छोराछोरीले साथ दिने बेलासम्म दैनिक १०/१२ लिटर दूध दिने भैंसी पालेका थियौं । दूध बिक्री गर्न बजार थिएन, छोराछोरीले खान्थे ।
ताप्लेजुङ — मेरा श्रीमान् सन्तोष राजभण्डारीको पुर्ख्यौली घर ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको वीरेन्द्रचोकमा हो । उहाँका दाजुभाइ अहिले पनि त्यहीँ हुनुहुन्छ । २०४० सालमा विवाह गरेर म पनि बजारकै घरमा भित्रिएकी हुँ । उहाँ (श्रीमान्) शिक्षक भएकाले हामी पाथीभरा याङवरक गाउँपालिका–४, चाक्सिबाटेमा बसाइँ सर्यौं । उतिबेला स्याउलाले बारेको सानो स्कुल थियो । बिहान–बेलुका खाना पकाएर स्कुलमै पुर्याउँथेँ ।
चार छोरी र एक छोरा यहीँ जन्मे र हुर्किए । यहीँको माटोले मोहनी लगाएपछि आठ आना जग्गा किनेर ढुङ्गामाटोको घर बनायौं । छोराछोरीले पनि प्राथमिक तह यही स्कुलमा पढे । त्यसभन्दा माथिका कक्षा कसैले सदरमुकामकै भानुजन मावि र कसैले सिरिजङ्गा–१, सिनाममा पढे । अहिले जेठी मोरङ, माइली झापा, साइली र कान्छी काठमाडौंमा छन् । सबैको विवाह गरिसक्यौं । एउटा छोरो काठमाडौंमा पढ्दै व्यापार गरिरहेको छ ।
श्रीमान् रिटायर भएपछि उहाँले विद्यालय छोड्दाको र पुर्ख्यौली जमिन बिक्री गरेर आएको पैसाले झापाको विर्तामोडमा दुईवटा घडेरी (भिटा) किनेका छौं । तैपनि हामी गाउँमा बसिरहेका छौं । मैले नास्ता पसल चलाइरहेकी छु । स्कुलका सरमिसले यहीँ चिया र खाजा खानुहुन्छ । अहिले नास्ता पसलसँगै दोकान भए पनि त्यति धेरै चल्दैन । कहिलेकाहीँ खाना खाने आउनु हुन्छ । सादा खानाको दुई सय र मासु खानाको प्रतिप्लेट तीन सय रुपैयाँमा बिक्री गर्छु । बास बसेको पैसा लिने गरेकी छैन ।
छोराछोरीले साथ दिने बेलासम्म दैनिक १०/१२ लिटर दुध दिने भैंसी पालेका थियौं । दुध प्रशस्त भए पनि बजार थिएन । दुध–दही छोराछोरीले खान्थे । अलिअलि घिउ बिक्री गर्थ्यौं । मोही त्यही भैंसीलाई खोले बनाएर दिन्थ्यौं । हाम्रो गाउँसम्म पुग्न सदरमुकाम फुङलिङबाट कम्तीमा तीन/चार घण्टा लाग्छ । गाडी नियमित चल्ने भएकाले बिक्री गर्ने तरकारी लगायतका बस्तु भए बजार पठाउन सकिन्थ्यो । तर दुई जना मात्रै छौं । श्रीमानलाई सुगर र प्रेसर छ । काम गर्न खासै सक्नु हुन्न ।
तरकारी किनेर खाँदैनौं । आफैंले बारीमा उत्पादन गर्छौं । आलु ५० देखि ८० रुपैयाँ प्रतिकिलो किन्न पाइन्छ । धान पनि दुई सय रुपैयाँ पाथी पाइन्छ । नुन, तेल, चिनी किन्नु पर्छ । चिनी १२०, आयो नुन ३५ र ढिके नुन २५ रुपैयाँ किलो पाइन्छ । खसी र लोकल कुखुराको मासु ७ सय रुपैयाँ प्रतिकिलो छ । मल पनि हुने र मासुका लागि बिक्री पनि हुने भएकाले तीनवटा बाख्रा पालेका छौं । दुई जना मात्रै भएकाले घरायसी खर्च खासै छैन । चामल बिहान बेलुका गरी दैनिक एक माना जति खान्छौं । दिउँसो खाजा स्कुस, तरुल, आलु लगायत खान्छौं । त्यसका लागि पाँच रोपनी बारी छ ।
हाम्रो ठूलो खर्च उपचारमा छ । श्रीमान् चेकजाँच गराउन काठमाडौं गइरहनु पर्छ । आउजाउको भाडा र औषधिमा धेरै खर्च छ । मलाई ठ्याक्कै थाहा छैन । तर, श्रीमानको पेन्सनले धानिरहेको छ । ‘बुवाको स्वास्थ्य पनि राम्रो भएन, तपाईं पनि यतै काठमाडौं आउनू, यतै बसौं’ भनेर छोराछोरीले कराइरहेका छन् । तर मलाई यो घर छोडेर जान पटक्कै मन छैन । वैशाखमा एक पटक नाति–नातिना भेट्न जाने र फर्कने सोचेकी छु । तर हातगोडा चलुन्जेल यहीँ बसेर केही न केही गरौं भन्ने लागेको छ । पछि जानु नै पर्यो भने पनि घरचाहिँ बिक्री नगर्ने भन्ने छ । यो त मेरा छोराछोरी हुर्के बढेको घर हो । असाध्यै माया लाग्छ ।
ठूलो खर्च बिहेवारीमा भयो । अहिले चाडबाडमा र पाहुना आउँदा खर्च बढ्ने हो । एक पटक त ठ्याक्कै ६५ हजार खर्च भएको थियो । यस्तो बेलाका लागि अलिक बचत गरेर राख्नु पर्छ । पहिला सडक थिएन, यातायात थिएन । अहिले बाटो पनि बन्यो, गाडी पनि आउन थाले । तर छोराछोरीले गाउँमा नबस्नु बिरामी हुँदा उपचार पाउन सकिँदैन भनिरहेका छन् । यसलेचाहिँ चिन्ता हुने गरेको छ । पहिला हाम्रा छोराछोरी पढाउँदा किताब, कापी, लुगा सबै किन्नु पर्थ्यो । अहिले त कपडा पनि किनिदिन्छन् । पुस्तकहरू निःशुल्क पाइन्छ ।
प्रस्तुति : आनन्द गौतम
