‘पाखोबारीको उब्जनीले एक महिना पनि खान पुग्दैन’

दानापानी जोहो गर्न कर्णाली राजमार्गको किनार र ताडी गाउँको सेरोफेरोमा गिट्टी कुट्छु

वैशाख ३१, २०८२

मोतीकला विक

”Pakhobari's crop is not enough to eat even for a month”

कालीकोट — खाँडाचक्र–४, चिउरेलामा परिवारको बसोबास छ । म ५१ वर्षकी भएँ । तर, नागरिकतामा ६० वर्ष कटिसकेँ । दानापानी जोहो गर्न कर्णाली राजमार्गको किनार र ताडी गाउँको सेरोफेरोमा गिट्टी कुट्छु । अलिकति पाखोबारी भए पनि उब्जनीले ११ जनाको परिवारलाई एक महिना पनि खान पुग्दैन ।

हरेक दिन बिहान ९ बजे ताडी गाउँको उकालो चढेर काममा गएपछि झमक्क साँझ पर्ने बेलामात्रै घर फर्किन्छु । आराम नगरी गिट्टी कुटेर महिनामा ७/८ हजार कमाइ हुन्छ । ज्यालाको पनि ठेगान छैन । कहिलेकाहीँ एक ट्याक्टर भरिने गिटी पुर्‍याएँ भने ५ हजार रुपैयाँ मिल्छ । डोकामा ढुंगा बटुलेर थुपारेपछि बल्ल फुटाउने हो । ढुंगा खोज्दा, कुट्दा कहिलेकाहीँ हनहनी ज्वरो आउँछ । हत्केलामा ठेला उठेका छन् । 

६ वर्षअघि दमको व्यथाले पतिको मृत्यु भएपछि घरको सबै जिम्मेवारी मैमाथि छ । दुई वर्षदेखि सामाजिक सुरक्षा भत्ता मिलिरहेको छ । त्यसले खानु कि लाउनु दोमन हुन्छ । भत्ताको रकम कपडा किन्न ठिक्क छ । 

साबिकको दाहा गाविसको मोटेलामा जन्मिएकी हुँ । ६ वर्ष मात्र पुगेकी थिएँ, बुवा–आमाको मृत्यु भयो । आमा दादुरा र अत्यधिक पेट दुखेर बुवा बिते रे ! त्यसपछि म काकाको घरमा हुर्किएँ । १५ वर्ष पुगेपछि दोब्बर उमेरका ताडी गाउँका मन्दिरे कामी भियालसँग बिहे भयो । जेठी पत्नी पुनकलीबाट छोरा नजन्मिएपछि मलाई बल गरेर दोस्री पत्नीका रूपमा भित्र्याएका थिए ।

अहिले मेरी सौता पुनकली पालिकाकी दलित महिला सदस्य छन् । मैले १६ वर्षकै उमेरमा पहिलो सन्तान जन्माएँ । घरमा अहिले एक सौता, तीन छोरी, एक छोरा–बुहारी र दुई नाति–नातिनी छन् । सबेरै उठेर छोराछोरीलाई खाना पकाएर काम गर्न पुग्छु । 

दुःख गरेर छोरा वीरेन्द्रलाई स्नातकसम्म पढाएँ । स्नातकसम्म पढेको छोरा पनि विद्यालय भवन निर्माणमा मजदुरी गरिरहेको छ । उसले दिनको ८ सय ज्याला पाउँछ । बुहारी महिला स्वास्थ्य स्वयंसेविका छन् । 

गिट्टी कुटेर मिल्ने रकम बचत गरेर मैले दुई बाख्रा खरिद गरेकी छु । परिवार ठूलो भएकाले महिनामा घरखर्च मात्रै २० हजारजति छ । पहिले जस्तो खाना पकाउने दाउरा पाइँदैन । ग्यास किन्नुपर्छ । पानी, बत्ती, रासन, छोरी र नाति–नातिनीलाई कापी कलम, ड्रेसमा ज्यालादारीबाट गरेको कमाइ ठिक्क हुन्छ । 

मेरा पति पनि ज्याला मजदुरी गर्न भारत जान्थे । अहिले गाउँमा सडक पुगेपछि काम पनि यतै मिल्न थालेको छ । ज्याला/मजदुरीको काममा सधैं एकनासको कमाइ हुँदैन । त्यसैले यस्ता कामबाट पैसा जोगाउन सकिन्छ जस्तो लाग्दैन । तैपनि, दःुख गरेरै छोराले पक्की घर बनाउने सपना देखेको छ । बुहारीले कहिलेकाहीँ सुनका गहना लाउन पाए हुन्थ्यो भन्छिन् । हामी गरिबका सबै सपना पूरा हुन कठिन छ ।

प्राण हुन्जेल छोराछोरीले दुःख पाएको हेर्न नसकिने रहेछ । छोराले त गिट्टी कुट्न नजाऊ आमा भन्छ, मेरो मनले मान्दैन । कुनै दिन छोराले जागिर पाउला अनि आराम गरौंला भन्छु । त्यसैले निराश बनेकी छैन । सबै नाति–नातिनी पढ्ने भए भने कसरी पो घरखर्च धान्ने हो भन्ने चिन्ता मनमा उब्जिरहेको छ ।

मन लागेको कुरा किन्न, खान दसपटक सोच्नुपर्छ । कहिलेकाहीँ मान्म बजारतिर घुम्न जाऊँ भन्दा पनि पैसै तगारो भइदिन्छ । महिना मरेपछि पैसा त हात पर्छ, तर एकाध दिनमै सकिएपछि गोजी रित्तै हुने गर्छ । मैले त कहिल्यै सुख पाइनँ । ‘घर सौता, माइत सानिमा’ भनेजस्तै भयो । सानैमा आमाबुवाको अभाव, अहिले श्रीमानको रिक्तता । पेटभरि खान र एकसरो लाउन पाए हुन्थ्यो जस्तो भइरहन्छ ।

गिट्टी कुट्न आउँदा घरैबाट रोटी र नुन–खुर्सानी अनि पानी बोकेर गाउँका दिदीबहिनीसँगै आउँछौं । संगी टन्नै भएकाले सुख–दुःखका कुरा गर्ने साथीको अभाव छैन । सडक किनारमा गिट्टी कुट्ने भएकाले कहिलेकाहीँ यही बाटो भएर रारा घुम्न आउने मनकारी मान्छेले पनि सय पचास रुपैयाँ नास्ता खानु भनेर दिएर जान्छन् । 

प्रस्तुति : तुलाराम पाण्डे

मोतीकला

Link copied successfully