परिवारका लागि घरखर्च जुटाउन ४५ वर्षदेखि यही काम गरिरहेको छु
दोलखा — बिहान उठ्ने बित्तिकै आरनमा आगो बाल्छु । आरनका लागि सडक छेउमा बनाएको टहरा जस्ताले छाएर बस्ने बास बनाएको छु । अहिले ५८ वर्षको भएँ । समय कटाउन र परिवारका लागि घरखर्च जुटाउन ४५ वर्षदेखि यही काम गरिरहेको छु । लेखपढ गरिएन । अरु उपाय केही भएन । परम्परागत सीपलाई अँगालेको हुँ । यसैबाट मुखमा माड लाउने मेसो मिलेको छ ।
त्यस्तै १९ वर्षको उमेरमा २०४३ सालतिर कामको खोजीमा काठमाडौं पसेको थिएँ । आरनको सीप त्यहाँ पनि काम लाग्यो । २०५२ सालसम्म काठमाडौंमा चाँदीका औंठी बनाउने काम गरेँ । प्रतिगोटा औंठीको ५ रुपैयाँ ज्याला दिन्थे । महिनामा २ हजारदेखि २५ सय आम्दानी हुन्थ्यो । त्यति भएपछि परिवार लिएर काठमाडौं बस्न थालेँ । ९ वर्ष औंठी बनाएर गुजारा चलाएँ । त्यतिबेला विदेशी पर्यटकले चाँदीका औंठी किन्थे । घर–व्यवहार राम्रैसित चलिरहेको थियो ।
२०५२ सालमा तत्कालीन माओवादी विद्रोह सुरु भयो । त्यसको मार पर्यटन क्षेत्रमा पर्यो । पर्यटक आउन छाडेपछि मेरो रोजगारी पनि गुम्यो । त्यसपछि रोजगारी खोज्दै जाने क्रममा पाइप कारखानामा काम मिल्यो । कारखानामा जति घोटिए पनि ५ जनाको परिवार पाल्न सकस भयो । सरसहयोग गर्ने कोही नभएपछि परिवार लिएर गाउँ फर्कें । गाउँ आएपछि आरन चलाएर जीविकोपार्जन गर्न थालो । भीमेश्वर नगरपालिका–४ जिलुमा आरन चलाएर कुटो, कोदालो, खुकुरी हँसियाँ बनाउँदा अन्न दिन्थे । त्यसैले साँझ–बिहान खान पुग्थ्यो । गाउँमै बस्दा धेरै पैसा चाहिन्थेन ।
२०५८ सालमा अलिअलि गरेर जोगाएको पैसाले भीमेश्वर–५ मा ३ रोपनी जग्गा किनेर बसाइँ सरेँ । यहाँ पनि बालीघरे चलन थियो । अन्न र ज्यालामा काम गरेँ । आरनको कामले मात्रै धान्न छाड्यो । २०६१ सालमा धन कमाउन भनेर विदेश गएँ । भनेजस्तो काम नपाएपछि एकै वर्षमा स्वदेश फर्कें । गाउँ आएपछि बच्चैदेखिको यही सीप काम लाग्यो । श्रीमतीसहित २ छोरा र एक छोरी घरमै राखेर २०६२ सालमा चरिकोटको बसपार्कमा आएर एउटा पसलमा गाग्री बनाउने काम थालेँ । दिनभरि चरिकोटमा गाग्री बनाउने र साँझ परेपछि हिँडेरै घर फर्किन्थेँ ।
बस चढ्न भाडा हुन्थेन । कहिलेकाहीँ बस आउँदैनथ्यो । त्यतिखेर नयाँ गाग्री बनाएको ५ सय ज्याला पाइन्थ्यो । पुरानो डामा गरेको डेढ सयसम्म ज्याला दिन्थे । खुबै मिहिनेत गरे पनि दिनमा ५ वटासम्म गाग्री बनाउन सक्थेँ । गाग्री बनाउन थालेपछि भने केही पैसा बचत हुन थाल्यो । बचत भएको रकम मासिक रूपमा सहकारीमा जम्मा गर्थें । महँगी बढ्दै गएको थियो ।
बालबच्चाको पढाइ र परिवार धान्न निकै सकस थियो । साहुका गाग्री पनि बिक्न छाड्यो । आफैंले बरु आरन खोल्छु भनेर सहकारीबाट ऋण काढेँ । २०६५ सालमा ५ हजारजति बचत गरेकामा जनकल्याण बचत तथा ऋण सहकारीका संचालकले व्यवसाय गर्नु भनेर २० हजार ऋण दिए ।
सहकारीबाट ऋण लिएर फलाम किनेँ । आफ्नै कारखाना खोलेँ । आरनमा बनेका औजार बजारमा लगेर बेच्ने गर्न थालेँ । माग बढ्दै गयो । लिएको ऋण चुक्ता गरेर व्यवसाय बढाउन एक लाख त्यही सहकारीबाट ऋण लिएँ । ऋण लिँदै चुक्ता गर्दै व्यवसाय बढाएँ । दुई छोरालाई पनि पुर्ख्यौली पेसा सिकाएँ । अहिले सहकारीबाट लिएको ५ लाख ऋण तिर्दै घर चलाउँदै आएको छु । आरनमा म र मेरी श्रीमती रेनु खटिन्छौं । महँगीले कमाएको रकम घरखर्च र ऋण तिर्दैमा सकिन्छ । रेनुले फलाम पिट्ने र म त्यसलाई आकार दिने काम गर्छु । अहिले बजारमा राम्रो माग छ ।
कारखानामा पनि यो सडक भएर हिँड्नेहरूले आवश्यकता अनुसार किन्ने गरेका छन् । रेनुले चरिकोटमा लगेर दिनभर हँसियाँ र खुकुरी बेच्ने गर्छिन् । कारखानाकै कमाइले घर चलाएको छु । कारखानामा पहिला फलामका गाडा पनि बनाउँथेँ । दोलखा, रामेछाप, ओखलढुंगाबाट समेत माग हुन्थ्यो । राम्रो आम्दानी भइरहेको थियो । बजारमा मैले बनाएको गाडा ३ हजारमा व्यवसायीलाई दिन्थेँ । व्यापारीले ४ हजारमा बेच्थे । पछि भारतबाट पातलो फलामका गाडा २५ सयमा व्यापारीले किनेर ४ हजारमा बेचेर नाफा लिन थाले । मेरो गाडा बिक्न कम भयो । अहिले अलिअलि राम्रो गाडा चाहियो भने आउँछन् । कारखानाबाट फलामका औजार महिनामा ४० हजारजतिको बेच्छु ।
मासिक १७ हजार ऋणको किस्ता पर्छ । बाँकी पैसाले ५ जनाको परिवार पाल्न र फलाम किन्न ठिक्क हुन्छ । महिनामा ४ बोरा चामल लाग्छ । महँगीले चामल किनेर खान पनि गाह्रो परिसक्यो । दाल, तेलमा पनि खर्च छ । आरनमा काम गर्दा बल चाहिन्छ, फलाम चुट्न माछामासु खानै पर्यो । चाडवाड आउँछ, मनाउनै पर्यो । आरनको आम्दानीले ऋण तिर्न र खानलाउन पुगेको छ । छोराहरूलाई छुट्टै कारखाना खोलिदिएको छु । दुवै छोराले गाडा बनाएर बेच्छन् । अब भने आम्दानी बढ्छ होला ।
पुर्ख्यौली पेसा भए पनि बजारमा माग बढ्दो छ । बनाउन भ्याइँदैन । मान्छे पाएको भए सहकारीले ऋण लिन आउनु भनेको थियो । काम गर्ने मान्छे पाएको भए व्यवसाय बढाउँथेँ । अहिलेको पुस्ता यो काम गर्न लजाउँछ । तलब दिन्छु, खान पनि दिन्छु भन्दा पनि काम गर्ने मान्छे पाइँदैन । त्यसैले आम्दानी बढाउन सकिएन । यही कारखानाबाट कमाएको पैसाले घर बनाउने सपना छ । पैसा कमाएँ भने श्रीमती रेनुलाई लिएर देश घुमाउने रहर छ ।
प्रस्तुति : केदार शिवाकोटी
