‘कमाइले पुगेका दिन छोरीहरूलाई सँगै राखेर पढाउने मन छ’

खेतीपातीले दुई/तीन महिनाभन्दा बढी खान नपुग्ने भएकाले कति दिन त छोरीहरूलाई मात्र खुवाएर आफू भोकै सुत्यौं

फाल्गुन १४, २०८१

जमना राेकाय

”I want to keep my daughters together and teach them the day I reach my earnings”

बाजुरा — जेठी छोरीले नागरिकता हेरेर ५० वर्ष पुग्यौ आमा भनेपछि मात्रै यति धेरै उमेर भइसकेको थाहा भो । बाजुराको गौमुल गाउँपालिका कौडाकोटमा जन्मिएकी मलाई सानैमा विवाह भएको मात्र सम्झना छ । बिहे गरेर गएको आठ वर्षमै श्रीमान् बितेपछि एक्लै दिन काटिरहेकी थिएँ ।

संयोग भनौं, आठ वर्षअघि बझाङको मष्टा गाउँपालिकाका–७, लटौनका जोगगिरी बोहरासँग भेट हुँदा के कुराले मन छोयो कुन्नि ? उनैसित विवाह गरेर घरमा आएपछि मात्रै पहिल्यै श्रीमती र ६ वटी छोरी रहेको थाहा भयो । छोरा जन्मिन्छ कि भन्ने आशामा पो मलाई भित्र्याएका रहेछन् । 

सौतामाथि आएको थाहा पाएर पनि फर्किन लाज लाग्यो । भाग्य नै यस्तै रहेछ भनेर चित्त बुझाएँ । मबाट पनि तीन छोरी जन्मिएपछि परिवारका सदस्यको संख्या बढेर दर्जन पुग्यो । खेतीपातीले दुई/तीन महिना नपुग्ने अवस्थामा त्यतिका छोरी कसरी पाल्नु ? कति दिन छोरीहरूमात्र खुवाएर आफू भोकै सुत्यौं । धेरै चोटि त छोरीहरू बोकेर नदीमा हाम फालौंजस्तो लागे पनि त्यसो गर्न सकिनँ ।

आफैंले हुर्काउन नसकेपछि के गर्नु, पढाउने र पाल्ने सर्तमा छोरीहरू अरुको जिम्मा लगाउन थाल्यौं । जेठीबाट जन्मिएकी एउटा छोरीको विवाह भइसकेको छ । अरु दुई छोरी चैनपुरको एक होटल र अर्की एक जना स्वास्थ्यकर्मीको घरमा काम गर्दै पढिरहेका छन् । कलिलै तीन छोरी गाउँमै हुर्किरहेका छन् । 

मबाट जन्मिएकी जेठी छोरी बझाङकै एक जना दिदीको घरमा काम गर्दै पढिरहेकी छ । चैनपुरका होटलमा भाँडा माझेर आफैंले दुई छोरी पढाइरहेकी छु । दैव सन्जोगले लटौनबाट चैनपुर आउन पाएर पौरख गर्न सकेकी छु । तीन वर्षकी माइली छोरीलाई पाल्न नसकेर काठमाडौंका एक व्यापारीलाई जिम्मा लगाएकी थिएँ । ती व्यापारीले बोल्न नसक्ने छ भनेर दुई सातामै फर्काइदिए । त्यो खबर कान्तिपुर पत्रिकाले लेखेपछि काठमाडौंकै प्रभात योन्जन दाइले छोरीहरूलाई पढाउन महिनाको पाँच हजार दिन्छु भन्नुभयो । उहाँको सहयोगले नै मैले चैनपुर बस्ने आँट गरेकी हुँ । 

अहिले दुवै छोरी बाल मन्दिर स्कुलमा पढिरहेका छन् । प्रभात दाइले पठाउने खर्चबाहेक होटलमा भाँडा माझेर महिनाको हजारजति म पनि कमाउँछु । २५ सय तिरेर भाडामा कोठा लिएकी छु । छोरीका लागि कापी–किताब, लत्ता–कपडादेखि खानेकुरा सबै यसैबाट जुटाएकी छु । महिनाको २५ सय जति चामल र पिठो किन्दा जान्छ । तीन हजारजति दाल तरकारीमा खर्च हुन्छ । बिस्कुट, चाउचाउ नदिए छोरीहरू स्कुल जाँदैनौ भनेर रुन्छन् । उनीहरूलाई दिनको २०/२० रुपैयाँ दिए पनि महिनाको हजार/बाह्र सय गैहाल्छ । गत माघमा दुवै छोरीलाई दुई–दुई हजारका नयाँ लुगा हालिदिएँ । गत दसैंमा आफ्ना लागि १५ सयका लुगा किनेकी थिएँ । तिनै पुराना लुगा टालटुल पारेर लाउने गरेकी छु । कसैले पुराना लुगा दिए पनि काम चलाउँछु । 

कान्छी छोरी मासुकी भोगी भएकाले महिनाको एक/दुईपटक दुई सयको मासु किन्छु । ५० रुपैयाँ लिटर मही भने हप्तामा दुईपटक किनेर खान्छौं । छोरीलाई आफुसँगै बजार लैजान पनि डरै लाग्छ । कहिले अनार त कहिले स्याउ किनिदेऊ भनेर जिद्दी गरेर बजारमा छोरी रोएको देख्दा मुटु चर्किन्छ । श्रीमान् इन्डियाको खडीखान (खरिढुंगा खानी) मा काम गर्न गएका छन् । दारुपानी खाने बानी भएकाले कमाएको बचाउँदैनन् । गाउँमा समस्या पर्‍यो भने बरु मैले नै पैसा पठाउँछु । 

अपुग भएका बेला होटल साहुसित सापटी मागेर काम चलाउने गरेकी छु । साहु र साहुनीले पनि मागेका बेला अहिलेसम्म छैन भन्नु भएको छैन । तलब बढाएर १० हजार बनाइ दिन्छु भन्नु भएको छ । तलब बढेपछि छोरीहरूलाई सरकारीबाट झिकेर बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्छ कि भन्ने सोचेकी छु । छोरीको भविष्य राम्रो हुन्छ भने म जति पनि दुःख गर्न तयार छु । जेठी छोरीसँग भेट नभएको तीन वर्ष भयो । फोनमा बोली सुन्दा माया लाग्छ । काखमा राख्न मन लाग्छ । कमाइले पुगेका दिन तीन छोरीलाई साथै राखेर पढाउने र आफ्नै हातले पकाएर खुवाउने इच्छा छ । 

प्रस्तुति : वसन्तप्रताप सिंह

जमना

Link copied successfully