१०/१५ वर्षयता असिना नपरेकाले त्यति दुःख भने छैन । पहिले मकै उम्रेरपछि असिना परेर सबै ढुट्टो पार्थ्यो
चितवन — राप्ती नगरपालिका–१३ को कान्दा मिजार टोलमा बसोबास छ । यो ठाउँ चितवनको शिर हो । पुर्खाहरू यहीँ जन्मिए, हुर्के र मरे । बुवा–आमा बितिसक्नुभयो । दुई छोरी र पाँच छोरा छन् । छोरीहरूको बिहे भइसक्यो । गत माघमा जेठो छोराको बिहे भयो । लोथर पञ्चायत र गाविस हुँदै अहिले नगरपालिका बनेको छ ।
नगरपालिका त बन्यो तर हाम्रो गाउँमा अझै बिजुली पुगेको छैन । भिरालो जमिनमा छरिएका घर छन् । गाडी चढ्न दुई घण्टा ओरालो झरेर कालिटार पुग्नुपर्छ । डाँको लाउँदा भीरले मात्र सुन्छ । हाम्रो आवाज सुन्ने अरु कोही छैन ।
अहिले ६१ वर्षको भएँ । गाउँमा ३२ रोपनी जमिन छ । भीरमा भएको जमिनको के अर्थ ? सिंचाइ छैन, आकासे पानीले भिजाएपछि मकै–कोदो रोप्ने हो । अलि अलि दाल, गेडागुडी र पिँडालु लगाउँछु । दुःख गरेपछि पाखो बारीमा ठिकै फल्छ । भात नखाने हो भने छाक टार्न समस्या पर्दैन । केही गरी असिना परे अनिकाल लाग्छ । अनि बेसाएर खानुपर्छ । १०/१५ वर्षयता असिना नपरेकाले मलाई त्यो दुःख भने छैन । पहिले मकै उम्रेपछि असिना परेर ढुट्टो पार्थ्यो । फेरि छर्यो भने मकै नहुर्कंदै साउनको झरीमा परेर दाना नलाग्ने समस्या आउँथ्यो । असिनाले बाख्राको घाँस पनि सत्यानाश पार्छ ।
असिना पर्दा हाम्रो उठिबास लगाउँथ्यो । अहिले असिना थामिएको छ । घरकै आटोपिठो खाए पनि नुन, खुर्सानी, तेल मसला किन्नैपर्छ । लुगाफाटो, जुत्ताचप्पल पनि जोड्नै पर्यो । हिसाब राख्ने चलन छैन । खसी–बोका बेच्नुपर्दछ । वर्षमा दुईदेखि बढीमा १०/१२ वटा खसी–बोका बिक्री हुन्छन् । एउटाको पाँचदेखि बढीमा १५ हजार रुपैयाँसम्म बुझेको छु । यसबाटै घरखर्च धान्ने हो । मासु खान मन लागेका बेला कम्तीमा एक महिनाको भाका राखेर ल्याउने गरेको छु ।
दशैंमा हो धेरै मासु चाहिने । बेलाबेलामा आफैंले पालेका कुखुरा खान्छौं । सन्तानको बिहेवारी गरिसकेकाले इष्टमित्र आउँछन् । उनीहरूको सत्कार गर्नुपर्यो । पाहुना आउँदा मिठै ख्वाउँ भन्ने हुन्छ । नभए अरू चाहना र ठूलो खर्च त्यस्तो केही छैन । गएको भदौमा गोठका एक हल गोरु मरे । पैसा नभएका कारण त्यसपछि गोरु किन्न पनि सकेको छैन ।
ऋणधन गरेर जेठो छोराको बिहे गरियो । अहिले ऋण एक लाख रुपैयाँजति पुगेको छ । जेठो छोरा मिसनले १२ कक्षा पास गर्यो । सुरुमा गाउँमै छात्राबासमा बसेर पढेको हो । लक्ष्मी प्रतिष्ठानले निःशुल्क छात्राबास चलाएको छ । सात कक्षा पास भएपछि काभ्रे गएर १२ कक्षासम्म पढ्यो । त्यहाँ पनि उसलाई लक्ष्मी प्रतिष्ठानले नै लगेर पढाएको हो ।
जेठो छोरा मिसन अहिले गाउँको छात्राबासको इन्चार्ज भएको छ । उसको जागिरले घरखर्च चलाउन सहज भएको छ । छोरीहरूले पाँच कक्षाभन्दा पढेनन् । टाढा बाहिर राखेर पढाउन हाम्रो क्षमताले भ्याउँदैन । यसपटक माइलो छोराले १२ कक्षाको परीक्षा दिंदै छ । साइलो ११ र काइलो १० कक्षामा पढ्दैछन् ।
खाने कुरा सकिएपछि जंगल गएर गिट्ठा, भ्याकुर र सिस्नोको साग बटुल्नु पर्दथ्यो । अझै पनि खोज्ने गरिन्छ । खाने कुरा अभाव हुँदा १५ वर्षअघि जेठमा हाम्रो गाउँमा ठूलो घटना भयो । हाम्रो छिमेकी बाबुराम चेपाङको परिवारमा नौ महिनाको बालकसहित नौ जना थिए । एक दिन उनीहरूले जंगलबाट च्याउ ल्याएर खाएछन् ।
२०६७ सालको जेठको कुरा हो । त्यो सानो नौ महिनाको काखेबालक बाहेक अरू सबैले च्याउ खाए । च्याउ खाएकाहरू सबै बिरामी भए । हाम्रो स्कुलको हेडसर बालकृष्ण थपलियाले बिरामी भएकाहरूलाई डोकोमा बोकाएर भरतपुर र एक जनालाई काठमाडौंसम्म पुर्याउनुभएको पनि हो । तर च्याउ खाएका आठै जनाको मृत्यु भयो । त्यसपछि खबर प्रकाशित भएपछि लक्ष्मी प्रतिष्ठान गाउँमा आएको हो ।
श्रीमती धनमाया र मेरो धेरै कुरा मिल्छ । खर्च कसरी जुटाउने, सरसापट गर्न परे कहाँ कोसँग गर्ने भन्नेबारेमा बुढाबुढी सल्लाह गर्दछौं । तिर्ने बेलामा कसरी तिर्ने, कुन बोका कहिले बेच्ने, कति मूल्य पाए दिने भनेर पनि हामी सल्लाह गर्दछौं । त्यस्तो ठूलो दुःख–बिमार केही छैन । केही बिसन्चो भए गाउँतिरकै बुटी खान्छौं । अहिले त नगरपालिकाले क्लिनिक पनि खोल्देको छ । त्यहाँ सित्तैँमा औषधि पाइन्छ, पैसा तिरेर किन्नु पर्दैन । कुनै जटिल रोग नलागोस् भनेर म प्रार्थना गरिरहन्छु ।
प्रस्तुति : रमेशकुमार पौडेल
