सडकमै व्यापार गरेर दुई छोरीलाई कक्षा १२ सम्म पढाउन सकेँ
पाल्पा — गुल्मीमा जन्मेहुर्के पनि विवाहपछि पाल्पाको तानसेन–१, बराङदी खरिपानी आएँ । बराङ्दीमा श्रीमानको भागमा परेको डेढ रोपनी जग्गा थियो । तानसेन नगरपालिकाले त्यही जग्गाको बीचबाट सडक खनेपछि अहिले मेरो सानो घर पनि पहिरोको जोखिममा छ ।
घरमात्र होइन, जीवन पनि धरापमा छ । अहिले ५१ वर्षकी भएँ । कान्छी छोरीलाई साथ लाएर गुजारा चलाउन तानसेनका चोकमा तरकारी, मकै, फलफूल बेचेर १३ वर्षदेखि दुई छाकको जुगाड गरिरहेकी छु । सडक व्यापार गर्नुभन्दा अगाडि तानसेन नगरपालिकाकै टक्सारटोलमा होटल व्यवसाय गर्थें । तर, होटल पनि राम्रोसित चलेन ।
श्रीमान् बितेको ९ वर्ष भयो । होटल व्यवसाय गरेको अलिकति आम्दानी पनि श्रीमान्को उपचार गर्दागर्दै सकियो । मेरा तीन छोरीमध्ये जेठी र माहिली छोरीको विवाह भैसक्यो । कान्छी तानसेनको जनता माविमा १२ कक्षामा पढ्छिन् । सडकमै व्यापार गरेर दुई छोरीलाई कक्षा १२ सम्म पढाउन सके । माइतीको सहयोग र मेरो कमाइले जेनतेन दुई छोरीको विवाह गरिदिएँ ।
तानसेन बजारमा कोठा भाडामा लिएर बसेकी छु । यसअघि भगवतीटोल, टक्सार, लहरेपीपल, टुँडिखेल छेउमा व्यापार गररे बस्थेँ । अहिले आन्दोलन चोकमा बसेर दिनभर तरकारी, फलफूल र मकै बिक्री गरेर बेलुका कोठामा फर्किन्छु । खाना खाएर ओछ्यानमा पल्टिए पनि भोलिपल्ट बिहान फेरि त्यही काम गर्ने आतुरले हतपत निद लाग्दैन ।
तानसेन नगरपालिकाले चौपारीमा बसेर व्यापार गर्नेलाई हटाउने भनेर लखेट्छ । पहिले टुँडिखेल छेउमा बस्दा लखेट्यो । धपाउन नगर प्रहरी आउँदा मलाई घर बनाइदेऊ भन्ने गरेकी छु । मेरो जग्गामा डोजर लगाएर बाटो बनाएको रिस पोख्छु कहिलेकाहीँ ।
पछिल्लो समयमा सडकमा खुल्ला बिक्री गर्ने बढेपछि व्यापार घट्यो, तर महँगी बढेको छ । दिनमा २ हजारदेखि २ हजार ५ सयजतिको कारोबार हुन्छ । तर बचत गर्न सकेकी छैन । थोरै थोरै दिनकै सहकारीमा बचत गरिरहेकी छु । कोठाभाडा, पानी, बत्ती, खानपिन, छोरीको पढाइलगायत सबै गरेर महिनाको १५ देखि २० हजार खर्च छ । सबै कुरा किन्नु पर्छ । दिनका दिन महँगी बढेको छ । नुन, तेल, चामल, मसला, तरकारीमा पनि खर्च दैनिक महँगो भएको छ । मेरो अरु आम्दानी केही छैन ।
महिनामा यति कमाएँ भनेर हिसाब गरेर बसेकी हुन्न । मेरो खुसी भनेकै आफ्नै मिहिनेतबाट दुई छोरीलाई प्लस टूसम्म पढाएँ । उनीहरूलाई बिहेदान गरेर दिएँ । कहिलेकाहीँ धेरै कमाएँ भने बचाएको पैसा व्यापार नभएका महिनामा खर्च गर्छु । वर्षौंदेखि यस्तै सडकमा व्यापार गरेर बिताएकी छु । सम्पत्ति केही छैन । सकेँ भने कतै नयाँ घडेरी किन्ने र घर बनाउने धोको भने छ ।
गाउँको जग्गाबाट सडक लगेपछि न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिएँ । प्रशासनले तानसेन नगरपालिकामा निवेदन दिन भनेर पठायो । नगरपालिका गएर निवेदन दिए पनि सुनुवाइ भएन । त्यसपछि तानसेन नगरपालिका विरुद्ध अदालतमा मुद्दा पनि दिएकी छु । अदालतले क्षतिपूर्ति दिन भनेको छ । तानसेन नगरपालिकाले गाउँका बासिन्दालाई सडक चाहिएर खनेको भन्ने जवाफ दिएको छ । मेरो न्यायका लागि बुटवल उच्च अदालतमा पनि मुद्दा दिएकी छु । तर खासै सुनुवाइ भएजस्तो लाग्दैन । मेरो बनेको घर सडकले धरापमा पारेको छ ।
आफ्नो भन्ने गाउँमा थोरै खरबारी छ । त्यहाँ गरेर खान पुग्दैन । आफन्त दिदीको सहयोगमा तरकारी बिक्री गर्न थालेकी हुँ । मलाई घर जाम्ला, बसुँला भन्ने पनि छैन । कोठाभाडा तिर्ने र घरखर्च चलाउने पैसा कमाउन पाए पुग्छ भन्ने पनि लाग्छ । तर कहिलेकाहीँ व्यापार नहुँदा गरिखान सकिन्न कि भनेर पीर नपर्ने होइन । कहिलेकाहीँ मनमनै कुरा गर्छु । छोरीहरूको अनुहार हेरेर खुसी हुन्छु । तीन छोरी छन् । हुन त बेलाबेला सोच्छु, श्रीमान् भएको भए दुःखसुखमा आडभरोसा हुन्थ्यो ।
प्रस्तुति : माधव अर्याल
