१० वर्षको उमेरमै हतियार बनाउन सिकेकाले अहिलेसम्म यही पेसामा टिकेको छु
पाँचथर — फिदिम नगरपालिका–११ फेवादिनमा २०१५ सालमा जन्मिएको हुँ । हाम्रा पालामा ‘कामी-दमाई’ले पढ्नु हुँदैन भन्ने सामाजिक मान्यता थियो । तैपनि, पढ्छु भनेर जिद्दी गरेरै एक/दुई दिन स्कुल गए पनि कक्षाकोठामा ‘विष्ट’का छोराछोरीसँग बस्न पाइन्न भनियो । त्यस्तो भनाइले मन मरेपछि घरमा भएको आरन नै मेरो हुर्काइबढाइको पाठशाला बन्न पुग्यो ।
कान्छा हजुरबुवाले यही आरनमा फलाम पिटेर हँसिया, कुटो-कोदालोजस्ता औजार बनाउनु हुन्थ्यो । म आसपास खेल्दै बाजे भनेर बोलाउँदै आरन तान्न उहाँलाई सघाउन थालेँ । १० वर्षको उमेरमा नै हतियार बनाउन सिकेकाले अहिलेसम्म यही पेसामा टिकेको छु ।
६४ वर्षे उमेरमा पनि दिनभर आरनमा फलाम पिटेर औजार बनाउन र पुराना हतियारमा साँध लगाउन व्यस्त हुन्छु । यो काम पनि सजिलो कहाँ पो छ र ? आगोमा फलाम तताएर पिट्दै हतियारको आकार दिन जति अप्ठ्यारो छ, त्यति नै आवश्यक सामग्री जुटाउन कठिन पनि ।
हामी हुर्किने बेलासम्म फलाम बोक्न भारतको दार्जिलिङसम्म पुग्नु परेको याद छ । यहाँसम्म मोटरबाटो आइपुग्दा पनि इलाम, राँके र लालिखर्कबाट धेरैचोटि फलाम बोकेको सम्झना छ । आँगनसम्मै मोटरबाटोले छोएकाले भाडा तिरेपछि अचेल गाडीले फलाम घरमै झारिदिन्छन् ।
बिहान ७ बजेबाट औजार कमाउन र अर्जाप्न आरनमा बस्छु । आरनमा आगो फुक्न भाटी बनाउनु पर्छ त्यसका लागि चाहिने गोरुको छाला हम्मेसी पाइन्न । कहीँकतै बूढो भएर वा लडेर बस्तुभाउ मरेको सुइँको पाए लिएर आउँछु । किन्नुपर्दा एउटा छालाको पाँच हजारसम्म पर्छ ।
फलाम गाल्न आगो बाल्ने कोइला, समात्ने सनासो, बिछ्याउने लिही, कुट्ने मार्तौल र हम्बर सबै किन्नुपर्छ । अहिलेको बजार मूल्य अनुसार लिही प्रतिगोटाको ३ हजार, घनको १ हजार र मार्तौलको ५ सय रुपैयाँ पर्छ । औजार बनाउन चाहिने फलाम प्रतिकिलो २ सय रुपैयाँ पर्छ । सनासो आफैँ बनाएर प्रयोग गर्छु । फलामको काम गर्न धेरै बल चाहिन्छ । त्यसमा पनि आरनमा बसेर आगोमा फलाम गाल्दा आँत खरिन्छ । घनले फलाम चुट्दा होस् वा आगोमा तताएको फलाम समात्दा कर, करेज र बल धेरै नै चाहिन्छ ।
आरनमा फलाम गाल्दै खुकुरी, खुर्पा, हँसिया, काँटा, कोदालो, काँटा र कुटो बनाएर मिहिनेतअनुसार राम्रै दाम लिन्छु । फिदिमको ११, १२, १३ नम्बर वडा हुँदै फालेलुङ गाउँपालिकासम्मका ग्राहक औजार बनाउन र अर्जाप्न यहाँ आइपुग्छन् । घर नजिकैका विष्टहरुले ज्यालाबापत अन्न दिन्छन् । त्यसलाई बाली भन्ने चलन छ । छोराहरु कमाउन विदेश गएका छन् । बुहारीहरु खेतबारीको काम गर्छन् । आफ्नो जमिनमा उब्जनी भएको धान र मकैले ६ महिना खान पुग्छ ।
विष्टले दिएको बालीले थप तीन महिना धान्छ । बाँकी तीन महिनाका लागि १२ हजार रुपैयाँजतिको चामल किन्नु पर्छ । म, श्रीमती, दुई जना बुहारी र २ जना नातिनी गरेर ६ जनाको परिवार छ । सातामा एक पटक एक हजार तिरेर मासुभात खान्छौं । खाना पकाउन आधा लिटर तेलको पोकाले तीनछाक धान्छ । खाने तेल किन्न मात्रै महिनामा १५ सयदेखि २ हजार रुपैयाँ र चियापत्तिमा ५ सय रुपैयाँसम्म खर्च हुन्छ । त्यसबाहेक नुन किन्न १ सय रुपैयाँ र मसलामा १ सय रुपैयाँ खर्च हुन्छ । लुगाफाटा किनेको हिसाब राख्ने गरेको छैन ।
महिनामा कति कमाइ हुन्छ, त्यसको कुनै लेखाजोखा छैन । तर, फलाम पिटेकै भरमा जीवन चलेको छ । आरनको काम गर्दा पसिना बग्ने भएर होला निरोगी छु । नियमित औषधि खान नपरेकाले भान्छाका सामान जुटाउन सहयोग मिलेको छ । पहिले विष्टका घरमा जाँदा हामीलाई खान दिने थाल बटुका बेग्लै हुन्थे । खाइसकेपछि आफैं माझ्नु पर्थ्यो । खाएको ठाउँमा आफैं लोहोटाउन लगाउँथे । अहिले त्यस्तो छैन, हामीलाई पनि विष्टले इज्जत गर्छन् ।
गाउँभर मैले बनाएका औजार खेतीपातीमा प्रयोग हुन्छन् । कमाएर धेरै बचाउन नसके पनि घर व्यवहार चलेकै छ । यसैमा खुसी छु । छोरा नातिले काम गर्न मानेनन् । मचाहिँ सकुन्जेल पुर्खाको बिँडो थाम्छु । व्यवसायलाई सेवा ठानेर श्रम गर्दै पसिना बगाइरहेको छु ।
प्रस्तुति : लक्ष्मी गौतम
