‘घर बनाउँदाको ७ लाख रिन पासो बनेको छ’

दिनमा सय घोगा मकै किनेर साइकलको टोकरीमा भरेपछि माइक घन्काउँदै बिक्री गर्न हिँड्छु

फाल्गुन ११, २०८१

कुमारी सुनार

”The 7 lakh rin of building a house has become a trap”

बुटवल — बिहान ३ बजे उठेर काममा निस्कने बेला साइकलको घन्द्र्याङ–घुन्द्रुङले मस्त निन्द्रामा रहने छोराछोरी बिउँझिन्छन् कि भनेर सुस्तसुस्त घरबाट बाहिरिन्छु । त्यसपछि चितवनबाट गाडीले ओसार्ने मकै खरिद गर्न भनेर साइकल कुदाएर बुटवल बसपार्क पुग्छु । त्यहाँ गाडीले झारेका मकैका राम्रा घोगा रोजेर पैसा बुझाएपछि गल्ली–गल्ली डुल्न सुरु भइहाल्छ ।

अहिले म ३० वर्षकी भएँ । मेरा दुई सन्तान छन्- छोरा र छोरी । उनीहरूको देखभाल गरेर पैसा कमाउन निस्किनुपर्छ । 

श्रीमान् र मैले गाउँबस्तीका घरघर डुलेर मकै बेच्ने काम गर्छौं । दिनमा सय पिस मकैका घोगा किनेर साइकलको टोकरीमा भरेपछि माइक घन्काउँदै बिक्री गर्न टोलटोलमा जान्छौं । २० रुपैयाँ गोटा किनेर ल्याएर २५ रुपैयाँमा बेच्छौं । एउटा मकैमा ५ रुपैयाँका दरले मिल्ने नाफा नै हाम्रो कमाइ हो । बुटवल–११, बुद्धनगरमा रहेको सुकुम्बासी बस्तीमा बसोबास भएकाले ठ्याक्कै कमाइको अरु बाटो छैन । 

पर्वतमा जन्मिहुर्केपछि उतै बिहेबारी गरेर हातमुख जोर्ने उपाय खोज्दै बुटवल झर्‍यौं । यहाँ आएपछि साँझ–बिहानका लागि रासनपानी जुटाउनै धौ भइरहेको छ । 

अवसरको खोजीमा पहाडबाट बसाइँ सरेर आउनेले भरिएको बुटवलमा सुरुमा दुवै जनाले ज्याला मजदुरी गर्‍यौं । ५ वर्षयता भने मकै बिक्री गरिरहेका छौं । फिरन्ते व्यापारका लागि भनेर दुई हजार तिरेर ‘सेकेन्ड ह्यान्ड’ साइकल किनेँ । बासी भयो भनेर ग्राहकले किन्न नमान्ने भएकाले साइकलको टोकरी र बोरामा घोगा भरेर जतिसक्यो धेरै बेच्नुपर्छ । घाम, पानी, जाडो र गर्मी भन्न पाइँदैन । त्यही मकै नपाएका बेला भने घरमै बस्नुपर्छ । ताजा मकै बिक्री गर्न दिनहुँ ३५ किलोमिटर जति यात्रा गर्नुपर्छ । केहीगरी साँझसम्म मकै बिकेन भने परल मूल्यमा बेचेर हिँड्छु । 

दिनमा सरदर कमाइ हुने त्यही ५ सय रुपैयाँले साँझ तरकारी, दाल, तेल किनेर घर फर्किन्छु । अहिले रासनको मूल्य अचाक्ली छ । एक बोरा चामलको दुई हजारदेखि २६ सयसम्म पर्छ । त्यो पनि १ महिना पुग्दैन । एक लिटर तेलको २ सय ६० पर्छ । तरकारीको मूल्य दिनदिनै फेरिइरहन्छ । सातामा त्यही दुई छाक तरकारी खान्छौं । एक किलो दाल किन्दा २/३ सय सकिन्छ । मेरो आर्जन अपुग हुँदा श्रीमानले कमाएको पनि रासनपानी किन्दै सकिन्छ । बाबुनानीका लागि चाहिने कापी किताब, लत्ताकपडा र स्कुलको फिस तिर्न कठिनाइ भइरहेको छ । 

छरछिमेक र आफन्तसित ७ लाख रिन खोजेर बुद्धनगरमा ब्लकको गारो र टिनको छानो हालेर ओत लाग्ने ठाउँ तयार गर्‍यौं । अहिले त्यही रिन पासो बनेको छ । अलिकति बचत पनि रिन तिर्दै ठिक्क हुन्छ । दुःख गरेर जति कमाए पनि सुको बचत हुँदैन । मसँग एकसरो साडी पनि छैन । विवाह, व्रतबन्ध र पूजामा जानुपरे छिमेकीसित मागेर लगाउँछु । किनेर लाउने अवस्था नभएकाले लाज पचाएरै मागेर गुजारा चलाउँछु । सबै गरेर तीन जोर कपडाले चलाएकी छु । 

बिरामी पर्दा अस्पताल जान पैसा नहुने भएकाले रोग खटाएर बस्छु । सबेरै हिँड्नका लागि बेलुका नै पकाएर राख्ने गरेका छौं । ठूला भइसकेका छोराछोरीले पकाएर खाइदिन्नन् । साँझ आएर मैले पकाएर सबै बसेर खान्छौं । दिनभरि कुदेर एक कप चिया पिउन पनि सोच्नुपर्छ । 

तिनाउ खोला छेउमा घर भएकाले वर्षामा उठीबास लाग्छ । मलाई सुकुम्बासी बस्ती छाडेर बजारतिर जग्गा किनेर सर्न मन छ । छोराछोरीले आफैं पढ्ने र काम सिक्ने नगर्दिंदा पीडा हुन्छ । ८ सय रुपैयाँ तिरेर किनेको टुकटुके मोबाइलबाट हेलोहाय गर्न मिल्छ । राम्रा कपडा लगाएर घुम्न जाने र मिठो खाने रहर कसको नहोला ? तर, यस्तो रहर कहिले पूरा होला र ? 

प्रस्तुति : सन्जु पौडेल

घरखर्च

कुमारी

Link copied successfully