‘हात थाप्दा जे पाउँछु, त्यसमै रमाउँछु’

१५ रोपनीजति पाखो बारी भए पनि बाँझै छाडेको पाँच/सात वर्ष भइसक्यो

चैत्र १५, २०८१

रामबहादुर गन्धर्व

”I rejoice in what I get when I clap my hands”

गाेरखा — सारङ्गी बजाउँदै डुल्न थालेको ४० वर्ष नाघ्यो । गोरखा नगरपालिका–७ धारापानीमा बसाइ भए पनि डुल्दाडुल्दै गोरखा, लमजुङ, धादिङ र कहिले त काठमाडौंसम्मै पुग्छु । ६० वर्षको भएँ । अहिले दम रोग लागेको छ । स्वाँ–स्वाँ हुने समस्याले हिँड्न अलिक गाह्रो हुन्छ । आफूले सारङ्गी रेट्न जानेकाले पेसा छाड्न मन लाग्दैन । धुन सुनाएर हुने कमाइले तीन छोरा, श्रीमती र मैले ज्यान पालेका छौं ।

जेठो १२ र माइलो र कान्छो ११ कक्षामा पढ्दै छन् । १५ रोपनीजति पाखो बारी भए पनि बाँझै छाडेको पाँच/सात वर्ष भयो । साँझ–बिहान खाना, नयाँ लुगा र चाडबाडको खर्च सारङ्गी रेटेरै जुटाउने गर्छु । गोरखा त पूरै जिल्ला डुलिसकेँ । 

गन्धर्व समुदायका अरूले यो पेसा छाडे पनि म यसमै खुसी छु । स्कुल टेक्न पाइनँ । १७/१८ वर्षको छँदा बिहे गरेको वर्षै बुवाले आजबाट आफैं गरेर खा भनेर सारङ्गी थमाइदिए । त्यतिबेला सारङ्गी रेट्न त्यति जान्दिनथेँ । एकछिन त के गरौँ, कसो गरौँ नै भयो । सारङ्गी बोकेर खोप्लाङ पुगेँ । जानेको छैन, ट्याँट्याँ पार्दै बजाएँ । खोप्लाङका विष्टहरूले जानी नजानी बजाउँदा पनि धान/चामल दिनुभयो । त्यस बेला दुई मुरी धान बनाएँछु । पुल थिएन, दरौदी नदी तरेरै त्यो धान घर ल्याइपुर्‍याएँ । त्यस बेला नोट (पैसा)को चलन थिएन । डबल पनि कोहीले दिन्थे, कसैले दिन्नथे । चामल, धान दिए पनि दिनभर हिँड्दा १० रुपैयाँ कमाइ हुन्नथ्यो । पैसाको सारै दुःख थियो । 

सानैबाट दुःखमा हुर्किएको हुँ । यो सारङ्गी नै कमाउने बाटो बन्यो । ६० वर्ष लाग्दासम्म सारङ्गी बजाउन छाडेको छैन । घरमा त त्यही दुई–चार दिन बस्ने हो । नत्र सारङ्गी बजाउँदै गाउँ बस्ती डुल्छु । जहाँ रात पर्छ, त्यहीँ बास बस्छु । गन्धर्व हुँ बास पाउँ भन्छु, एउटा गुन्द्री र थाङ्ना दिन्छन्, पिढीमै सुत्छु । नहिँडेको दिनै नै छैन भन्दा पनि हुन्छ । अहिले जमाना फेरिएको छ । सारङ्गी बजाएपछि नोट दिन्छन् । धेरै जसोले त्यही ५, १०, २० रुपैयाँका नोट दिन्छन् । मन हुनेले एक सय, पाँच सय पनि दिन्छन् । एक सयको नोट दिँदा मन नै फुरुङ्ग हुन्छ । 

अहिले दिन पनि बढेको छ । अबेरसम्मै उज्यालै हुन्छ । कहिले त दिनमै १२/१५ सयसम्म कमाइ नि भइदिन्छ । बुढी (भगवती) दुई वर्षयता नगरपालिकाको सार्वजनिक शौचालयमा जागिरे छिन् । उनको १५ हजार तलब छ । दिसा गरेको १०, पिसाब गरेको ५ रुपैयाँ आउँछ । कति जना जान्छन्, त्यही अनुसार पैसा हुने भयो । अहिले बुढीको कमाइ बचेको छ । जीविका चलाउन यही सारङ्गी छँदै छ । पाँच जनाको परिवारलाई महिनाको ३० हजारले पुग्दैन ।

अहिलेसम्म चामल किनेको छैन, सारङ्गी बजाउँदा दिएकाले पुगेकै छ । दिनमा पाथी/१२ मानासम्म चामल जम्मा हुन्छ । तिउन–तरकारी पनि कहिले काहीँ हो, नत्र सारङ्गी बजाउँदै माग्न जाँदा पाइहालिन्छ । गोल ठूलो छ । दसैं तिहारका बेला अलिक धेरै खर्च हुन्छ । टीकाटालोमा १०/८ हजारले पनि पुग्दैन । दसैंमा दौरा, सुरुवाल र कोट नयाँ लुगा किन्ने गरेको छु । कपडा किन्दा सिलाउँदा आठ/दस हजार खर्च हुन्छ । त्यो सबै खर्च यही सारङ्गी बजाएर मागेको पैसाले नै पुगेको छ । 

हिँड्न पनि दुःख छ । सारङ्गी बजाउँदै गाउँ बस्ती डुल्दा भनेको बेला खान पाइँदैन, भनेको जसरी सुत्न पाइँदैन । सारङ्गी बजाउँदै हिँड्दा कुनै ठाउँमा राम्रै गर्छन् । कोही ठाउँमा हातखुट्टा छ, गरेर खान सक्दैनस् र के मागेर हिँड्छस् भन्दै बचन पनि लगाउँछन् । त्यस्तो बचन सुन्दा नमज्जा पनि लाग्छ । गाइनेको छोरा मागेर खान नपाउने भन्ने हुँदैन । मसला, नुन, तेल, लुगा फाटो छोराहरूलाई पढाउन खर्च बढी लाग्छ । छोराहरूले मागे भने एक/दुई सय दिनै पर्‍यो ।

बिमा गरेकाले उपचारमा त्यति खर्च छैन । बुढीको तलब चलाउन परेको छैन । अब बुढ्यौलीले हिँड्न गाह्रो हुँदै गएको छ । कुनै व्यवसाय गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । छोराहरूले सानोतिनो जागिर पाएझैं लाग्छ । मेयरसँग पनि कुरा त गरिरहेको छु । छोराहरूले जागिर खाइदिए आनन्द हुन्थ्यो । अहिले त खुट्टा चलुन्जेल मागी हिँड्यो । खान पुगेकै छ । यसमै आनन्द छ ।

प्रस्तुति : हरिराम उप्रेती

रामबहादुर

Link copied successfully