पछिल्लोपटक एउटा लाहुरेको अर्धकदको मूर्ति बनाइरहेको छु
राेल्पा — धेरैले मलाई राष्ट्रिय प्रतिभा भन्छन् । मेरो कामको सम्मान गरेका हुन् । तर, उनीहरूलाई मेरो भित्री मनको व्यथा के थाहा ? मेरो पेसाबाट घरखर्च चलाउन धौ–धौ छ । केही महिनादेखि एउटा नन्दीको मूर्ति बनाइरहेको छु । खुंग्रीको शिव पाञ्चायण मन्दिरमा राख्ने भनिएको मूर्तिको निर्माण पूरा भएको छैन ।
मन्दिर समितिले पठाएको पैसा मूर्तिका लागि चाहिने ‘म्याटेरियल’ खरिद गर्दै ठिक्क भयो । त्यसपछि रंग लगाउन चाहिने पैसा आएन । अन्त काम गरेको ज्याला पाएपछि त्यो मूर्ति रंगाउने सोचेको छु । पछिल्लोपटक एउटा लाहुरेको अर्धकदको मूर्ति बनाइरहेको छु । छोराको आग्रहमा भारतीय सेनामा कार्यरत उनको मूर्ति बनाउँदैछु ।
नन्दीको मूर्ति बनाउँदा ८० हजार ज्याला लिएँ । लाहुरेका लागि ४५ हजार पारिश्रमिक मागेको छु । काम सकिने बित्तिकै ज्याला नमिल्ने भएकाले खर्च पुग्दैन । अहिले त मूर्ति बनाउने सामग्रीको मूल्य बढेको छ । नाफा कम, दुःख धेरै छ । बजारमा डिजिटल प्रविधि भित्रिएपछि कपडामा रंगले ब्यानर लेखाउन कोही आउँदैनन् । त्यसैले अचेल म चित्रमात्रै बनाउँछु ।
खासगरी मुखाकृति, पुस्तकका आवरण चित्र, लोगो बनाउने काम मुख्य छन् । यिनै काम पाउन पनि मुस्किल भएकाले मनमा आनन्द छैन । एउटा चित्रको मूल्य ५ हजार लिन्छु । ६ महिनामा एउटा चित्र बनाउन अर्डर आउँछ । फेरि काम गर्यो, एकमुष्ठ पैसा पाइन्न । सरदर महिनामा ८ सयजति कमाइ हुन्छ । मुखाकृतिको ५ हजार, लोगोको १ हजार, आवरण चित्रको १ हजार ५ सय शुल्क तोकेको छु ।
घर भएकाले धन्न भाडा तिर्न पर्दैन । तर, दाल–चामल र तरकारीलाई त खर्च चाहियो नि ! बिजुली, पानी, नुन, तेल, दाल, चामलको खर्च जुटाउन मुस्किल छ । पानी, बिजुली र मोबाइल रिचार्जमा महिनामा एक हजार खर्च हुन्छ । ग्यास, नुन, तेल, चामल, तरकारी र दाल खरिद गर्न ७/८ हजारले पुग्दैन । कहिलेकाहीँ माछामासु र फलफूल खान मन लाग्छ । पैसा नभएपछि इच्छा मार्छु ।
मसँगै बस्ने बहिनी अपांग छिन् । जन्मदेखि बोल्न सक्दिनन् । हिँडडुल गर्न मुस्किल हुन्छ । तर खाना पकाउन सक्छिन्, लुगा धुन सक्छिन् । त्यसैमा खुसी छु । केही वर्षदेखि महिनाको दुई हजार सामाजिक सुरक्षा भत्ता पाउँछिन् । दाजुबहिनीलाई त्यही पैसाको भर छ । पैसा नभएका बेला म भोकै बस्न सक्छु । तर बहिनी सक्दिनन् । उनलाई खाना चाहिन्छ ।
कला क्षेत्रमा लागेको भनेर २०५२ सालमा सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार दिएर सम्मान र पुरस्कृत गर्यो । कहिले दाङ, कहिले रोल्पा–काठमाडौं आउजाउ गर्ने क्रममा राष्ट्रिय प्रतिभा पुरस्कारको मूल प्रमाणपत्र कहाँ हरायो, पत्तै भएन । मसँग प्रतिलिपि मात्रै रहेछ ।
अहिले ५४ वर्षको भएँ । रोल्पा सदरमुकाम लिबाङमा जन्मिएको हुँ । बुबा शिक्षक हुनुहुन्थ्यो र आमा गृहिणी । रोल्पा आउनुअघि बुवाले बागलुङ, प्यूठान, दाङ, सल्यान र अछाममा पढाउनुभयो । अछाम पुगेका बेला आमासित उहाँको प्रेम बिहे भएछ । बागलुङमा पनि बिहे गर्नुभएको थियो रे ! जेठी आमाबाट दाइ र दिदी हुनुहुन्छ भन्ने जानकारी छ । अन्तिम पटक २०५० सालमा बुबा रोल्पा आएको थाहा छ । त्यसपछि उहाँ सम्पर्कका हुनुहुन्न । २०६१ सालमा आमाको निधन भयो । आमाको मृत्युपछि मेरी श्रीमतीले पनि छोडपत्र दिइन् । मेरा दुई छोराहरू पनि आमासँगै अलग भए ।
मलाई ‘क्यानभासमा आयल कलर र एक्रेलिक माध्यमबाट सेल्फ प्रोट्रेट र ल्यान्ड स्केप चित्रहरू बनाउन अति रुचि छ । अनि कन्टेम्पोरेरी आकृतिहरू पेपरमा वाटर कलर माध्यमका केही दृश्यचित्र बनाउनु पर्दा राम्रो लाग्छ । कला प्रदर्शनी गर्न मन छ । मूर्ति बनाउनमा ध्यान दिएको छु ।
२०४५ सालमा लिबाङ बजारमा निर्माण गरेको हनुमानको मूर्ति मेरो पहिलो सिर्जना हो । साँझ–बिहान छाक टार्न र औषधि खर्च जुटाउन मुस्किल छ । जसोतसो काम गरेर छाक जुटाएकै छु । लत्ताकपडा र रासनपानी किनेको पसलमा तिर्न बाँकी छ । अहिलेसम्मको मेरो ३/४ लाख ऋण छ । अनि बिरामी परिहालियो भने कसरी उपचार गर्ने भन्ने चिन्ता छ ।
प्रस्तुति : काशीराम डाँगी
