छोरा सरकारी जागिरका लागि योग्य भइसकेको छ तर लोकसेवा पढाउने खर्च जोहो गर्न सकेकी छैन
बारा — अहिले बारा सदरमुकाम कलैया–१, भवानीपुरमा बसोबास छ । म अहिले ४४ वर्षकी भएँ । दाङको लमहीमा जन्मिएकी हुँ । त्यहाँ सात कक्षासम्म पढेपछि स्कुल गइनँ । दुई वर्ष घरमै बसेर घरायसी सजावटको काम सिकिरहेकी थिएँ । त्यही क्रममा गाउँकै फोटो स्टुडियोमा रामहरि बरालसित भेट भयो । पहिलो भेटमै मायापिरिम बसिहाल्यो ।
त्यसबेला उहाँ स्टुडियोमा रिलवाला क्यामराले फोटो खिचेर हातले रिल धुलाउनु हुन्थ्यो । उहाँसित पुँजीको नाममा त्यतिमात्र सीप थियो ।
२०५८ सालमा विवाहपछि बसाइँ सरेर कलैया–१, भवानीपुर आयौं । घरमा ससुराबा, सासुआमा, जेठाजु र देवर हुनुहुन्थ्यो । सम्पत्तीका नाममा ५ धुर घडेरी थियो । त्यसमै परिवार आश्रित थियौं । हुन त अहिले पनि खेतबारी छैन । यहाँ आयौं तर जीवन धान्न आय आर्जन थिएन । केही न केही गर्नैपर्ने भए पनि कलैया नजिकैको एक औषधि उद्योगमा सफाइको काम गर्न थालेँ । श्रीमान् पनि त्यही उद्योगमा काम गर्न थाल्नुभयो । यही अवधिमा एक छोरा जन्मियो । १० वर्ष उद्योगमा काम गरेर छाडेपछि ६ महिना निजी विद्यालयमा सफाइको काम गरेँ ।
निहुरिएर पानीसित खेल्दै काम गर्नुपर्ने भएकाले ढाडमा समस्या भयो । त्यसपछि त्यहाँ पनि काम छाडेर कलैया नगरपालिकामा आएर १२ वर्षदेखि क्यान्टिन सञ्चालन गरिरहेकी छु । कार्यालय कर्मचारी र सेवाग्राही मेरा ग्रँहक हुन् । क्यान्टिन सञ्चालन गर्ने बेला मसित ५ सय नगद थियो । त्यति रकमले आउने सामान र केही उधारोमा ल्याएर खाजा पकाउन थालेँ । अहिले पनि नगद नभएका बेला चिनी, तेल, मसला सबै दुध उधारोमा किन्छु । दिनभरको कमाइ साँझ र भोलिपल्ट तिर्छु ।
त्यसबेला छोरा देवेन्द्र सामुदायिक विद्यालयमा पढ्थे । छोरी कृषिका काखे नै थिइन् । क्यान्टिनमा आउने ग्राहकले चिया/चमेना खाँदै परिवारको हाल बुझ्न थाले । सबैले छोरालाई पशु विज्ञानको डाक्टर बनाउन सल्लाह दिए । ग्राहककै सल्लाहले छोरालाई पशु चिकित्सक बनाउने निर्णयमा पुगेँ । माध्यमिक तहको पढाइ पूरा गरेपछि ७५ हजार खर्च गरेर जिल्लाकै डुमरवानास्थित प्राविधिक पशु विज्ञानको १८ महिने कोर्स पूरा गराएँ । यो कोर्स पूरा गरेपछि थप साढे तीन लाख खर्चेर तीन वर्षे (डिप्लोमा) गराएँ ।
अहिले २३ वर्ष पुगेको छोरा सरकारी जागिरका लागि योग्य भइसकेको छ । तर लोकसेवा पढाउने खर्च जोहो गर्न सकेकी छैन । अहिले साथीहरूसित मिलेर च्याउ खेती गर्न छोरालाई प्रेरित गरिरहेकी छु । पशुको डाक्टर बन्नका लागि अझै चार वर्ष पढ्नुपर्ने रहेछ । १२ वर्षदेखि चिया बिक्री गरे पनि छोराको बाँकी पढाइ पूरा गर्न २० लाख कसरी जुटाउनू ? यही प्रश्नले मन खाइरहन्छ
क्यान्टिनबाट भएको थोरै आम्दानीले परिवारको चार जनाको लत्ताकपडा, पर्व–त्योहार, औषधि उपचार र दैनिक बिहान–बेलुकाको गाँस पुर्याउनै धौ धौ छ । क्यान्टिनमा ग्राहकको रूपमा आउने नगरपालिकाको कर्मचारी र अन्य सेवाग्राहीकै सल्लाहमा छोरालाई डाक्टर बनाउन सपना देखेँ । तर अहिले आएर कमाइले घरखर्च टार्नमै समस्या भएकाले छोरालाई डाक्टर बनाउने सपना खेर गएको छ ।
डिप्लोमासम्म पढेको छोरा घरमै बस्न बाध्य छ । जग्गा धितो राखेर बैंकबाट ऋण काढौं भने खेतबारी छैन । क्यान्टिनबाट दिनमा २ हजारसम्म कमाइ हुन्छ । सधैं यति नै कमाइ हुन्छ भन्ने हुँदैन । जेहोस्, क्यान्टिनको कमाइले घरखर्च ठिक्क छ । अहिले ९ कक्षामा पढिरहेकी छोरीको विद्यालय शुल्क र कापी–कलमको खर्च पुर्याउनै धौ धौ छ । अलिकति भए पनि दैनिक द सहारा सहकारीमा बचत गरिरहेकी छु । त्यही बचतबाट वर्षमा एकपटक सात हजार तिर्न पर्ने गरी परिवारको स्वास्थ्य बिमा गराएकी छु । एकपटक छोरा दुर्घटनामा पर्यो । उसको उपचारमा त्यही सहकारीमा जम्मा गरेको ४ लाख बचत खर्च भयो ।
प्रस्तुति : लक्ष्मी साह
