसिनो खाने वातावरण छैन । त्यसैले छोराले थाहा नपाउने गरी १०/१२ हजार महिनामा पठाइदिन्छु । । दाइको आनीबानी देखेर कान्छो छोरा पनि बिग्रने हो कि भन्ने कुराले झन् तनाव हुन्छ ।
छोरीहरूको बिहे गर्दा लागेको १० लाख कर्जा सम्झिएका बेला निद पर्दैन । जिन्दगीले मलाई मात्र दुःख दिएजस्तो लाग्छ । छोराको पिरले ब्लडप्रेसर बढेर औषधि खान थालेको पनि २ वर्ष भयो । श्रीमतीलाई काठमाडौं घुमाउने रहर थियो । तर के गर्ने जिन्दगीले आफैंलाई फनफनी घुमाइरहेछ । बुढेसकालमा परिवारसाग रमाउने, नाति–नातिना खेलाउने र डुलाउने सपना देखेको थिएँ, ती सबै अहिले खेर गइरहेका छन् ।
अहिलेका लागि मेरो सपना छोरा सुध्रियोस् र उसले छोराछोरी र श्रीमतीको राम्रोसित ख्याल गर्न सकोस् भन्ने मात्र छ । त्यति भइदिए म र श्रीमती पनि तनावमुक्त हुन्थ्यौं । सन्तानको भविष्यका अगाडि कर्जा पनि सानै देखिने रहेछ । तर पनि अर्काको कर्जा तिरेर बस्न पाए आनन्द हुन्थ्यो । कहिले काफल, कहिले बदाम काँधमा बोकेर जिन्दगी सकिन लाग्यो । सहरिया भीडमा दौड्दा–दौड्दै थकाइ मार्न नपाइ कति बेला जिन्दगी सकिने हो, पत्तै छैन ।
प्रस्तुति: आरती पौडेल
