दुःख अनेक छन् तर के गर्नु– पापी पेटले भोकै बस्न मान्दैन
नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका–११, क्याम्पस चोकमा घर छ । अहिले ४२ वर्षकी भएँ । मेरा दुःख पनि ४२ हजारै छन् । तैपनि, गुजारा त चलाउनु पर्यो भनेर कोहलपुरको एनटीभी रोडको चौतारीमुनि दिनभरि फाटेका जुत्ता–चप्पल सिलाउने गरेकी छु ।
दिनभर घामपानी, जाडो सहेबापत दिनमा ३ देखि ८ सय रुपैयाँसम्म कमाइ हुन्छ । सधैं एकनास हुँदैनन् । ग्राहक पनि थरीथरीका आउँछन् । कोही पैसा धेरै भयो भनेर कराउँछन् । किचकिच गर्छन् । कोही भने थोरै भन्यौ भनेर थपेर पनि दिन्छन् ।
१५ वर्षअघि सल्यानबाट कोहलपुर झरेका हौं । श्रीमान्ले छोरा भएनन् भन्दै दोस्रो बिहे गरे । श्रीमान्सँग छुट्टिएर बस्न थालेको पनि १० वर्ष भयो । सानै थिएँ, आमा बित्नुभयो । १० वर्षको उमेरमा बुवा गुमाएँ । १६ वर्षको उमेरमा बिहे गरेँ । त्यही श्रीमान्ले पनि धोका दिएर बाटो मोडे ।
परिवारमा एक छोरीबाहेक कोही छैन । त्यही छोरीलाइ १२ कक्षासम्म पढाएर एक वर्षअघि बिहे गरिदिएँ । कमाइ भएका दिन पाँच सय बचत गर्छु । छोरीको बिहेका लागि सहकारीबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिएँ । अलिअलि बचत गर्दै तिर्दै छु । दिनभरि मिलेको ज्यालाजति नुन, तेल र तरकारीमै सकिन्छ । जिब्रोले मिठो मसिनो खोजिरहन्छ । तर, दिनमा दुई टाइम खानाबाहेक केही खाँदिनँ । बिहान खाना तयार गरेपछि बोकेर ८ बजे काम गर्ने ठाउँ पुग्छु । दिउँसो टिफिनमा ल्याएको त्यही खाना खान्छु । साँझ ५ बजेरतिर पसल बन्द गरेर घर फर्किएर खाना पकाएर खान्छु ।
छोरीको बिहे गरेपछि झन् एक्लो भएँ । एक्लै मिठो पकाएर खान मन लाग्दैन । महिनाको दुई पटकसम्म मासु पकाएर खान्छु । खेतबारी केही छैन । सबै किनेर खानुपर्छ । महँगी धेरै छ । दिनको तरकारीमा मात्रै एक सय खर्च हुन्छ । त्यसमाथि बिमारी भइरहन्छु । ढाड दुख्ने, हातखुट्टा दुख्ने बिमारले हैरान छु । महिनाको तीन हजार त औषधिमै खर्च हुन्छ । कमाएर दिने, टिठाएर हेर्ने आफ्नो भन्ने कोही छैन । मरेँ भने त छिमेकीले नै फाल्ने होलान् जस्तो लाग्छ ।
सम्पत्तिका नाममा एउटा बस्ने कटेरो मात्र छ । त्यही पनि सुकम्बासी बस्तीमा । कति खेर उठीबास लगाउने हुन्, त्यो पनि थाहा छैन । एकपटक भत्किएर मर्मत गरेर बसेकी छु । श्रीमान्ले दोस्रो बिहे गरेर गए पनि धन्न जुत्ता–चप्पल सिलाउने सीप सिकाएछन् । यो एउटा त गुनै लगाएर गए । हातमा सीप भएपछि भोकै बस्नु परेको छैन । त्यही सीपकै भरमा बाँचेकी छु । कमाएको पैसा बचत गर्न सकिएको छैन । ऋण तिर्न सकियोस् भन्ने एउटै ठूलो चिन्ता छ । यो ऋण तिरेपछि त चिन्ता–मुक्त हुन्छु होला ।
यसरी रोडमा जुत्ता–चप्पल सिलाउन थालेको पनि १५ वर्ष भयो । एक्लै भएकाले खाए पनि नखाए पनि सोध्ने पुछ्ने कोही छैन । पेटले मागे पकाएर खाने हो । महिनाको कमाइको कुनै हिसाब किताब राख्दिन् । पसलका लागि धागो, सियो, पालिस किनेर राख्छु । नयाँ जुत्ता राख्दिनँ । फाटेका जुत्ता–चप्पल सिलाउने सामान मात्र राखेकी छु । जिन्दगी पनि च्यातिएका जुत्ता–चप्पलजस्तै टालटुल गरेर चलाइरहेकी छु ।
जिन्दगीसँग कुनै गुनासो छैन । धेरै काम गर्न सक्दिनँ । दिनभरि बसेर काम गर्दा ढाड दुखेर हैरान हुन्छु । हातका औंला सियोले घोचिएर सुनिन्छन् । एक्लै भए पनि पापी पेटले मान्दैन । मुखमा माड हाल्न पनि काम त गर्नै पर्यो । घामपानी केही नभनेर काम गर्नुपर्छ । घाम छेक्न रूखको चौतारी छँदैछ । पानी परे नगरपालिकाले दिएको एउटा बाकस र छाता छ, त्यसैको ओत लागेर काम गर्छु ।
प्रस्तुति : रूपा गहतराज
