‘पक्की घरमा सुतिरहेको सपना देख्छु’

बेखर्ची बनेका दिन छिमेकीसित चामल किन्न एक/दुई सय सापटी माग्छु र अर्को दिन कमाएर तिर्छु

फाल्गुन ८, २०८१

दिनेश मलिक

”I dream of sleeping in a concrete house”

रौतहट — वृन्दावन–७, को डोमबस्तीमा हाम्रो पीडा सुन्न भनेर वर्षमा थुप्रै महाजनहरू आइरहन्छन् । जन्मिएदेखि खानलाउनकै चिन्ता भएकाले एक कक्षा पनि पढ्न सकिनँ । म सानै छँदा २०६५ सालमा बुवा–आमा बितेकाले पढाइदिने अभिभावक पनि कोही भएनन् । उमेर बढेर २५ वर्ष भइसक्यो, तर गाँसबासको चिन्ता हटेकै छैन ।

भोकै पेट कसरी बाँच्नु, दुःखम्सुखम् जीवन त जिउनै पर्‍यो । त्यसैले उठेदेखि कसैले फोन गरिहाल्छन् कि भनेर टुकटुके मोबाइल रुङ्छु । त्यससँगै बाँसका समान तयार गर्न थालेपछि मेरो दैनिकी सुरु हुन्छ । अहिले मधेशमा विवाहको मौसम सुरु हुन लागेकाले कमाउने याम पनि हो । कुनै न कुनै बाँसका समानको अर्डर आउने भएकाले मोबाइलमा ध्यान दिने गरेको हुँ । मैले बाँसका सामान बनाएर घरखर्च चलाउन थालेको ७ वर्ष भइसक्यो । 

मधेशमा विवाहका बेला बाँसका डाला, दौरा, पेटारी, चङेली र बेना (हाते पंखा) चाहिने भएकाले यिनैको माग धेरै आउँछ । सामान बनाउन चाहिने एउटा बाँसको ३ सय ५० रुपैयाँ पर्छ । एक घण्टाजति लगाएर चोया निकालेपछि बल्ल डाला बनाउन मिल्छ । एउटा बाँसबाट दुई दिनमा एउटाका दरले दुईवटासम्म डाला तयार गर्छु ।

विभिन्न आकारका डाला तयार गरेपछि रातो, पहेँलो र हरियो रंग लगाउँछु । एउटा डालाको खुसीखुसी १ हजार दिन्छन् । यसमा बाँस र रंग गरेर आफ्नो ४ सय ५० लगानी पर्छ । दौराको १ सय ५०, पेटारीको २ सय, चङेलीको १ सय र बेना (हाते पंखा)को ५० रुपैयाँ दिन्छन् । सधैं बिक्री नहुने भएकाले कसैले अर्डर गरेमात्रै तयार गर्छु । 

यतिले मात्र खानलाउन पुग्दैन । कामको अर्डर नआएको दिन गाउँतिर टाटी बुन्न जान्छु । दिनभरि टाटी बुनेबापत महाजनले ५ सय ज्याला दिन्छन् । त्यसले बिहान–साँझका लागि एक/एक किलो चामल र एक पाउ दाल किन्न पैसा पुगेको छ । काम नपाएर बेखर्ची बनेका दिन छिमेकीसित चामल किन्न एक/दुई सय सापटी माग्छु र अर्को दिन कमाएर तिर्छु । यस हिसाबले महिनामा ५ हजार चामल र २ हजार ५ सय दाल र तरकारी किन्न चाहिन्छ । तेल र मसलामा एक हजार खर्च हुन्छ । बच्चाको कपडा र खात्राक–खुत्रुकमा गरेर थप एक हजार रुपैयाँ खर्च हुन्छ । सबै गरेर महिनाको १० देखि १२ हजार घरखर्च छ । 

घरायसी आवश्यकता पूरा गर्न भनेर ससुरालीबाट तीन वर्षअघि लिएको ४५ हजार रिन चुकाउन सकेको छैन । ससुराले सुंगुर बेचेर जम्मा गरेको पैसा दिए पनि ज्वाइँ भनेर चुप बसेजस्तो लाग्छ । मेरो झुपडीको चारैतिर भ्वाङ परेको छ । त्यहीँभित्र च्यातिएको बर्को ओढेर कठ्याँग्रिने रात कटाउनु परिरहेको छ । परिवारमा श्रीमती मैना देवी, ७ वर्षीय छोरा पवन, ५ वर्षकी काज र २ वर्षकी छोरी अनु छन् । आफूले अवसर नपाए पनि छोरालाई उच्चशिक्षा हासिल गराउने अठोट गरेर सरकारी स्कुलमा एक कक्षामा भर्ना गराएको छु । 

पक्की घरमा सुतिरहेको सपना बारम्बार दोहोरिरहन्छ । भगवान‍्ले मैले देख्ने सपनालाई विपनामा कहिले परिणत गरिदिन्छन्, थाहा छैन । श्रीमती र आफ्नो गरेर जम्मा दुई जोर कपडा छन् । चार वर्षदेखि नयाँ लुगा खरिद गर्न सकेका छैनौं । बाँसका सामग्री बनाउन सघाउने बाहेक श्रीमती मैनाको कुनै काम छैन । बच्चाहरू सानै भएकाले बाहिरफेर मजदुरीमा जान सक्दिनन् ।

आफ्नो नामको नम्बरी जमिन नभएकाले खेतीपातीको साटो सुंगुर पालेका छौं । त्यसबाहेक शौचालय, ढल, सडक सरसफाइ र फोहोर उठाउने काम पनि हाम्रा जातिले गर्छन् । फुर्सदका बेला यस्तै काम गरेर दुई/चार पैसा जोहो गरिन्छ । मेरो सानोतिनो कमाइले कहिले मिठो खान, राम्रो लाउन र ढुक्कले निदाउन सकिएला भन्ने सोचेरै दिनरात बित्छ । यस्तो चिन्ता हटाउन कहिलेकाहीँ त रक्सी खाएर झ्याप भइदिन्छु । 

प्रस्तुति : शिव पुरी

घरखर्च

दिनेश

Link copied successfully