'श्रीमती सुत्केरी हुँदाको ७० हजार रिन छ'

सानै छँदा आमाको मृत्यु भएपछि बुवाले आफू कमैयाँ बसेको गाउँमा बाख्रा चराउने काममा लाउनुभयो

फाल्गुन ६, २०८१

रामबहादुर चौधरी

'70,000 rin when the wife is pregnant'

कञ्चनपुर — भीमदत्त नगरपालिका–१८, सालघारीको सुकुम्बासी बस्तीमा बसोबास भए पनि नगरका कुनाकाप्चाको जानकारी छ । ४० वर्षे जिन्दगीको आधा समय ठेला गुडाउँदै बितेकाले सबैले ‘ठेलावाला’ भन्छन् । पाइडलवाला रिक्सामा मानिस ओसारेर गुजारा चलाइरहेको थिएँ । केही वर्षदेखि अटोरिक्साको चलन आएपछि पाइडल मारेर रिक्सा चलाउनेजति बेरोजगार बन्यौं ।

रिक्सा चल्न छाडेपछि घरखर्चका लागि ठेलामा मालसामान ओसार्ने काम गरिरहेको छु । ठेलामा मालसमान लोड गरेर महेन्द्रनगर बजार र आसपास क्षेत्रसम्म पुग्छु । डेराका सामान सार्नुपर्ने भयो या बजारबाट खरिद गरेका सामान घरसम्म पुर्‍याउनु परेमा मलाई नै बोलाउँछन् । दिनभर पसिना बगाएपछि साँझ–बिहान खान पुगेको छ । 

कञ्चनपुरकै बेदकोटको एक घरमा बुवा लौटन कमैया बस्नुभएको थियो । म सानै छँदा आमाको मृत्यु भएपछि बुवाले मलाई पनि आफू कमैया बसेको गाउँमा बाख्रा चराउने काममा लाउनु भयो । बेदकोटमा दिनभरि बाख्रा चराएमात्र साँझ–बिहान खाना मिल्थ्यो । पाँच/छ वर्ष बाख्रा चराउने काम गरेपछि १४ वर्षको उमेरमा साथीसँगै भागेर काठमाडौं पुगेँ । काठमाडौंमा तीन वर्षजति एउटा घरमा खाना पकाउने र भाँडा माझ्ने काम गरेबापत फर्किने बेला एकमुष्ट ३० हजार पाएँ । 

महेन्द्रनगर फर्किएर पनि एउटा घरमा खाना पकाउने काम नै मिल्यो । त्यसबापत महिनाको १५ सय मिल्थ्यो । २०६० मा २० वर्षको उमेरमा विवाह गरेपछि खर्च अभावले पिरोल्न थाल्यो । पति/पत्नीलाई खानलाउन धौ हुन थालेपछि २० हजार ऋण खोजेर भारतको खटीबाट एउटा पाइडल रिक्सा किनेर ल्याएँ । दिनभरि रिक्सा चलाउँदा चार/पाँच सय बचत भइरहेको थियो । त्यसले घरखर्च धानिरहेका बेला बजारमा अटोरिक्सा चल्न थालेपछि ग्राहक पाउनै छाडेँ । 

परिवारमा संख्या थपिरहेका बेला आम्दानी सुकेपछि रिक्सा बेचेर ठेला खरिद गर्ने निर्णय लिएँ । १० वर्षदेखि साथी बनेको ठेलामा मालसामान ओसार्दा दिनमा हजार–बाह्र सयसम्म कमाइ हुन्छ । काम नपाएका दिन खाली हात फर्किंदा ४ छोराछोरी, श्रीमती र वृद्ध बुवा निराश बन्नुहुन्छ । जेठा छोराले मजदुरी गरे पनि दुई छोरी र एक छोरा स्कुल जान्छन् । ठेला चलाएर मैले १५ र जेठो छोरा सुरजले ज्यालादारीबाट महिनामा ८/१० हजार कमाउँछौं । ९ कक्षामा पढ्ने जेठी छोरीको महिनाको ५ सय र तीन कक्षामा पढिरहेका कान्छी छोरी र छोराका महिनाको ३ सय शुल्क तिर्नुपर्छ । भर्ना र नयाँ ड्रेस र किताब किन्दा त्यही १०/१२ हजार खर्च हुन्छ । 

खेतबारी नभएकाले नुन, तेल, पिठो, चामल, तरकारी किन्नुपर्छ । महिनाको ५ हजारको दाल–चामल, २ हजारको एक सिलिन्डर ग्यास, नुन, तेल र मरमसलामा एक हजार खर्च हुन्छ । महिनामा ठेला मर्मतबापत डेढ/दुई हजार खर्च हुन्छ । घरमा कोही बिरामी परेका बेला ऋण खोज्नुपर्छ । बुवाले पाउने वृद्धभत्ता औषधि किन्न ठिक्क हुन्छ । कहिलेकाहीँ खल्तीमा सुको पैसा नभएर छोराछोरीको आवश्यकता पूरा गर्न नसक्दा दिक्क लाग्छ । त्यस्तो बेला श्रीमती गीतासित दुःख साट्छु । त्यसपछि गीताले नै बुवासँग पैसा छैन भनेर छोराछोरीलाई सम्झाउने गर्छिन् । श्रीमतीले बुझ्ने भएकाले सजिलो छ । 

ठेला गुडाउँदै बजार डुल्दा कहिलेकाहीँ चिया पिउन मन लाग्छ । एक कप चिया पिउने पैसाले एक पोका नुन आउँछ भन्ने सम्झिएर त्यही पनि पिउँदिनँ । एक कप चियाको २५ रुपैयाँ पर्छ । पाहुना आउँदा मिठो मसिनो खुवाउन र दिल खोलेर स्वागत गर्न नसक्दा खल्लो लाग्छ । ७ वर्षअघि श्रीमती सामान्य तरिकाले सुत्केरी हुन नसकेपछि अप्रेसन गर्दा जुम्ल्याहा छोराछोरी जन्मिए । श्रीमती सुत्केरी हुँदा दिदीसित लिएको ७० हजार सापटी अझै तिर्न सकेको छैन । त्यही ऋण थाप्लोमा बोकेर हिँडिरहेको छु । 

प्रस्तुति : भवानी भट्ट

रामबहादुर

Link copied successfully