५–६ छाक खाना नपाएको दिन पनि भोगेको छु
सुर्खेत — बासका लागि आफ्नै थलो नभएकाले वीरेन्द्रनगर–५, श्रीनगरमा भाइको घरमा आश्रित छौं । भाइ जुद्ध बसेलको आँगनमा टिनले छाएको एउटा कोठामा तीन आमाछोरा बस्छौं । आफन्तको आश्रय लिन सधैं सहज हुँदैन रहेछ । कहिलेकाहीँ भाइका परिवारले कोठा बन्द गरिदिन्छन् । त्यस्तो क्षण खोलाको किनारमा पाल टाँगेर रात काट्ने गरेका छौं ।
अहिले ४१ वर्षकी भएँ । सुर्खेतका कृष्ण नेपालीसँग १३ वर्षको उमेरमै बिहे भयो । भैरवस्थानको हाम्रो सानो घरमा बंगुर पालेका थियौं । अल्लारे जोवनमा घरबार राम्रैसित चलेको थियो । तर, पछि श्रीमान्को बाहिरफेर महिलासित सम्बन्धको विषयले घरझगडा बढ्न थाल्यो ।
१५ वर्षको उमेरमा जन्मिएको पहिलो सन्तान बाँचेन । जम्माजम्मी सात सन्तान जन्मिए पनि तीन जना मात्रै बाँचे । गर्भवती भएका बेलामा पनि श्रीमान्ले कुटपिट गर्नुहुन्थ्यो । त्यसैको असरले होला गर्भमै धेरै सन्तान गुमाउनु पर्यो । भैरवस्थानमा आफ्नो मिहिनेतको कमाइबाट एकतलाको घर बनाएकी थिएँ । श्रीमान्ले हामीलाई दुःखीमात्र बनाएनन्, त्यही घर पनि बिक्री गरेर हिँडे ।
१० वर्षदेखि श्रीमान्को अत्तोपत्तो छैन । उहाँको बाटो हेरेर घरखर्च नचल्ने भएपछि गिट्टी कुटेर र अर्काको घरमा काम गरेर तीन छोराछोरी हुर्काएँ । कहिलेकसो बजारमा ज्याला–मजदुरी गर्न पनि जान्छु । यता घरबार बिग्रिएका बेला माइतीको सहारा बुवा पनि बित्नुभयो । अनि भगवान्ले नै हामीलाई खुसी देख्न नचाहेको जस्तो लाग्यो ।
गिटी कुटेर थुपारे पनि ४ महिनादेखि बिक्री भएको छैन । तर, एक न एक दिन बिक्री हुने आसमा कुट्न छाडेकी छैन । अहिले मागेरै गुजारा चलाइरहेकी छु । गिट्टी बिक्री भएको दिन खुवाइ, नत्र रुवाइ हुन्छ । पेटभरि खान नपाएका दिन तीन कक्षामा बढ्ने १२ वर्षको छोरा बेहोस हुन्छ । २६ वर्षको जेठो छोरा बरालिएर हिँड्छ । डाक्टरले जेठो छोरामा मानसिक समस्या देखाए पनि उपचार गर्न सकेकी छैन ।
बिहान–बेलुका खान नपाउनेले छोरालाई कसरी उपचार गरुँ ! छोरीले पनि धोका दिएजस्तो लाग्छ । १० कक्षा पढ्दापढ्दै यसले वीरगन्जतिरको केटासँग बिहे गरी । त्यसपछि फर्केर आएकी छैन । सानो छोरालाई पढाउने धोको छ । मैले जति नै दुःख गरे पनि छोराछोरीले राम्रो बाटो समातेनन् ।
भोकले मान्छे खाइदिउँ जस्तो लाग्छ । ५–६ छाक खाना नपाएको दिन पनि छ । गाउँटोलका सबै काम गरेर छाकको जोहो गर्ने भएकाले एक छाक खाउँ भन्ने पनि कोही हुँदैनन् । गिट्टी कुट्ने बेला हम्मर चलाउँदा चलाउँदा हातै गल्ने भएको छ । अचेल गर्मीले गर्दा बिहान ढिला आउँछु । दिनमा घाम चर्को हुन्छ । राती सडक बत्तीको उज्यालोमा काम गर्न ठिक हुन्छ । शीतल हुन्छ । पहिलाको जस्तो काम पनि पाइँदैन ।
सुरुमा २ सय ५० सम्म रुपैयाँमा गिट्टी पनि बेचेँ । अहिले सय रुपैयाँमा लैजाउ भन्दा पनि लिँदैनन् । पहिले थुप्रै मान्छेको घरमा काम गरेर सहकारीमा ९ लाख जम्मा गरेकी थिएँ । त्यही पैसाले सानो घर जोडेकी हुँ । बुवा बित्नुभो । श्रीमान्ले अर्को बिहे गरी हिँडेपछि मलाई धेरैथरी समस्याले गिजोल्यो । छोराले मेरो उपचारको बहानामा भएको पैसा पनि उडाएछ । मैले काम गरेको दिन खान पाइन्छ, नभए भोकै बस्छु ।
सुर्खेतमा मैले धेरैका घरमा खाना पकाउने काम गरेकी छु । अरूको घरमा गएर कपडा धुन्थेँ । त्यसबापत दिने पैसाले केटाकेटी पाल्थेँ । दिनभरि जहाँ चरे पनि बेलुका आफ्नै ओतमुनि बस्न पाए हुन्थ्यो । अहिले सात वर्ष भयो टिनको छतमुनि सुत्न थालेको । सहयोगका लागि धेरै ठाउँमा कुरा गरे पनि कसैले मेरो व्यथा सुन्दैन । अहिले 'डिप्रेसन'को औषधि खान्छु ।
प्रस्तुति : ज्योति कटुवाल
