‘बिहान किन्यो-दिउँसो बेच्यो, साँझ तिर्दै ठिक्क हुन्छ’

जीवनमा यही कुरामा सफल भएँ भन्नलाई केही छैन । जेमा हात हालेँ, त्यसमै विफल भएँ

चैत्र २१, २०८१

कपिलमणी पन्थी

”Bought in the morning - sold in the afternoon, paying in the evening is fine”

गुल्मी — इस्मा गाउँपालिका–१, पालुखामा ७४ वर्षअघि जन्मिएको हुँ । अहिले गुल्मी सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका–१ मा बसोबास गरिरहेको छु । गाउँ छाडेर बजार आएपछि साँझ–बिहान हातमुख जोड्न केही न केही त गर्नै पर्‍यो ।

हुन त जीवनमा यही कुरामा सफल भएँ भन्नलाई केही छैन । जेमा हात हालेँ, त्यसमै विफल भएँ । तम्घासको सहिदचोकमा ३५ वर्षदेखि आयुर्वेदिक जडीबुटी र पूजाआजाका सामग्री बेचेर दिन कटाइरहेको छु । 

व्यापार गरेर कमाउनेभन्दा पुरोहित कार्यका लागि सम्पर्कस्थल जस्तो बनेको छ । मेरा एक छोरा र दुई छोरी छन् । हाम्रो तीन पुस्ता नै पण्डित पेसामा छौं । छोरा भीमकान्त पनि पण्डित पेसा गर्दै ध्यान तपस्यामा लागेका छन् । दुवै छोरीको बिहे भइसक्यो । ६२ वर्षकी श्रीमती अम्बिकादेवी र म यही व्यवसाय कुरेर बस्छौं । 

दिनमा त्यही सरदर १ हजार रुपैयाँको सामान किन्छु । पसलमा ल्याएर १ हजार ४ सयजतिमा बिक्री हुन्छ । आफूलाई दिनमा ४ सयजति आम्दानी हुन्छ । मनग्गे कमाउनेभन्दा पनि गुजारा गर्ने माध्यम भएको छ । आफूसित धन हुँदो हो त राम्रा राम्रा व्यवसाय रोजेर गर्थें नि ! मन मात्र भएर भएन । कर्ममा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाएको छु ।

व्यवसाय सानो भए पनि दुःख ठूला छन् । धेरै सम्पत्ति र धन हुँदो त केही समस्या हुन्थेन । हामीलाई यही व्यवसाय सम्हाल्न पनि मुस्किल परिरहेको छ । बिहान बजार डुलेर सामान किन्छु । दिनभरि व्यापार गरेपछि जम्मा भएको रकम लगेर साँझ पसलेलाई तिर्छु । व्यवसायबाट कमाइ गरेर बचत गर्न सकेको छैन । साँझ–बिहान हातमुख जोड्न पुग्छ । चाडपर्वमा पनि व्यवसायमै व्यस्त हुनुपर्छ । परिवारसित बसेर रमाउने भन्ने त भाग्यमै रैनछ । 

गाउँमा जग्गाजमिनमा उब्जनी गरेर आनन्दले बसिरहेको थिएँ । कहिलेकाहीँ पुरोहित्याइँ र प्रायः हलो–कोदालो गरेर जीवन चलिरहेको थियो । गाईभैसी पालेको थिएँ । केटाकेटी हुर्किदै थिए । पैसा कमाउने लोभले भारत गएँ । २०२५ देखि २०३० सालसम्म नयाँदिल्लीमा आयुर्वेदिक जडीबुटी र पूजाआजाका सामग्री चिन्न, बेच्न र सिक्न पाएँ । २०४० सालमा नेपाल आएर हुलाकेमा यही व्यवसाय गरेँ । व्यवसाय राम्रै चलेका बेला दशा लाग्यो । उधारो सामान लगेकाले कहिल्यै रकम तिरेनन् । त्यतिबेला १ लाख ३० हजार रुपैयाँ डुब्यो । 

ग्राहकले इमानदारी देखाएनन् । तर मैले साहुलाई तिर्नै पर्‍यो । कृषि विकास बैंकबाट तीन लाख रुपैयाँ ऋण लिएको हुँ । २०७३ सालसम्म महिनाको १ हजार ५ सयका दरले ब्याज बुझाएँ । त्यसपछि व्यवसायले ब्याज थेग्न सकेन । अनि हस्तिचौरको ३२ रोपनी जग्गा मात्रै ३ लाखमा बेचेर ऋण तिरेर आफू मुक्त भएँ । त्यसपछि मेरो नाममा केही छैन । अहिले सुकुम्बासी नै हुँ । छोराले संस्कृत विषयबाट शास्त्री पास गरेको छ । १३ वर्षसम्म संस्कृत अध्ययन गरेर पोख्त भएको छ । यसैमा खुसी छु । सुकुम्बासी भएकाले जग्गा माग गरेर निवेदन पेस गरेको छु । 

आफूले कमाउन सकिनँ । भएको सम्पत्ती पनि बेचेर सकेँ । छोराछोरीलाई केही दिन सकिनँ । त्यसैले सन्तानले कमाऊन् भनेर भगवानसँग प्रार्थना गरेको छु । अहिले तम्घास गुठी राममन्दिरमा बिहान र साँझ पूजाआजा गर्छु । पूजाआजा गराउँदा दक्षिणाबापत दिनमा एक/दुई सय मिल्छ । लोभ छैन । अब सेवा गरेरै ध्यान तपस्यामा समय बिताउने सोचेको छु । अहिले तम्घासबासी सबैले बा भन्छन् । सबैले इज्जत गर्छन् । इष्टमित्र दाजुभाइको प्यारो छु । त्यही खुसी लाग्छ । यसैलाई मैले आफ्नो सत्कर्म मानेको छु । 

प्रस्तुति : सन्तोष महतारा

कपिलमणी

Link copied successfully