काठमाडौँ — बर्दियाको राजापुर नगरपालिका- १ मा मेरो घर छ । ३४ वर्षको भएँ । ज्यामी पेसामा लागेको १८ वर्ष भयो । अहिले काठमाडौंमै काम गरिरहेको छु । कामको खोजीमा यहाँ आएको पनि ६ वर्ष बित्यो ।
बुबाको अनुहार कस्तो थियो, याद छैन । म चार वर्षको हुँदा नै बुबा बित्नुभएको हो । विद्यालय जाने उमेर नपुग्दै बुबाको अभिभावकत्व गुम्यो । उहाँको मृत्यु भएकाले घरपरिवारको आर्थिक स्थिति पनि कमजोर भयो । पढ्ने इच्छा थियो तर आर्थिक अभावले स्कुल जान पाइनँ ।
मभन्दा जेठा एक दिदी र एक दाइ छन् । मलाई दाइले खेती किसानी गरेर हुर्काए । म १३ वर्षको हुँदा दाइको हात मेसिनले छिनाल्यो । बुबापछिका अभिभावक दाइ अशक्त भए। दाइको अशक्ततासँगै खानाको जुगाड गर्न हम्मे-हम्मे पर्यो ।
मैले किशोरावस्था पार गरेसँगै ज्यामी काम गर्न इन्डिया जानुपर्यो । १२ वर्ष इन्डियामा काम गरेर अशक्त दाइ र परिवारलाई हेरेँ । इन्डियामा काम गरेर घरखर्चसँगै गाउँमा एक कट्ठा जग्गा किनेँ । त्यसै जग्गामा टहरो हालेँ । त्यो कच्ची घरमा चार कोठा थिए, दुई कोठामा दाइ-भाउजूको परिवार र दुई कोठा मेरो परिवारलाई ।
हाल दाइ भाउजू गाउँमै बस्नुहुन्छ । २०७४ मा मैयाकुमारी थारु र मेरो प्रेमविवाह भएको हो । त्यसपछि श्रीमान्-श्रीमती राजधानी आएका हौं । म, श्रीमती र चार वर्षको छोरा यतै बस्छौँ । छोरालाई स्कुल पठाएको छु । काठमाडौं टोखा नगरपालिकाको सामुदायिक स्कुलमा बाबुले नर्सरीमा पढ्दै छ । छोरालाई बोर्डिङमा पढाउने इच्छा थियो तर पढाउन सक्ने आर्थिक अवस्था छैन ।
काम नपाउँदा कहिलेकाहीँ छाक कसरी टार्ने भन्ने हुन्छ । बोर्डिङ पढाउन रहर गरेर मात्र के गर्नु । तर, सामुदायिक स्कुलमा भए पनि 'राम्रो पढेको छ भन्नु हुन्छ' मिसले, त्यो सुन्दै मनमा खुसी लाग्छ । चार वर्षको छोराले अक्षर चिन्दा र आवाज निकालेर पढ्दा खुसी लाग्छ । मैले अक्षर नचिने पनि छोरालाई पढाउन र अक्षर चिनाउन पाएकामा खुसी छौँ ।
काठमाडौंमा सुरुवाती दिनमा काम पाउन निकै गाह्रो भयो । बिस्तारै मान्छे चिन्दै गएँ र हात पनि खाली रहेन । अहिले त ज्याला मजदुरीको काम पाइराख्छु ।
हामी सधैँ डेरामा बस्दैनौँ । धेरैजसे हामी नयाँ घर बनाउने ठाउँमा घर कुरुवाका रुपमा सानो टहरो बनाएर बस्छौं । त्यसरी बस्दा बनिरहेको घरमा पानी हाल्ने काम पनि मिल्छ । त्यस्तो काम गर्दा थप १० हजार हात पर्छ । घर निर्माण सकिने बेलासम्म हामीलाई बस्न सजिलै हुन्छ । कतिपय मनकारी घरसाहुले त पानी-बत्तीको पैसा पनि तिरिदिन्छन् । माया मान्ने साहु भए ग्यास पनि भरिदिन्छन् ।
मसित पैसा नभएका बेला कहिले सँगै काम गर्ने साथीहरूसँग त कहिले साहुसँग ऋण गरेर भए पनि दाइलाई महिनाको आठ-दस हजार पठाउँछु । गाउँमा दाइ, भाउजू र छोरी छन् । दाइलाई औषधि उपचार, छोरीलाई पढाउले खर्च, घरखर्चका लागि आम्दानीको स्रोत नभएकाले मैले नै बेहोर्छु ।
छोरा जन्मिनुभन्दा पहिले श्रीमतीले पनि फुर्सदका बेला काम गरेर धेरैथोरै पैसा कमाउँथिन् । तर अहिले छोरा सानै भएकाले काम गर्न पाउँदिनन् । बाहिर बस्दा घरभाडा तिर्न, पानी-बत्ती, घरखर्च, ग्यास किन्नुपर्दा खर्च धेरै छ । गाउँमा दाइको परिवारलाई पठाउने पैसा नपुगेर कहिलेकाहीँ छटपटी हुन्छ ।
हाम्रो दसैं र माघीमा धेरै खर्च हुन्छ । तर दसैंका बेला घर नगएको धेरै वर्ष भयो । दसैंका बेला बस भाडा महँगो हुन्छ । कमाएको पैसाले घरखर्च धान्नै गाह्रो हुन्छ भने दसैंमा झन् खर्च बढ्छ । दसैंमा रमाइलो त गाउँमै हुन्छ तर घर जाने र आउने बस भाडाको पैसाले मात्रै पनि काठमाडौंमा पूरै दसैं मनाउन पुग्छ ।
दसैंका बेला ऋण खोजेरै भए पनि म र श्रीमतीलाई पनि नयाँ कपडा किन्छौं । छोराका लागि भने आफ्ना खुसी बन्धकी राखेरै बेलाबेला नयाँ लुगा किनिदिने गरेको छु । पुरा हुने भए पो ठूला सपना देख्ने ! पूरै नहुने भएपछि सपना पनि देखिँदो रहेनछ । म त सपनै देख्दिनँ । मैले काम पाएका बेला महिनामा ३० हजार कमाउँछु । निर्माण गर्दै गरेको घर कुर्न पाइयो भने थप १० हजार कमाइ हुन्छ ।
अहिले बन्दै गरेको घर बनिसकेपछि कहाँ जाने होला भन्ने सम्झिँदा मात्रै पनि टाउको दुख्छ । अब वैशाखदेखि त काम नपाए गाउँ जाने सोच्दै छु । छोरालाई भर्ना गर्न पनि सजिलो हुने । गाउँमा त खासै काम पाइँदैन, छोरा र बूढीलाई गाउँमा राखेर म भारत जाने सोच बनाउँदै छु । नेपालमा नै काम पाए त जान्नँ । पाउँदै पाइएन भने अन्तिम उपाय भारत जाने हो ।
गाउँ काठमाडौंजस्तो महँगो हुन्न । पाँच-छ हजार भए ढुक्कसँग पुग्छ । घरभाडा तिर्न पनि पर्दैन, आफ्नै टहरो छँदैछ । यहाँ ग्यासकै दुई हजार पर्छ, चामल र तेलदालको के कुरा गर्नू ! ४० हजार कमाउँदा पनि कत्ति पनि बच्दैन । काम नहुँदा निन्द्रा लाग्दैन । घरभाडा, रासन खर्च, छोरालाई कापी-कलम, दाइलाई कोसँग सापटी मागेर खर्च पठाउने भन्ने सोच्दासोच्दै उज्यालो हुन्छ ।
मसँग उति ठूलो सपना छैन । मेरो सपना भनेकै काम पाइराखुँ, खाली बस्न नपरोस् भन्ने नै हो । किनकि, खाली बस्यो भने बिहान-बेलुका के खाने भन्ने चिन्ता हुन्छ ।
प्रस्तुति : आरती पौडेल (प्रशिक्षार्थी)
