'भारतमा सिकेको सीपलाई स्याउ खेतीमा लगाएँ'

मेरो चाहना व्यावसायिक रूपमा स्याउ खेती विस्तार गरेर वरिपरिका डाँडा हरियालीपूर्ण बनाउने पनि हो

चैत्र १६, २०८१

लोकेन्द्रबहादुर बुढाथोकी

'Apply the skills learned in India to apple farming'

सल्यान — परिवारको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा पढाइ छाडेर कालापहाड जानुपर्‍यो । दुई–चार पैसा कमाउन भनेर २०५४ मा भारतको हिमाचल प्रदेशको सिम्ला गएँ । उमेर सानै भए पनि त्यहाँ चार वर्षसम्म स्याउ फर्ममा काम गरेँ । परिवारका लागि घरखर्च जोहो गर्ने हेतुले सिम्ला गएको थिएँ । तर त्यहाँ पुगेपछि काम सिक्ने र ज्यान पाल्नेभन्दा अरु केही गर्न सकिनँ ।

घरमा खर्च पठाउने अवस्था नबनेपछि स्याउ फर्ममा काम गर्न छाडेर गाडी चलाउन थालेँ । झन्डै ८ वर्ष सिम्ला लगायतका क्षेत्रमा ट्रक चलाएँ । १२ वर्ष अर्काको ठाउँमा बसेर कुनै प्रगति गर्न नसकेपछि आफ्नै गाउँघरमा केही गर्ने उद्देश्यले २०६६ मा घर फर्किएँ । घर फर्किने बित्तिकै छ सिटे बालेरो जीप किनेँ । त्यसबाट पनि खासै कमाइ भएन । परिवार पाल्न कठिनाइ हुने भन्दा व्यवसायमा घाटा बढी भएपछि केही वर्षयता भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउ खेतीमा लागेको छु । यसबाट जीविकोपार्जन त भइरहेको छ तर यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने चाहना छ । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीमा झन्डै ८ वर्षदेखि स्याउ खेतीमा लागेको छु । समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाइमा रहेको घर नजिकैको डाँडोमा पर्ने आफ्नै ११ रोपनी जग्गामा २०७२ सालमा खाल्डो खन्ने, सिँचाइको व्यवस्था गर्ने र बेर्ना किन्न १० लाख खर्च गरेर ३ सय ५० बोट स्याउ लगाएँ । ३ सय बोटमा तीन वर्षदेखि स्याउ फल्न थालेका छन् ।

मेरो चाहना भने ३ सय बोटमा स्याउ फलाउने मात्र छैन, यसलाई व्यावसायिक रूपमा विस्तार गरेर वरिपरिका सबै खुरिल्ला डाँडामा स्याउ खेती गर्ने हो । नजिकका खुरिल्ला डाँडा आफ्नो व्यक्तिगत नभए पनि स्याउ खेती गर्नका लागि वडासँग समन्वय गरी प्रक्रिया अगाडि बढाइरहेको छु । हेरौं सफल भइन्छ कि भइँदैन ! 

घरनजिक ११ रोपनी जग्गामा लगाएको स्याउबाट तीन वर्षअघि ५० हजार, अघिल्लो वर्ष १ लाख ५० हजार र गतवर्ष ३ लाख कमाइ भएको थियो । मजदुर लगाएर मलजल गर्दा वार्षिक ५० हजारजति खर्च हुन्छ । अहिले वार्षिक २ लाख ५० हजारजति बच्छ । त्यसले पाँच जनाको परिवारको जीविकोपार्जनमा सहज त भएको छ तर मेरो चाहना भने पूरा भएको छैन ।

खुरिल्ला डाँडामा व्यावसायिक स्याउ खेती गर्नेमात्र नभई हिमाली भेगमा फल्ने स्याउ खेती गरेर सबैलाई देखाउने, पर्यटनको गन्तव्य बनाउने र आफूलाई चिनाउने पनि हो । स्याउ खेती गरेर आन्तरिक पर्यटन बढाउने र आफूलाई चिनाउने काम त सफल भएको छ । व्यावसायिकतालाई जोड दिएको छु । स्याउ खेतीलाई विस्तार गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेको छु । 

खुरिल्ला डाँडामा के स्याउ फल्ला र भनेर स्थानीयले विभिन्न कुरा काट्ने गर्थे । मैले कसैको प्रवाह गरिनँ र आफ्नो लक्ष्यमा अगाडि बढेँ । मैले खाल्डो खनेँ, आकाशे पानी संकलन गरेर सिँचाइको व्यवस्था गरेँ । बेर्ना किन्ने, खाल्डो खन्ने, सिँचाइको व्यवस्था गरेँ ।

अहिले सिजनमा लटरम्म रातै स्याउ पाक्ने गर्छन् । रातै पाकेको देख्दा स्थानीय अचम्मित पर्छन् । खुरिल्ला डाँडालाई स्याउ बगैंचामा परिवर्तन गरी सबैको ध्यान खिच्न सफल भएकामा अहिले खुसी लाग्ने गर्छ । स्याउ पाक्ने सिजनमा आन्तरिक पर्यटकलाई बगैंचामा घुमाउने, पाकेको स्याउ बिक्री गर्ने र बेसिजनमा मलजल, गोडमेलमा व्यस्त हुन्छु । अहिले त्यसमै रमाउन थालेको छु । 

जुंगाको रेखी नबसेको सानै उमेरमा स्कुल पढ्दै गर्दा पढाइ छाडेर तथा बाबुआमा छाडेर भारतको सिम्ला जाने रहर मलाई थिएन । घरको आर्थिक अवस्था धेरै कमजोर र कमाउने कोही नभएपछि दुई छाक टार्न गाह्रो मात्र नभई सबै जिम्मेवारी आफूमा थुप्रिएकाले बाध्य भएर गएको थिएँ ।

अर्काको ठाउँमा जति गरे पनि खान लाउन मात्रै ठिक्क भएपछि म सिम्ला छाडेर आफ्नै गाउँमा केही गर्ने उद्देश्यका साथ फर्किएको थिएँ । पढ्ने उमेरमा स्याउ खेतीमा काम गरेर सिकेका कुरालाई आत्मसात् गर्दै स्याउ खेतीमा लागेको थिएँ । यसले मलाई कृषि कर्ममा उत्साहित त गरेको छ नै, यही स्याउ खेतीले मेरो दैनिकी पनि सहज बनाएको छ ।

प्रस्तुति : विप्लव महर्जन

लोकेन्द्रबहादुर बुढाथोकी

Link copied successfully