‘सम्पत्तिका नाममा यही एउटा मोबाइल’

पहिरोले हामी बसेको ठाउँ बगाएपछि जग्गाको खोजी गर्दै कहिले यता त कहिले उता भौतारिँदै बितिरहेको छ

चैत्र १३, २०८१

ठाकुरप्रसाद घिमिरे 

”This is a mobile in the name of property”

ताप्लेजुङ — म साँच्चिकै सुकुम्बासी हुँ । परिवारका सदस्यका नाममा जग्गा–जमिन केही छैन । आश्रय लाग्ने ठाउँ नभएपछि गाउँकै भगीरथ भट्टराईको घरको मचानमा बसेको छु । हामी नाङखाल्याङमा जन्मिएका हौं । बाबुबाजेले पनि त्यहीं जीवन गुजारे । त्यहाँ गौतम थरका व्यक्तिको जग्गामा बसेका थियौं ।

भगवानलाई चैन मन नपरेर त होला पहिरोले हामी बसेको ठाउँ नै बगायो । त्यसपछि जग्गाको खोजी गर्दै कहिले यता त कहिले उता भौतारिंदै बितिरहेको छ । म ५७ वर्षको भएँ । साइलो दाजु र म जीविकाको उपाय खोज्दै फुङलिङ नगरपालिकातिर पस्यौं । यहाँ ज्यालादारी, बनिबुतो गरेर परिवार पालिरहेका छौं । मेरो ठूलो छोरो र कान्छी छोरीले १२ कक्षासम्म पढे । जेठो छोरो मावलीमा बसेर पढ्यो । छोरी पनि त्यसरी नै झापामा बसेर पढिरहेकी छ । 

जेठो छोरो तीन महिनाअघि साउदी अरव गयो । कान्छो भारतमा सानिमासँगै बसेर संस्कृत पढ्दैछ । सम्पत्ति भनेको तीन सन्तान र यही एउटा मोबाइल हो । छोराले विदेश जाने बेला यो मोबाइल छोरीलाई दिएको रहेछ । छोरीले यता पठाइदिएपछि बात मार्ने मेलो भएको छ । हामी श्रीमान् र श्रीमती ज्यालादारीमा काम गर्छौं । दिनहुँ काम पाइँदैन । दाउरा काट्ने, खर काट्ने, अलैची टिप्ने, अम्रिसो थुत्ने जस्ता काम हुन्छन् । मैले दिनको पाँच सय पाउँछु । श्रीमतीले तीन सय पाउँछिन् । 

एक वर्षअघिसम्म ब्राह्मणको मृत्युको १३ औं दिनमा शैयादान लिन बोलाउँथे । त्यसबेला चामल, भाँडाकुँडा, ओड्ने ओछ्याउने र चार–पाँच सय रुपैयाँ दिन्थे । त्यसले भरथेग गर्थ्यो । अहिले अरु धेरै निस्किएर होला बोलाउन छोडेका छन् । चामल, नुन, भुटुन, साबुन, मरमसला सबैथोक किन्नु पर्छ । तरकारी चाहिँ आफैंले लगाउँछौं । त्यो किन्नु पर्दैन । अँधियाँमा खेती गरेका छौं । तर खेतीले खासै फाइदा दिंदैन । स्वास्थ्यका कारण आफू जोत्न सक्दिनँ । जोतारा र एकहल गोरुलाई दिनको १४ सय रुपैयाँ दिनुपर्छ । खेतीको कमाइले खेताला लगाउन नै हम्मे पर्छ ।

मोहीयानी हक माग्छन् भनेर होला एकै ठाउँ धेरै वर्ष बसिरहन दिंदैनन् । अहिले बसेको ठाउँमा जमिन कमाउनका लागि टन्नै छ । सबैजसो जमिन बाँझो छ । तर बाँदर रुंग्नै सकिंदैन । आँखा झिमिक पार्दा बाली सखाप बनाइदिन्छ । छोराले विदेश जाँदा ऋण गरेर गएको छ । तर मसँग दिने पनि थिएन, माग्न पनि मागेन । मावली, ठूलो बुवाका छोराहरूले पैसा लगाएर पठाएका छन् । उता ऋण तिरेपछि हामीलाई पनि पठाउला कि भन्ने लागेको छ । बुढो हुँदै जाँदा रोगले चाप्न थाल्ने रहेछ । अब ठूलो रोग लाग्यो भनेचाहिँ उपचार गर्ने उपाय छैन । अहिलेसम्म स्वास्थ्य चौकीउँदी जाँदैछु । निःशुल्क औषधि दिँदैछन् । त्यसैले औषधिमा खासै खर्च छैन । 

यसपटक छाती दुखेर १५ दिनजति सुतेँ । स्वास्थ्य चौकीले सुई लगाइदिएर निको भएँ । पहिला गाई पालेर अलिअलि दुध बिक्री गरियो । तर बस्ने ठाउँको निश्चित नहुँदा दिगो भएन । फेरि ल्याएर पाल्ने योजना बनाएको छु । समय महँगो आएछ । बुढाबुढी बजार (सदरमुकाम) गएर फर्कंदा चार सय रुपैयाँ सकिन्छ । अरु सबै गाडीमा चढ्छन्, हामीलाई लखर लखर हिँड्न पनि गाह्रो लाग्छ । लाज पनि हुँदो रहेछ । धन पनि कमाइएन, ऋण पनि लागेन । तर अब चाहिँ चिन्ता लाग्न थाल्यो । काम गर्न नसक्दा मान्छेले काममा पनि नबोलाउने रहेछन् । बिरामी परेर ओछ्यान परियो भने खाने चामल पनि नहुने रहेछ । साहुले निकाले भने कहाँ बस्ने भन्ने चिन्ता पनि छ । 

छोराछोरीले हेर्छन्, हेर्दैनन् भन्ने चिन्ता छ । छोरो त कमाउन गयो । कुटुम्ब आए छोरीको विवाह गर्नुपर्ने । पैसा छैन । दुवै जनाले गर्ने कम्तीमा दिनको हजार रुपैयाँ हुने काम पाए हुन्थ्यो भन्ने लाग्छ । तर गाउँमा त्यस्तो काम पाइँदैन । गिट्टी पनि कुट्यौं, शय्यादान पनि थाप्यौं, घरायसी काम दाउरा काट्ने, मल बोक्ने सबै गर्छौं तर दिगो गरी काम नपाइँदा समस्या छ । फेरि काम लगाउनेले पैसा पनि थपक्क दिँदैनन् । 

प्रस्तुति : आनन्द गौतम

ठाकुरप्रसाद

Link copied successfully