दलित समुदायमा बालबालिका विद्यालय पठाउनु पर्छ भन्ने चेतना नै थिएन
अर्घाखाँची — परिवारको विपन्न अवस्थाले गर्दा बाल्यकालमा अक्षरसम्म चिन्न पाइनँ । बुवा फलाम पिटेर औजार बनाउँथे । आमा घरधन्दा गर्थिन् । उब्जनी र आम्दानी दुवै नभएपछि १६ वर्षकै उमेरमा भारतमा मजदुरी गर्न गएँ ।
कहिले घर र कहिले भारतमा नोकरीमा आउजाउ गर्ने क्रममा बिहेवारी पनि भयो । श्रीमतीले यता घरधन्दा गर्थिन् । त्यसका लागि मैले भारतबाट घरखर्च पठाउँथे । परदेशमा कमाएको दुई/चार पैसा खाद्यान्न, नुन, तेल किन्न ठिक्क हुन्थ्यो । मेरा दुई छोरा र दुई छोरी छन् ।
दलित समुदायमा बालबालिका विद्यालय पठाउनु पर्छ भन्ने चेतना नै थिएन । कथित उपल्लो जातिका र हुने खानेका छोराछोरीमात्रै स्कुल जाने गर्थे । समय परिवर्तन हुँदै गयो । लेखपढ गरेकाको गाउँमा सान, मान बढ्दै गयो । उतिबेला मसितै नोकरी गर्न जाने धेरै थिए । घर फर्किंदा मेरो झोलाभरि अरुका चिठीपत्र र पार्सल हुन्थे । नातेदार वा नजिकका साथीभाइका मात्रै सरसामान, मिठाई, जिरा लगायतका सामान ल्याइदिन्थेँ । भारत छँदा मैले पनि पढेलेखेका व्यक्तिसित चिठी लेख्न लगाउँथेँ । यता बुवाआमाले पढे लेखेको मान्छे खोजेर चिठी पढ्ने र लेखाएर पठाउँथे ।
१० वर्ष भारतमा बसेर आफ्नै गाउँ भूमिकास्थान नगरपालिका–९ ढिकुरा फर्किएँ । आफूले दुःख पाएको सम्झिएर छोराछोरीलाई पढाएँ । जेठो छोरो र छोरीको विवाह भइसकेको छ । यहाँ आएपछि बुवाले गर्दै आएको फलाम पिट्ने काम थालेँ ।
अर्काको देशमा नोकरी गर्न नजाने अडान लिएँ । तर, मेरै श्रीमती यहाँ केही भएन भनेर कुवेत गइन् । अहिले म घरमा एक्लै बस्छु । गाउँमा राम्रो घर बनाउन र छोराछोरी पढाउन श्रीमती कुवेत गएको साढे ३ वर्ष भयो । अब आउने बेला हुन लाग्यो । त्यहाँ श्रीमतीले महिनाको ६० हजार रुपैयाँ कमाइ गर्छिन् ।
गाउँमा बालिघरे प्रथा व्यापक थियो । हँसियाँ, कोदालो, बन्चरो, दाबु लगायतका घरेलु हतियार बनाउने र पिट्ने गरेबापत अन्नपात, चाडपर्वमा दूध, घ्यू र अलि धनीमानीले कहिलेकाहीँ कपडासम्म दिन्छन् । फलाम पिटेर गाउँमा मानापाथी गरेर उठाएको अन्नले आँटीको धन्सारमा थुपारेर वर्षभरिलाई खाने खर्च जुटाउनु पर्थ्यो ।
छोराछोरीलाई पनि त्यही खर्चबाट सरकारी स्कुल पठाएँ । उनीहरूले पनि राम्रोसँग पढे । जानेको सीप र पुर्ख्यौली पेसा अहिले पनि छाडेको छैन । शरीरले सक्दासम्म गर्छु । २०७३ सालमा आधुनिक आरनको तालिम पाएँ । त्यसले अलि सजिलो बनायो । अहिले मेरा २० जना बालिघरे छन् । वर्षभरि उनीहरूको हँसियाँ, कोदालो, बन्चरो लगायत घरेलु औजार बनाउँछु । त्यसबापत र पिट्ने काम गरेर गहुँ, मकै, चामलसहित खाद्यान्न दिन्छन् । २० घरमा बटुलेको अन्नपात घरमा राख्छु । वर्षदिन त खान पुग्दैन । पुर्ख्यौली पेसा पछिल्लो समय व्यवसाय पनि बन्दै गएको छ ।
बालिघरे बाहेक अरुको काम गर्दा ज्याला लिन्छु । हँसियाँ पिटाएको ५०, कोदालो ५०, बन्चरो १ सय, गल १ सय, तरकारी काट्ने चक्कुको २० रुपैयाँमा फलाम फिट्छु । नयाँ बनाएर बेच्दा दुई/तीन सय पारिश्रमिक लिन्छु । फलाम फिटेर महिनामा १० देखि १५ हजार रुपैयाँ कमाइ गर्छु । नगद आम्दानी भएका दिन मासु ल्याएर खान्छु । एक्लो ज्यानलाई धेरै चाहिँदैन । त्यही दाल र तरकारी नै मिठो लाग्छ ।
मैले बिहान–बेलुका फलाम पिट्ने र काम गर्दा भूमिकास्थान नगरपालिकाले पनि बेलाबेलामा काम दिन्छ । फुर्सदमा ज्यालादारी काम गर्छु । सडक सफा गर्ने, नाली काट्ने लगायतको काम हुन्छ ।
श्रीमान्–श्रीमती सँगसँगै बस्ने इच्छा कसलाई हुँदैन र ? के गर्ने समय परिस्थिति अनुसार घरपरिवार चल्न पैसा पनि चाहियो । एउटा घर पनि चाहियो । पेट पाल्न सजिलो छैन नि !
प्रस्तुति : वीरेन्द्र केसी
