मेरो चाहना व्यावसायिक रूपमा स्याउ खेती विस्तार गरेर वरिपरिका डाँडा हरियालीपूर्ण बनाउने पनि हो
सल्यान — परिवारको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा पढाइ छाडेर कालापहाड जानुपर्यो । दुई–चार पैसा कमाउन भनेर २०५४ मा भारतको हिमाचल प्रदेशको सिम्ला गएँ । उमेर सानै भए पनि त्यहाँ चार वर्षसम्म स्याउ फर्ममा काम गरेँ । परिवारका लागि घरखर्च जोहो गर्ने हेतुले सिम्ला गएको थिएँ । तर त्यहाँ पुगेपछि काम सिक्ने र ज्यान पाल्नेभन्दा अरु केही गर्न सकिनँ ।
घरमा खर्च पठाउने अवस्था नबनेपछि स्याउ फर्ममा काम गर्न छाडेर गाडी चलाउन थालेँ । झन्डै ८ वर्ष सिम्ला लगायतका क्षेत्रमा ट्रक चलाएँ । १२ वर्ष अर्काको ठाउँमा बसेर कुनै प्रगति गर्न नसकेपछि आफ्नै गाउँघरमा केही गर्ने उद्देश्यले २०६६ मा घर फर्किएँ । घर फर्किने बित्तिकै छ सिटे बालेरो जीप किनेँ । त्यसबाट पनि खासै कमाइ भएन । परिवार पाल्न कठिनाइ हुने भन्दा व्यवसायमा घाटा बढी भएपछि केही वर्षयता भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउ खेतीमा लागेको छु । यसबाट जीविकोपार्जन त भइरहेको छ तर यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने चाहना छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीमा झन्डै ८ वर्षदेखि स्याउ खेतीमा लागेको छु । समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाइमा रहेको घर नजिकैको डाँडोमा पर्ने आफ्नै ११ रोपनी जग्गामा २०७२ सालमा खाल्डो खन्ने, सिँचाइको व्यवस्था गर्ने र बेर्ना किन्न १० लाख खर्च गरेर ३ सय ५० बोट स्याउ लगाएँ । ३ सय बोटमा तीन वर्षदेखि स्याउ फल्न थालेका छन् ।
मेरो चाहना भने ३ सय बोटमा स्याउ फलाउने मात्र छैन, यसलाई व्यावसायिक रूपमा विस्तार गरेर वरिपरिका सबै खुरिल्ला डाँडामा स्याउ खेती गर्ने हो । नजिकका खुरिल्ला डाँडा आफ्नो व्यक्तिगत नभए पनि स्याउ खेती गर्नका लागि वडासँग समन्वय गरी प्रक्रिया अगाडि बढाइरहेको छु । हेरौं सफल भइन्छ कि भइँदैन !
घरनजिक ११ रोपनी जग्गामा लगाएको स्याउबाट तीन वर्षअघि ५० हजार, अघिल्लो वर्ष १ लाख ५० हजार र गतवर्ष ३ लाख कमाइ भएको थियो । मजदुर लगाएर मलजल गर्दा वार्षिक ५० हजारजति खर्च हुन्छ । अहिले वार्षिक २ लाख ५० हजारजति बच्छ । त्यसले पाँच जनाको परिवारको जीविकोपार्जनमा सहज त भएको छ तर मेरो चाहना भने पूरा भएको छैन ।
खुरिल्ला डाँडामा व्यावसायिक स्याउ खेती गर्नेमात्र नभई हिमाली भेगमा फल्ने स्याउ खेती गरेर सबैलाई देखाउने, पर्यटनको गन्तव्य बनाउने र आफूलाई चिनाउने पनि हो । स्याउ खेती गरेर आन्तरिक पर्यटन बढाउने र आफूलाई चिनाउने काम त सफल भएको छ । व्यावसायिकतालाई जोड दिएको छु । स्याउ खेतीलाई विस्तार गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेको छु ।
खुरिल्ला डाँडामा के स्याउ फल्ला र भनेर स्थानीयले विभिन्न कुरा काट्ने गर्थे । मैले कसैको प्रवाह गरिनँ र आफ्नो लक्ष्यमा अगाडि बढेँ । मैले खाल्डो खनेँ, आकाशे पानी संकलन गरेर सिँचाइको व्यवस्था गरेँ । बेर्ना किन्ने, खाल्डो खन्ने, सिँचाइको व्यवस्था गरेँ ।
अहिले सिजनमा लटरम्म रातै स्याउ पाक्ने गर्छन् । रातै पाकेको देख्दा स्थानीय अचम्मित पर्छन् । खुरिल्ला डाँडालाई स्याउ बगैंचामा परिवर्तन गरी सबैको ध्यान खिच्न सफल भएकामा अहिले खुसी लाग्ने गर्छ । स्याउ पाक्ने सिजनमा आन्तरिक पर्यटकलाई बगैंचामा घुमाउने, पाकेको स्याउ बिक्री गर्ने र बेसिजनमा मलजल, गोडमेलमा व्यस्त हुन्छु । अहिले त्यसमै रमाउन थालेको छु ।
जुंगाको रेखी नबसेको सानै उमेरमा स्कुल पढ्दै गर्दा पढाइ छाडेर तथा बाबुआमा छाडेर भारतको सिम्ला जाने रहर मलाई थिएन । घरको आर्थिक अवस्था धेरै कमजोर र कमाउने कोही नभएपछि दुई छाक टार्न गाह्रो मात्र नभई सबै जिम्मेवारी आफूमा थुप्रिएकाले बाध्य भएर गएको थिएँ ।
अर्काको ठाउँमा जति गरे पनि खान लाउन मात्रै ठिक्क भएपछि म सिम्ला छाडेर आफ्नै गाउँमा केही गर्ने उद्देश्यका साथ फर्किएको थिएँ । पढ्ने उमेरमा स्याउ खेतीमा काम गरेर सिकेका कुरालाई आत्मसात् गर्दै स्याउ खेतीमा लागेको थिएँ । यसले मलाई कृषि कर्ममा उत्साहित त गरेको छ नै, यही स्याउ खेतीले मेरो दैनिकी पनि सहज बनाएको छ ।
प्रस्तुति : विप्लव महर्जन
