‘१० किलो चामलले महिनाभरि खान पुग्छ’

वीरगन्जमा डेरा लिएर बसेको छोरा कहिलेकाहीँ भेट्न आउँछ तर 'आमा लौ' भनेर एक पैसा दिँदैन

चैत्र १९, २०८१

सन्जु देवी  

”10 kg of rice is enough to eat for a month”

पर्सा — पुर्ख्यौली थलो बाराको कलैया उपमहानगरपालिका भए पनि ३० वर्षदेखि वीरगन्जको रामगढवामा बसोबास छ । मेरो उमेर त्यही ६५ वर्षजति भयो होला । सहारा चाहिने बेलामा एक्लै बाँचिरहेकी छु ।

१७ वर्षअघि पति रामेश्वर साहको निधन भएपछि एक्लै भएँ । उहाँलाई अचानक मस्तिष्कघात भयो । अस्पताल पुर्‍याउँदा डाक्टरले तपाईंले जति गरे पनि बचाउन सक्नु हुन्न, बरु घर लैजानूस् भने । अस्पतालबाट घर ल्याएर २ महिना उहाँको सेवा गरेँ । त्यसपछि मलाई एक्लो बनाएर सधैंका लागि गइहाल्नुभो । 

हामीबाट २ छोरी र १ छोरा जन्मिएका छन् । हुर्केपछि विवाह गरेर छोरीहरू आ–आफ्नो घर गए । अहिले छोरीहरू वीरगन्जमै छन् । छोरा सन्जय आफ्नो परिवारसित वीरगन्जमा डेरा लिएर बसेको छ । कहिलेकाहीँ भेट्न आउँछ । तर ‘आमा लौ’ भनेर एक पैसा पनि दिँदैन । सायद उसलाई नै नपुगेर होला । 

गुजाराका लागि वीरगन्जमा एक व्यवसायीको जग्गामा छाप्रो बनाएर चिया–नास्ता पसल चलाएको पनि ३० वर्ष हुन लाग्यो । पति हुँदा दुवै जनाले पसल सम्हालेका थियौं । अहिले एक्लै चलाउँछु । जग्गा भाडाबापत साहुले एक पैसा पनि लिँदैनन् । मेरो गरिबी र पीडा बरु ती साहुले बुझेका छन् । यही छाप्रो मेरो एक्लोपन हटाउने साथी र संसार भएको छ । बास र व्यापार यसमै छ । 

पुर्ख्यौली सम्पत्ति छैन । आफन्त छन् । तर अंशबन्डा भइसकेकाले पुर्ख्यौली सम्पत्तिमा मेरो कुनै हक पनि छैन । छोराछोरीको नागरिकता छ । मेरो नागरिकता अझै बनेको छैन । पति बितेपछि एकपटक १० हजार रुपैयाँ जोहो गरेर नागरिकता बनाउन गएकी थिएँ । त्यो १० हजार पनि ‘दलाल’ले खाइदिए । नागरिकता कुर्दाकुर्दै बुढ्यौली लाग्यो, अझै नेपालीे नागरिक हुन सकेकी छैन । 

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता मिलेको छैन । दुई महिनाअघि गम्भीर बिरामी परेकी थिएँ । त्यतिबेला कोही आफन्त थिएनन् । हातखुट्टा टेकेर अस्पताल पुगेर औषधिमूलो गरेपछि तङ्ग्रिएँ । लामै समय थलिएँ भने कसले हेर्ला भन्ने चिन्ता लागिरहन्छ । अहिले दुवै घुँडामा बहुत पीडा हुन्छ । ढाड पनि बेस्सरी दुख्छ ।

पसलमा दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्मको व्यापार हुन्छ । ८ सयदेखि १ हजार रुपैयाँसम्म व्यापार भए मुस्किलले २ सय रुपैयाँ नाफा बच्छ । पहिले स्थानीयको घरमा भाँडा–बर्तन माझेर, लुगा धोएर पनि थप कमाइ हुन्थ्यो । अहिले त्यस्तो काम गर्न सक्दिनँ । बरु, उमेरमा सेवा गरेका व्यक्तिले बिरामी पर्दा वा गाह्रो–साह्रो हुँदा उपचार खर्च दिन्छन् । पराय बरू आफ्ना भएका छन् । 

महिनाभरका लागि १० किलो चामल भए खान पुग्छ । चिया–नास्ता पकाइराख्नु पर्ने भएकाले रासनमा खासै खर्च छैन । मासिक करिब ३/४ हजार रासनमा खर्च हुन्छ । माइती वीरगन्जकै लालपर्सामा छ । बुवा–आमा हुँदासम्म बोराका बोरा चामल ल्याइदिन्थे । अहिले भाइबुहारी छन् । यदाकदा उनीहरूले थोरबहुत चामल ल्याइदिन्छन् । वर्षमा २/३ पटक कपडा पनि दिन्छन् । 

वर्षायाममा यही छाप्रो पनि डुबानमा पर्छ । त्यति बेला पसल बन्द हुन्छ । म एक/दुई महिना छिमेकीहरूको घरमा शरण लिन्छु । जीवन नै घरबारबिहीन भएर बितेकाले होला, मलाई आफ्नै घर भई दिए हुन्थ्यो जस्तो लाग्छ । दुई धुर जग्गामा भए पनि आफ्नै सानो पक्की घर होस् । जहाँ म शान्तिपूवर्क बस्न सकूँ । म त सपना र बिपना पनि आफ्नै पक्की घरमा सुतेको मात्र देख्छु । अब कति नै बाँचिएला र ! यो जुनीमा मेरो आफ्नै घर बनाउने सपना पूरा हुने छाँटकाँट छैन । 

प्रस्तुति : शंकर आचार्य

सन्जु

Link copied successfully