चर्पी बगाएपछि सार्वजनिक शौचालय प्रयोग गर्दै छौं
पाँचथर — हेंवा खोला किनारमा गिट्टी कुट्न थालेको २५ वर्ष भयो । गड्तीरमै घर बनाएर बसेको छु । पोहर सालसम्म अर्काको खेतमा अँधियामा धान रोप्थेँ । धान आफैंले फलाउँदा चामल किन्नु पर्दैनथ्यो । यस वर्ष खोलामा आएको बाढीले कुलो बगाएका कारण चैते धान रोपिएन, तत्काल बन्ने सम्भावना नरहेकाले हिउँदे धान पनि रोप्न पाइलाजस्तो छैन ।
आम्दानीको मुख्य स्रोत भनेको खोलाबाट निकालेको बालुवा र खोलाकै ढुंगा र गिट्टी कुटेर बिक्री गर्दा आएको पैसा नै हो । गिट्टी र बालुवा बिकेन भने घर व्यवहार चलाउन कठिन हुन्छ । खोला गड्तीरको बास, वर्षा लागेपछि बाढीले दुःख दिइरहन्छ । पोहर साल असार २ गते राती आएको बाढीबाट बालबाल बचियो ।
यस वर्षको असोज १२ गते दिउँसो आएको बाढीले बिक्रीका लागि खोलाबाट झिकेको बालुवा, कुटेको गिट्टी गरेर दुई हजार मूल्य बराबरको बगाइलग्यो । चर्पी, बाथरुम र भान्छाघर पनि बगायो । लेदोले घर पनि आधाभन्दा धेरै पुर्यो, अहिले त्यही घर मर्मत गरेर बसिरहेका छौं ।
चर्पी बगाएपछि फिदिम नगरपालिकाका नगर प्रहरीले बनाएको सार्वजनिक शौचालय प्रयोग गर्दै छौं । त्यही ठाउँमा बेली ब्रिज बन्ने भएकाले त्यो पनि भत्किने कुरा चल्दैछ, त्यो भत्कियो भने कहाँ दिसा पिसाब गर्नू ? आफैंसँग उत्तर छैन । तत्काल नयाँ चर्पी बनाउने क्षमता छैन ।
छोरीहरूको बिहेवारी भइसक्यो । दुई जना छोरा गाडी लाइनमा काम गर्छन् । उनीहरूको कमाइ के कति हुन्छ, सोधीखोजी गर्दिनँ ।
श्रीमतीलाई प्रेसरको बिमार छ, बेलाबेला गाह्रो भइरहन्छ, कहिलेकाहीँ मध्यरातमा बिमारले च्याप्छ । भनेका बेला गाडी पाइन्न । प्रायः एम्बुलेन्स झिकाएर अस्पताल दौडाउनु पर्छ । त्यसका लागि तल्लो कलम मासिक ५–७ हजार जगेडा राख्नै पर्छ ।
उनलाई सन्चो हुँदा बुढाबुढी मिलेर बालुवा झिक्ने र गिट्टी कुट्ने काम गर्छौं । उनलाई धेरै बिसन्चो भयो भने म आफू पनि भ्याउँदिनँ । काम गर्न भ्याइएन भने पनि पेटले त्यो कुरा बुझ्दैन । जसोतसो हातमुख जोर्नु नै पर्यो । बालुवा र गिट्टीको काम निकै गरुँगो हुन्छ । सागसब्जी, माछा मासु र तेल मसलामा राम्रै खर्च हुन्छ ।
भान्छामा प्रायः मासु पाक्छ । हप्तामा चार दिन मासु खान्छौं । धेरैजसो राँगा, त्यसपछि बंगुर कहिलेकाहीँ खसीको मासु ल्याउँछु । राँगाको प्रतिकिलो दुई सय र बंगुरको दुई सय पचास रुपैयाँ पर्छ, खसी नौ सय रुपैयाँ किलोमा पाइन्छ । मासु पकाउन तेलभुटुन र मरमसला किन्न महिनाको दुई हजार जति खर्च हुन्छ ।
पहिले खोलामा माछा मार्दा मासु कम किने हुन्थ्यो । हेवा खोलामा हाइड्रो चल्न थाले, खोला सपक्कै सुके । खोलामा पानी सुकेपछि माछा मार्ने कुरै भएन । धेरै माछा मारेको बेला बिक्री पनि गरिन्थ्यो, त्यताबाट दुई चार पैसा अतिरिक्त आम्दानी हुन्थ्यो ।
माछा मार्न नपाउँदा एकातिर बिक्री गर्दा हुने आम्दानी ठप्प भएको छ भने अर्कातिर मासु किन्ने खर्च बढेको छ । घरखर्च चलाउन मासिक १५–२० हजार कमाउनै पर्छ, त्यति कमाउन नसके ऋण लाग्छ । ऋण नलागोस् भन्नका लागि साँझ बिहान पनि खटेर काम गर्छु ।
खोला गड्तीरमा हिउँदमास धेरै चिसो हुन्छ, बर्खामा भेल–बाढीको सामना गर्नुपर्छ भने सुख्खायाममा धूलोले सताउँछ । शारीरिक श्रम धेरै नै गर्छु सायद, त्यही भएर होला खाना रुच्छ, राम्ररी पच्छ, श्रीमती रोगी भए पनि म निरोगी छु । श्रीमतीलाई व्यथाले च्यापेन भने त जसोतसो धानिएला । रोग–व्याधिले पनि च्याप्ने अनि बाढीले पनि दुःख दिने हो भने जिन्दगी के हुन्छ भन्ने चिन्ताले सताइरहन्छ ।
प्रस्तुति : लक्ष्मी गौतम
