‘दिनको ५ सय कमाउँदा खुसी हुनुपर्ने अवस्था छ’

ससुरा बुवाले छाडेपछि जुत्ता पसलको काम सम्हाल्न पाल्पाको तानसेनाबाट तम्घास आएँ

वैशाख १०, २०८२

निर्मल नेपाली

”If you earn 500 a day, you should be happy”

गुल्मी — पाल्पा सदरमुकाम तानसेनमा जन्मिएर त्यहीँको सुन्दर सेरोफेरोमा हुर्किएँ । जनता माविमा कक्षा ८ सम्म अध्ययन गरेँ । त्यसबेला पढाइप्रति खासै लगाव हुने समय थिएन । त्यसैले राम–रमाइलोमै बाल्यकाल बित्यो ।लहलहैमा पढाइ पनि छुट्यो ।

छिमेकी जिल्ला गुल्मीकी शारदा नेपालीसित बिहे भयो । श्रीमतीका बुवाको गुल्मी सदरमुकाम तम्घासमा जुत्ता पसल थियो । ससुरा बुवाले छाडेपछि जुत्ता पसलको काम सम्हाल्न म तम्घास आएँ ।

यहाँ आउनुभन्दा अगाडि नेपाली सेनामा भर्ती भएको थिएँ । सेनामा एक महिना मात्रै टिकेँ । जागिरभन्दा व्यापार ठिक लाग्यो । जागिर छाडेर यतै आएँ । अहिले ५७ वर्षको भएँ । २०४९ सालमा तम्घासको भीमचोकमा जुत्ताको काम सुरु गर्दा पसलको भाडा महिनाको साढे ४ सय तिर्थें । त्यतिबेला जुत्तामा पालिस लगाउने, नयाँ सोल हाल्ने र जुत्ता सिलाउने काम गर्थें । त्यही कामलाई निरन्तरता दिएँ । ४ वर्षपछि पसलको भाडा ८ सय पुग्यो । क्रमशः बढ्दै गएपछि भाडा ४ हजार ५ सय तिरेको सम्झना छ । 

म यहाँ आउने बेलै तानसेन–तम्घास बस त चल्थ्यो । तर भनेकै समयमा बस चढ्न पाइन्थेन । त्यसैले बिहान ५ बजे हिँडेर साँझ ७ बजे घर पुगिन्थ्यो । पहिले तम्घासमा चहलपहल निकै थियो । शारदा र मैले सँगै पसलमा काम गर्थ्यौं । व्यापार पनि राम्रै हुन्थ्यो । आम्दानी ठिकठिकै भए पनि बचत गर्ने बानीले गर्दा छोरालाई विदेश पठाउने खर्च पुग्यो ।

अहिले छोरी स्टाफ नर्स अध्ययन गरिरहेकी छन् । क्यापसमा चहलपहल हुने बेला एउटा सिजनमा ५० जोरभन्दा बढी जुत्ता बिक्री हुँदा ३०/३५ हजार आम्दानी हुन्थ्यो । अहिले आम्दानी घटेको छ । औसतमा दैनिक ५ सय रुपैयाँजति कमाउँदा पनि खुसी हुनुपर्छ । 

३० वर्षअघि पसल सुरु गर्दाताका दैनिक १ हजारभन्दा बढी नाफा नै बच्थ्यो । त्यतिबेला १ हजारको धेरै महत्त्व थियो । अहिले हजार/पाँच सयले केही आउँदैन । अहिलेको जस्तो स्थिति भएको भए उतिबेला छोराछोरी पढाउन सक्ने अवस्था थिएन । अहिले साँझ–बिहान घरखर्चका लागि पुगेको छ । सामान्य दाल, भात र तरकारी खान जुत्ता पसलले धानेको छ ।

अहिले त नयाँ जुत्ता बनाउन पनि छाडिसकेँ । बिक्री हुँदैन । अहिले त पुराना जुत्ता मर्मत गरेर दिन कटाउँछु । अहिले भीमचोकबाट अर्को सटरमा सरेको छु । मासिक भाडा ५ हजार तिर्छु । पसलको खर्च कटाएर बच्ने भनेको दिनको त्यही ५ सय हो । त्यसैले घरखर्च चलाउने हो ।

तम्घासको चहलपहल देखेर व्यवसाय गर्दा राम्रै हुन्छ भनेर सुरु गरेको थिएँ । अहिले सुनसान छ । दिन कटाउन मात्रै भएको छ । अर्को कुनै उपाय छैन । यदि कमाइ हुने बेला बचत नगरेको भए आज चल्न सक्ने अवस्था हुने रहेन्छ । धन्न समयमै कमाएको धन बचत गरेर अहिलेलाई पुगेको छ ।

बचत भनेर त्यति ठूलो रकम पनि होइन । तर छोराछोरी पढाउन पुग्यो । त्यसैमा सन्तुष्ट छु । सुरुको कमाइ सबै सकेको भए पछि छोराछोरी पढाउन पनि सकिने रैन्छ । मैले भन्न खोजेको यो हो । बचत भनेर अहिले टन्न पैसा भएको त हैन नि ! 

जुत्ताको सीप त छ तर व्यापार छैन । तालिम दिन पनि हिँडेको अनुभव छ । तर अहिले सिक्ने कोही पनि छैनन् । सिक्न पनि खोज्दैनन् । अहिलेको पुस्ताले यस्तो व्यवसाय गर्न नै चाहँदैन । विदेश जाने बाहेकको अर्को सोच छैन । बिस्तारै यो पेसा हराउँदै जान्छ । 

प्रस्तुति : सन्तोष महतारा 

निर्मल

Link copied successfully