विकल्प नभएपछि बुवाले गुडाउने ठेला लिएर सन्धिखर्क बजारमा चटपटे बिक्री गर्न थालेँ
अर्घाखाँची — पाँच कक्षामा पढ्दै थिएँ, त्यही बेला बुवाको मृत्यु भयो । सन्धिखर्क बजारमा चटपटे बेचेर भए पनि बुवाले मलाई र भाइबहिनीलाई पढाउनुभएको थियो । त्यही व्यापारले घरखर्च जुटेको थियो । बुवा गुमाएपछि पढाइ र घरखर्च ठप्प भयो । जेठो छोरो भएकाले जिम्मेवारी मेरै काँधमाथि आयो । के गर्ने, कसो गर्ने भएपछि पढाइ छाड्ने निधो गरेँ । त्यतिन्जेल बुवाले गरेको पेसाबारे जानकार थिएँ ।
विकल्प नभएपछि मैले पनि बुवाले गुडाउने ठेला लिएर सन्धिखर्क बजारमा चटपटे बिक्री गर्न सुरु गरेँ । बुवा बितेको जानकारी धेरैलाई थियो । त्यसैले भर्खरको कलिलो केटो देखेर धेरैले ठेलामा आएर चटपेटे, पानीपुरी किनिदिएर सघाए । त्यसपछि खर्च जुट्ने आशा जाग्यो । बजारका चोकमा ठेला गुडाउँदै चटपटे र पानीपुरी बेच्न थालेको १० वर्ष भयो । अहिले म २२ वर्षको भएँ ।
बुवा गुमाउनु परेकाले पढ्ने इच्छा हुँदा हुँदै पनि बीचमै पढाइ छाड्नुपर्ने बाध्यता आइलाग्यो । त्यसपछि मैले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउनुपर्छ भन्ने मनमा लाग्यो । उनीहरूलाई पढाएँ । अहिले दिदी पवित्रा पाणिनि बहुमुखी क्याम्पसमा स्नातक पढ्दै हुनुहुन्छ । भाइ अर्जुन १२ कक्षा पढिरहेको छ । यही व्यापार गरेर सदरमुकाम नजिकै हटारीमा घडेरी किनेर दुई तले घर बनाएको छु । आमासहित हामी त्यहीँ बस्छौं । आमाले खाना पकाउनेदेखि घरायसी काम गर्नुहुन्छ । भाइबहिनीलाई पिर–चिन्ता नमानी राम्रोसँग पढ्न सुझाव दिइरहन्छु । भाइबहिनीले पढेर केही गरुन् र उच्च तहमा पुगेको देख्न चाहन्छु ।
सदरमुकामको मुख्य चोक शान्ति बगैंचा मान्छेको आउजाउ, भेटघाट र गफ गर्ने स्थल हो । यही चोकको छेउमा ठेला अड्याएर पानीपुरी, चटपटे र चाट राखेर बिक्री गर्छु । नेतादेखि व्यापारी, महिला र बालबालिका झुम्मिन्छन् । सदरमुकामका कामकाजी पनि चटपटे, पानीपुरी र चाट खान आउँछन् । बसपार्कबाट छुटेका बस १० मिनेट यहाँ रोकिन्छन् । बसबाट ओर्लेर यात्रु ठेलासम्म आउँछन् । दैनिक एक सय जनाभन्दा बढी ग्राहक मेरो ठेलामा आउँछन् । बजार र गाउँकाले धेरै रुचाउँछन् ।
बजार र गाउँमा हुने विवाह, पूजापाठमा खानाका परिकारमा पानीपुरी र चटपटे राख्छन् । म त्यहाँ पुग्छु । मिठो मान्दै खान्छन् । यही व्यापारबाट दिनमा १५ सयदेखि ३ हजार रुपैयाँसम्म बचत गरिरहेको छु । विवाह र पूजापाठमा जाँदा पारिश्रमिक लिने गरेको छु । सबै सामान सम्बन्धित व्यक्तिको हुन्छ, मैले पानीपुरी र चटपटे बनाएबापत दिनको ८ देखि १० हजार रुपैयाँ लिन्छु । मलाई यही पेसा नै राम्रो लागेको छ । यही काम नै गर्छु, म विदेश जान्नँ । आफ्नै देशमा बसेर काम र व्यवसाय गर्ने हो । मैले अब केही समयभित्र व्यवसाय गरेर केही युवालाई रोजगारी दिने लक्ष्य लिएको छु ।
प्रस्तुति : वीरेन्द्र केसी
