२०५८ सालमा १२ वर्षको उमेरमै सदरमुकाममा खाजा पसल खोलेँ । पसलको नाम दाजुभाइ राखेँ । अहिले पसल ब्रान्ड बनिसक्यो
जुम्ला — चन्दननाथ नगरपालिका–६, छिना गाउँको बासिन्दा हुँ । विपन्न परिवारमा जन्मिएँ । बालापन कसरी बित्यो, लेखाजोखा नै भएन । अहिले ३६ वर्षको भएँ । गरिबले पनि सपना त देख्छन् नि ! मेरो पनि ठूलो व्यापारी बनेर मनग्गे पैसा कमाउने सानैदेखिको रहर थियो । तर, सधैं घरखर्चकै अभाव हुने भएकाले पैसा कमाएर परिवारलाई हाँसीखुसीसाथ राख्नु मेरा लागि चुनौती थियो ।
उमेर बढ्दै गएपछि केही न केही गर्नैपर्ने दबाबमा थिएँ । तर, कुन व्यापार कसरी गर्ने भन्ने ज्ञान थिएन । मनमा धेरै कुरा खेल्न थाले । कहिले पितापुर्खाले जस्तै कालापहाड गएर रुपैयाँ कमाउने सोच आउन थाल्यो । कहिले खाडी मुलुक गएर परिवारका लागि खुसी कमाउँ कि भनेर सोच्न थालेँ । तर, कालापहाड र खाडी मुलुक गएकाहरूको अवस्थामा कुनै भिन्नता आएको थिएन । त्यसैले गाउँमै समोसा–तरकारी बनाउने खाजा पसल सञ्चालन गर्ने निधो गरेँ ।
२०५८ सालमा १२ वर्षको उमेरमै सदरमुकाम खलंगाको बीचमा खाजा पसल खोलेँ । पसलको नाम दाजुभाइ राखेँ । अहिले मेरो पसल ब्रान्ड बनिसक्यो । सुरुमा समोसा बेचेर कमाइ गर्छु भन्दा छिमेकीले पत्याएनन् । सानै उमेरमा समोसा बनाएर अघि बढ्ने योजना पनि कम्ता चुनौतीपूर्ण त थिएन । अहिले समोसा खान ग्राहक आइरहन्छन् । ‘समोसा’ मा तीन अक्षर छन् । अहले त्यही तीन अक्षरको समोसा बेचेर सुरु गरेको व्यवसायले तीन अक्षरको ‘जीवन’ चलाइरहेको छु । यो भन्दा उपलब्धि मेरा लागि अरू के नै हुन सक्ला र !
अहिले यही व्यवसायले नाम र दाम दुवैको पहिचान दिएको छ । बिहान ८ बजे घरबाट आउँछु । पसलदेखि घर पुग्न १५ मिनेट लाग्छ । बेलुकी अबेरसम्म ग्राहकले छोड्दैनन् । दिनभरि भ्याइ–नभ्याइ हुन्छ । अन्यत्रभन्दा ठूलो, स्वादिलो र सरसफाइ हुने भएकाले मकहाँ समोसाको माग धेरै छ । कतिपय स्कुलमा दिवा खाजाका रूपमा समोसा पठाउँछु । समोसा व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्नसमेत सकिनँ ।
अहिले छोराछोरीको पढाइ र घरखर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत गरिरहेको छु । यो रकम सरकारी खरिदारभन्दा माथिल्लो स्तरको कमाइ हो । वार्षिक रूपमा ४ लाख ८० हजार रुपैयाँ बचत हुन्छ । दैनिक समोसा खानेहरूको भीड नै लागिरहन्छ । ग्राहकले जुम्ली समोसा दाइको नामले चिन्न थाले ।
वार्षिक ३६ हजार भाडा तिरेर जिल्ला खेलकुद समितिको टहरा लिजमा लिएको छु । ३० रुपैयाँमा दुइ समोसा बेच्छु । अहिले श्रीमती तिर्सनाले सघाइरहेकी छिन् । समोसा बेचेर आम्दानी हुने भएकाले परिवार निकै खुसी छ । छिमेकीहरूले मिहिनेती भनेर तारिफ गर्छन् । बेरोजगार बसेको भएर जताततै कुरा काटिरहन्थे होला । तर अहिले व्यवसाय राम्रोसँग चलेकाले सबैले साथ दिइरहेका छन् ।
विद्यार्थी, कर्मचारी, शिक्षक, युवकयुवतीहरू समोसा खान आइरहन्छन् । कुनै पनि व्यवसायमा इमान्दारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ भन्ने प्रमाणित भइरहेको आभास परिवारमा हुन थालेको छ । पसलमा जेरी २ वटाको ३० रुपैयाँ, पुरी तरकारी ६० रुपैयाँ प्लेट, चाउमिन ६० रुपैयाँ र चिया २० रुपैयाँ कपमा बेच्छु । अन्त चिया प्रतिकप २५ रुपैयाँ छ । मेरोमा प्रतिकप २० रुपैयाँमा उपलब्ध हुन्छ ।
मेरा दुई छोरी र एक छोरा छन् । जेठी छोरी मेनका काठमाडौंमा एचए पढ्दै छिन् भने कान्छी छोरी कविता जुम्लामै निजी विद्यालयमा पढछिन् । छोरा समिर साइन्स विषय लिएर काठमाडौंमै पढ्छन् । यसबाहेक नेपालगन्जमा ३० लाख रुपैयाँ, सुर्खेतमा १२ लाख रुपैयाँ र जुम्लामा ६ लाख रुपैयाँको घडेरी जोडेका छौं । चार लाख रुपैयाँको लगानीमा स्याउ बगैंचा छ । दुई लाख रुपैयाँ खर्चेर धान रोप्ने खेतसमेत किनेको छु । यो सबै यही समोसा पसलको देन हो ।
प्रस्तुति : डीबी बुढा
