‘मिथिला आर्टमै जीवन रंगिएको छ’

समाजमा अझै पनि महिलाले के नै गर्न सक्छन् भन्ने धारणा व्याप्त छ

जेष्ठ ७, २०८२

अमृता दत्त

”Life is painted in Mithila Art”

काठमाडौँ — मिथिला आर्ट (चित्र) कोर्न थालेको २८ वर्ष भयो । अहिले म ५४ वर्षकी भएँ । मिथिला कला र आर्टमै मेरो जीवन समर्पित छ । यसले मलाई खुसी मात्रै होइन र जीवन पनि रंगीन तुल्याइदिएको छ ।

मेरो पुर्ख्यौली घर जनकपुर–१२, कुवामा पर्छ । एक छोरी र दुई छोरा छन् तर घरमा अहिले हामी श्रीमान्–श्रीमती मात्र छौं । छोरीको विवाह भइसक्यो । श्रीमानले खेती किसानी गर्नुहुन्छ । मिथिला चित्र कोरेर मैले घरखर्च धानिरहेकी छु ।

बिहान खाना खाएर अफिस जान्छु । दिनभरि काम गरेर फर्किन्छु । अहिले त चित्र बनाउनका लागि अन्य जिल्लाबाट समेत मानिसहरू मकहाँ आउने–जाने गर्छन् । 

जेठो छोराले गाउँमै निजी विद्यालय खोलेर प्रधानाध्यापक भएको छ । कान्छो छोरा बीबीए पढिरहेको छ । विद्यालयबाट महिनामा दुई लाख आम्दानी भए पनि भवनको भाडा र कर्मचारीलाई तलब दिनमै ठिक्क हुन्छ । कान्छो छोराले पनि सानोतिनो काम गरेर कमाइरहेको छ । जति दुःख गरेर पनि छोराछोरी पढाउने कसम खाएकी थिएँ । चित्र बेचेर कहिलेकाहीँ दुई हजारसम्म कमाइन्थ्यो । कहिले पाँच हजार मिल्थ्यो । सुरुवातमा पाँच सय कमाएको सम्झना छ । 

मेरो हजुरआमा र आमा पनि मिथिला कलाका पारखी भएकाले मलाई यस क्षेत्रमा लाग्न ऊर्जा मिल्यो । सुरुसुरुमा चित्र बनाउँदैमा के कमाइन्छ र भनेर प्रश्न गर्थे । तर पनि पछि हट्न सकिनँ । चित्रमात्रै बनाएर कमाउनचाहिँ मुस्किलै छ । कोरोना महामारीका बेलादेखि कमाइ घट्यो । हामीजस्ता महिलालाई सरकारले हेरिदिए राम्रो हुन्थ्यो । धेरै पटक आवाज उठाए पनि सरकार हाम्रा कुरै सुन्दैन । स्थानीय तहले पनि खासै कुनै प्रोत्साहन र हौसला थप्ने काम गरेको मलाई सम्झना छैन ।

समाजमा अझै पनि महिलाले के नै गर्न सक्छन् भन्ने धारणा व्याप्त छ । कैयौँपटक यस्तो सुन्नुपर्दा कान पनि टट्याउँछन् । तर, हिम्मत हारेकी छैन । मैले त पढ्न सकिनँ तर छोराछरीले नाम राखून् भन्ने चाहना छ । मैले बनाएका तस्बिर धेरै जिल्लामा पुगेका छन् । पुर्खाबाट सिकेकाले होला– मैले बनाएका कला अरूभन्दा फरक रहेको प्रतिक्रिया पाउँछु । धनीहरू जहाजमा उडेको र पानी परेका बेला किसानले खेतमा धान रोपेको जस्ता संकेतका आधारमा चित्र कोर्ने गर्छु । 

यसै कारण मिथिला चित्रकलामा रुचि बढ्दै गयो । परम्परागत शैली र त्यसको प्रस्तुति सिक्न थालेँ । स्थानीय महिलाबाट यस कलाको गहिरो ज्ञान हासिल गरेँ । प्रत्येक चित्रमा कोरिने कथा, प्रयोग गरिने रङहरूको अर्थ र यसको सांस्कृतिक महत्त्व बुझ्न थालेँ । जति जति यस कलामा डुब्दै गएँ, उति उति यसमा आˆनो भविष्य देख्न थालेँ ।

कहिलेकाहीँ पढ्न सकेको भए कहाँसम्म पुग्ने थिएँ होला भन्ने महसुस हुन्छ । हजुरआमा, आमाले ‘जति काममा ध्यान दिन्छौं, त्यति नै जीवन सहज हुन्छ,’ भन्नुहुन्थ्यो । मिथिलाको जीवन, संस्कृति र प्रकृति कस्तो हुन्छ भन्दै गाउँका मान्छे चित्र हेर्न आउँथे । 

कुचीबाट निस्केका रेखा र रङसँग खेल्न औधि मन पर्छ । स्थानीय व्यापारीले आफूले कोरेका चित्र खरिद गर्दा र ‘अब यी चित्र सहरसम्म पठाउनुपर्छ’ भन्दा ज्यादै गर्व र खुसी मिल्छ । यसले मिथिला चित्रकलामै होमिन थप हौसला पनि मिल्छ । 

आर्थिक अभाव र सामाजिक आलोचनाले मलाई कहिल्यै थकाएन । बरू प्रत्येक चुनौतीले झन् बलियो बनाइरहेको छ । आˆनो विश्वास र परिश्रमलाई बलियो बनाइयो भने कुनै पनि बाधा अड्चन आउँदैन भन्ने मैले राम्रोसँग बुझेकी छु । सपना देख्नु सजिलो छ, तर ती पूरा गर्न निकै मिहिनेत र धैर्य चाहिन्छ । आˆना सपना र कलालाई समाजका लागि उपयोग गर्न सकुँ भन्ने लाग्छ । मैले भोगेका दुःख परिवारमा थाहा नहोस् भन्ने चाहन्थेँ । प्रेम र भित्री दृढताले मलाई हरेस खान दिएन । दुःखलाई आˆनो प्रेरणाको स्रोत मान्छु । मेरा चित्रमा दुःखका भावना पनि झल्कन्छन् । जसले चित्र कोर्दा भावनात्मक बन्न सघाउ पुर्‍याउँछन् । 

म खुसी छु । मेरो छोराले दुःख बुझेरै आज प्रधानाध्यापकसम्म भयो । सन्तान खुसी हुनु नै मेरा लागी थप प्रेरणा हो । म समाजलाई यही सन्देश दिन्छु कि दुःख पर्यो भनेर नआत्तिनूस् । मनमा लोभ लिएर जिउनु पनि के फाइदा होला र ? जसोतसो गरेर भए पनि खर्च चलाएकै छु । भविष्यको दृष्टि केवल व्यक्तिगत सफलतामा सीमित छैन । नेपाली समाजमा कलाको महत्त्व बढोस् भन्ने चाहन्छु ।

प्रस्तृति : अभिषेक अधिकारी

अमृता

Link copied successfully