सानै छँदा आमाको मृत्यु भएपछि बुवाले आफू कमैयाँ बसेको गाउँमा बाख्रा चराउने काममा लाउनुभयो
कञ्चनपुर — भीमदत्त नगरपालिका–१८, सालघारीको सुकुम्बासी बस्तीमा बसोबास भए पनि नगरका कुनाकाप्चाको जानकारी छ । ४० वर्षे जिन्दगीको आधा समय ठेला गुडाउँदै बितेकाले सबैले ‘ठेलावाला’ भन्छन् । पाइडलवाला रिक्सामा मानिस ओसारेर गुजारा चलाइरहेको थिएँ । केही वर्षदेखि अटोरिक्साको चलन आएपछि पाइडल मारेर रिक्सा चलाउनेजति बेरोजगार बन्यौं ।
रिक्सा चल्न छाडेपछि घरखर्चका लागि ठेलामा मालसामान ओसार्ने काम गरिरहेको छु । ठेलामा मालसमान लोड गरेर महेन्द्रनगर बजार र आसपास क्षेत्रसम्म पुग्छु । डेराका सामान सार्नुपर्ने भयो या बजारबाट खरिद गरेका सामान घरसम्म पुर्याउनु परेमा मलाई नै बोलाउँछन् । दिनभर पसिना बगाएपछि साँझ–बिहान खान पुगेको छ ।
कञ्चनपुरकै बेदकोटको एक घरमा बुवा लौटन कमैया बस्नुभएको थियो । म सानै छँदा आमाको मृत्यु भएपछि बुवाले मलाई पनि आफू कमैया बसेको गाउँमा बाख्रा चराउने काममा लाउनु भयो । बेदकोटमा दिनभरि बाख्रा चराएमात्र साँझ–बिहान खाना मिल्थ्यो । पाँच/छ वर्ष बाख्रा चराउने काम गरेपछि १४ वर्षको उमेरमा साथीसँगै भागेर काठमाडौं पुगेँ । काठमाडौंमा तीन वर्षजति एउटा घरमा खाना पकाउने र भाँडा माझ्ने काम गरेबापत फर्किने बेला एकमुष्ट ३० हजार पाएँ ।
महेन्द्रनगर फर्किएर पनि एउटा घरमा खाना पकाउने काम नै मिल्यो । त्यसबापत महिनाको १५ सय मिल्थ्यो । २०६० मा २० वर्षको उमेरमा विवाह गरेपछि खर्च अभावले पिरोल्न थाल्यो । पति/पत्नीलाई खानलाउन धौ हुन थालेपछि २० हजार ऋण खोजेर भारतको खटीबाट एउटा पाइडल रिक्सा किनेर ल्याएँ । दिनभरि रिक्सा चलाउँदा चार/पाँच सय बचत भइरहेको थियो । त्यसले घरखर्च धानिरहेका बेला बजारमा अटोरिक्सा चल्न थालेपछि ग्राहक पाउनै छाडेँ ।
परिवारमा संख्या थपिरहेका बेला आम्दानी सुकेपछि रिक्सा बेचेर ठेला खरिद गर्ने निर्णय लिएँ । १० वर्षदेखि साथी बनेको ठेलामा मालसामान ओसार्दा दिनमा हजार–बाह्र सयसम्म कमाइ हुन्छ । काम नपाएका दिन खाली हात फर्किंदा ४ छोराछोरी, श्रीमती र वृद्ध बुवा निराश बन्नुहुन्छ । जेठा छोराले मजदुरी गरे पनि दुई छोरी र एक छोरा स्कुल जान्छन् । ठेला चलाएर मैले १५ र जेठो छोरा सुरजले ज्यालादारीबाट महिनामा ८/१० हजार कमाउँछौं । ९ कक्षामा पढ्ने जेठी छोरीको महिनाको ५ सय र तीन कक्षामा पढिरहेका कान्छी छोरी र छोराका महिनाको ३ सय शुल्क तिर्नुपर्छ । भर्ना र नयाँ ड्रेस र किताब किन्दा त्यही १०/१२ हजार खर्च हुन्छ ।
खेतबारी नभएकाले नुन, तेल, पिठो, चामल, तरकारी किन्नुपर्छ । महिनाको ५ हजारको दाल–चामल, २ हजारको एक सिलिन्डर ग्यास, नुन, तेल र मरमसलामा एक हजार खर्च हुन्छ । महिनामा ठेला मर्मतबापत डेढ/दुई हजार खर्च हुन्छ । घरमा कोही बिरामी परेका बेला ऋण खोज्नुपर्छ । बुवाले पाउने वृद्धभत्ता औषधि किन्न ठिक्क हुन्छ । कहिलेकाहीँ खल्तीमा सुको पैसा नभएर छोराछोरीको आवश्यकता पूरा गर्न नसक्दा दिक्क लाग्छ । त्यस्तो बेला श्रीमती गीतासित दुःख साट्छु । त्यसपछि गीताले नै बुवासँग पैसा छैन भनेर छोराछोरीलाई सम्झाउने गर्छिन् । श्रीमतीले बुझ्ने भएकाले सजिलो छ ।
ठेला गुडाउँदै बजार डुल्दा कहिलेकाहीँ चिया पिउन मन लाग्छ । एक कप चिया पिउने पैसाले एक पोका नुन आउँछ भन्ने सम्झिएर त्यही पनि पिउँदिनँ । एक कप चियाको २५ रुपैयाँ पर्छ । पाहुना आउँदा मिठो मसिनो खुवाउन र दिल खोलेर स्वागत गर्न नसक्दा खल्लो लाग्छ । ७ वर्षअघि श्रीमती सामान्य तरिकाले सुत्केरी हुन नसकेपछि अप्रेसन गर्दा जुम्ल्याहा छोराछोरी जन्मिए । श्रीमती सुत्केरी हुँदा दिदीसित लिएको ७० हजार सापटी अझै तिर्न सकेको छैन । त्यही ऋण थाप्लोमा बोकेर हिँडिरहेको छु ।
प्रस्तुति : भवानी भट्ट
