‘बाँसका सामान नबिक्दा छाक टार्नै कठिन’

‘शरीरलाई आराम चाहिने बेला हामी बुढाबुढी एकअर्काको सहारा बनेका छौं’

चैत्र २२, २०८१

रामकिसुन मरिक

”It's hard to get rid of bamboo products if they don't sell”

सप्तरी — हनुमाननगर कंकालिनी–१४, रम्पुरा मल्हनियाँस्थित कोशी नदीको पश्चिमी तटबन्धमा मेरो बास छ । अहिले ५४ वर्षको भएँ । सप्तरीको यही गाउँबाहेकको संसार देखेको छैन । अहिलेसम्म अनेक दुःख काटियो । शरीरलाई अलिकति आराम चाहिने बेला हामी बुढाबुढी एकअर्काको सहारा बनेका छौं । गरिबीले कहिल्यै सुस्ताउन दिएन ।

बिहान सूर्य नउदाउँदै छाक टार्ने चिन्ताले सताउन थाल्छ । त्यसैले झिसमिसेमै बाँसको खोजीमा गाउँघर डुल्न थाल्छु । जताततै पाइने भएकाले दुःख छैन । तर, सस्तोभन्दा सस्तो बाँस खोजेर किन्छु । डेढदेखि दुई सयसम्ममा काम चलाउ बाँस मिल्छ । घरमा फर्किएर खाना खाएपछि बाँसको चोया निकाल्छु । एक दिन त चोया तयार पार्दापार्दै बित्छ । कहिलेकाहीँ त दुई दिन लाग्छ । 

चोया तयार भएपछि छिटी, ढाकी र पङ्खा बनाउने चटारो सुरु भइहाल्छ । एउटा बाँसबाट तीन/चारवटा छिटी, ढाकी र दुई वटासम्म पङ्खा बुन्ने गरेको छु । बिहान बुन्न सुरु गरेपछि दिउँसो २/३ बजेसम्म दुई वटाजति छिटी तयार गर्छु । मैले बुनेर सकेपछि त्यही बोकेर श्रीमती बिक्री गर्न गाउँघरमा डुल्छिन् । 

अचेल छिटी, ढाकीको पहिले जस्तो बिक्री पनि छैन । धेरै ठाउँ चहारेपछि बल्लतल्ल एउटा छिटी बिक्री भएपछि दुई सय रुपैयाँसम्म मिल्छ । दिनमा दुइटा बेचे भने चार सय हुन्छ । त्यही कमाइले दिनमा ७० रुपैयाँको एक किलो चामल, १५ रुपैयाँको आधा किलो आलु, ३५ रुपैयाँको खाने तेल, ३० रुपैयाँको मसला किन्ने गरेका छौं ।

अहिले १५ रुपैयाँको आधा किलो प्याज आउँछ । मसला पनि चाहिन्छ । त्यही २० रुपैयाँ बेसार र ३० रुपैयाँको हरियो तरकारी किन्दा नै दुई सय १५ रुपैयाँ खर्च भइहाल्छ । प्रत्येक दिन बाँस खरिद गर्नका लागि दुई सय रुपैयाँ बचत गर्नैपर्छ । एकपटक किनेको खाद्यान्नले तीन/चार छाक टर्छ । 

अचेल बाँसका सामग्री बिक्री नहुँदा हामीलाई छाक टार्नै कठिन हुने गरेको छ । कहिलेकाहीँ दाल–चामल किन्ने पैसा नभएर भोकभोकै सुत्ने गरेका छौं । यस्ता अभावका दिन गनेर साध्य पनि छैन । ऐलानी जग्गामा बनाएको टहराबाहेक हाम्रो सम्पत्ति केही छैन ।

छोरीहरूको बिहे भइसकेको छ । अहिले २५ र २३ वर्षका सञ्जय र दिपेन गरी दुई छोरा छन् । छोराहरूले पनि रोजगारी पाएका छैनन् । कामविहीन भएकाले बुहारी र नाति–नातिनीको रेखदेख गर्न उनीहरूलाई मुस्किल भइरहेको थियो । यहाँ अभाव भएपछि उनीहरू मोरङको कानेपोखरीमा ससुरालीमै बसिरहेका छन् । 

हुन त हाम्रो टहरोमा छोरा–बुहारीलाई सुत्न पनि समस्या छ । ससुरालीमै बसेर दुवैले होटलमा भाँडा माझ्ने र सफाइको काम गरिरहेका छन् । उनीहरूको ससुरालीमा छुवाछूत गर्दैनन् । बुढेसकालमा नाति–नतिनासँग रमाउने रहर कसको हुँदैन र ? तर पापी पेटले पूरा हुन दिएको छैन । छोरीहरू कहिलेकाहीँ माइती आउँदा काममा सघाउँछन् । सधैं माइत आएर सघाउन त सम्भव हुँदैन । 

भोट मागेर फर्किएका जनप्रतिनिधि पनि कहिल्यै सोधखोज गर्न आएनन् । हुन त दलित समुदायका व्यक्तिको सोधखोज गर्ने फुर्सद पो उहाँहरूलाई कहाँ छ र ? सरकारबाट पाउने सेवासुविधा पनि पाउन सकेको छैन ।

जनता आवास कार्यक्रमअन्तर्गत डोम परिवारलाई सरकारले पक्की घर दिन्छ भन्ने सुनेको थिएँ । त्यो घर माग्नका लागि पटक–पटक धाउँदा पनि आफ्नो जग्गा नहुँदा दिन मानेका छैनन् । जग्गा किन्न भन्छन् तर हामीलाई खानै पुगेको छैन अनि जग्गा कहाँबाट किन्न सक्नू ? यो जूनीमा पक्की घरमा बस्ने सपना पनि सपनै रहने भो । 

यसअघि हाम्रा पुर्खा रम्पुरा मल्हनियाँ टोलमा बस्थे । तर त्यहाँ बर्सेनि बाढी पस्न थालेपछि यहाँ सरेको हो । हामी यहाँ बसेको पनि तीन पुस्ता भयो । तटबन्धको पश्चिमतर्फ हामी छौं भने पूर्वतर्फ बद्री, रामवृक्ष, श्याम, रामा र शिवनारायण मरिकको घर छ । उनीहरूले पनि जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर पाउन सकेका छैनन् । हामीजस्तै टहरामा अभावग्रस्त दैनिकी चलाउँदै आएका छन् उनीहरू पनि । 

प्रस्तुति : विद्यानन्द राम

रामकिसुन

Link copied successfully