‘बालिघरे बाहेकको काम गर्दा ज्याला लिन्छु’

दलित समुदायमा बालबालिका विद्यालय पठाउनु पर्छ भन्ने चेतना नै थिएन

चैत्र २०, २०८१

टोपबहादुर विश्वकर्मा

”I get paid for doing work other than childcare”

अर्घाखाँची — परिवारको विपन्न अवस्थाले गर्दा बाल्यकालमा अक्षरसम्म चिन्न पाइनँ । बुवा फलाम पिटेर औजार बनाउँथे । आमा घरधन्दा गर्थिन् । उब्जनी र आम्दानी दुवै नभएपछि १६ वर्षकै उमेरमा भारतमा मजदुरी गर्न गएँ ।

कहिले घर र कहिले भारतमा नोकरीमा आउजाउ गर्ने क्रममा बिहेवारी पनि भयो । श्रीमतीले यता घरधन्दा गर्थिन् । त्यसका लागि मैले भारतबाट घरखर्च पठाउँथे । परदेशमा कमाएको दुई/चार पैसा खाद्यान्न, नुन, तेल किन्न ठिक्क हुन्थ्यो । मेरा दुई छोरा र दुई छोरी छन् । 

दलित समुदायमा बालबालिका विद्यालय पठाउनु पर्छ भन्ने चेतना नै थिएन । कथित उपल्लो जातिका र हुने खानेका छोराछोरीमात्रै स्कुल जाने गर्थे । समय परिवर्तन हुँदै गयो । लेखपढ गरेकाको गाउँमा सान, मान बढ्दै गयो । उतिबेला मसितै नोकरी गर्न जाने धेरै थिए । घर फर्किंदा मेरो झोलाभरि अरुका चिठीपत्र र पार्सल हुन्थे । नातेदार वा नजिकका साथीभाइका मात्रै सरसामान, मिठाई, जिरा लगायतका सामान ल्याइदिन्थेँ । भारत छँदा मैले पनि पढेलेखेका व्यक्तिसित चिठी लेख्न लगाउँथेँ । यता बुवाआमाले पढे लेखेको मान्छे खोजेर चिठी पढ्ने र लेखाएर पठाउँथे । 

१० वर्ष भारतमा बसेर आफ्नै गाउँ भूमिकास्थान नगरपालिका–९ ढिकुरा फर्किएँ । आफूले दुःख पाएको सम्झिएर छोराछोरीलाई पढाएँ । जेठो छोरो र छोरीको विवाह भइसकेको छ । यहाँ आएपछि बुवाले गर्दै आएको फलाम पिट्ने काम थालेँ । 

अर्काको देशमा नोकरी गर्न नजाने अडान लिएँ । तर, मेरै श्रीमती यहाँ केही भएन भनेर कुवेत गइन् । अहिले म घरमा एक्लै बस्छु । गाउँमा राम्रो घर बनाउन र छोराछोरी पढाउन श्रीमती कुवेत गएको साढे ३ वर्ष भयो । अब आउने बेला हुन लाग्यो । त्यहाँ श्रीमतीले महिनाको ६० हजार रुपैयाँ कमाइ गर्छिन् ।

गाउँमा बालिघरे प्रथा व्यापक थियो । हँसियाँ, कोदालो, बन्चरो, दाबु लगायतका घरेलु हतियार बनाउने र पिट्ने गरेबापत अन्नपात, चाडपर्वमा दूध, घ्यू र अलि धनीमानीले कहिलेकाहीँ कपडासम्म दिन्छन् । फलाम पिटेर गाउँमा मानापाथी गरेर उठाएको अन्नले आँटीको धन्सारमा थुपारेर वर्षभरिलाई खाने खर्च जुटाउनु पर्थ्यो । 

छोराछोरीलाई पनि त्यही खर्चबाट सरकारी स्कुल पठाएँ । उनीहरूले पनि राम्रोसँग पढे । जानेको सीप र पुर्ख्यौली पेसा अहिले पनि छाडेको छैन । शरीरले सक्दासम्म गर्छु । २०७३ सालमा आधुनिक आरनको तालिम पाएँ । त्यसले अलि सजिलो बनायो । अहिले मेरा २० जना बालिघरे छन् । वर्षभरि उनीहरूको हँसियाँ, कोदालो, बन्चरो लगायत घरेलु औजार बनाउँछु । त्यसबापत र पिट्ने काम गरेर गहुँ, मकै, चामलसहित खाद्यान्न दिन्छन् । २० घरमा बटुलेको अन्नपात घरमा राख्छु । वर्षदिन त खान पुग्दैन । पुर्ख्यौली पेसा पछिल्लो समय व्यवसाय पनि बन्दै गएको छ । 

बालिघरे बाहेक अरुको काम गर्दा ज्याला लिन्छु । हँसियाँ पिटाएको ५०, कोदालो ५०, बन्चरो १ सय, गल १ सय, तरकारी काट्ने चक्कुको २० रुपैयाँमा फलाम फिट्छु । नयाँ बनाएर बेच्दा दुई/तीन सय पारिश्रमिक लिन्छु । फलाम फिटेर महिनामा १० देखि १५ हजार रुपैयाँ कमाइ गर्छु । नगद आम्दानी भएका दिन मासु ल्याएर खान्छु । एक्लो ज्यानलाई धेरै चाहिँदैन । त्यही दाल र तरकारी नै मिठो लाग्छ । 

मैले बिहान–बेलुका फलाम पिट्ने र काम गर्दा भूमिकास्थान नगरपालिकाले पनि बेलाबेलामा काम दिन्छ । फुर्सदमा ज्यालादारी काम गर्छु । सडक सफा गर्ने, नाली काट्ने लगायतको काम हुन्छ ।

श्रीमान्–श्रीमती सँगसँगै बस्ने इच्छा कसलाई हुँदैन र ? के गर्ने समय परिस्थिति अनुसार घरपरिवार चल्न पैसा पनि चाहियो । एउटा घर पनि चाहियो । पेट पाल्न सजिलो छैन नि ! 

प्रस्तुति : वीरेन्द्र केसी

टोपबहादुर

Link copied successfully