ठेलाभरि सामान राख्न मन छ

दैलेखको डुङ्गेश्वरमा एउटा घरबाहेक जमिनका नाममा आँगन पनि छैन

फाल्गुन ५, २०८१

सन्जु बादी

I like to keep things in the basket

दैलेख — दैलेख सदरमुकाममा जन्मेहुर्के पनि कलिलैमा बिहेबारी गरेर दुल्लु नगरपालिका–१, डुंगेश्वर आएँ । कर्मले त्यहाँ पनि बसिखान दिएन । रोजीरोटीको जोहो गर्न भनेर सुर्खेतको वीरेन्द्रनगरस्थित क्याम्पस रोडमा रहेको बादी सरोकार मञ्चको छात्राबासमा दुई छोरी र श्रीमान्सहित आश्रित छौं ।

भाग्यमा आराम नलेखेरै त होला, बिहान उठेदेखि मेरो संघर्ष सुरु हुन्छ । दुई वर्षकी छोरी बादी सरोकार मञ्चको सहयोगमा वीरेन्द्रनगरको सूर्योदय बोर्डिङ स्कुलमा भर्खर केजीमा पढिरहेकी छन् । सानीछोरी बल्ल एक वर्षकी भइन् । २२ वर्षको उमेरमै दुई छोरीको स्याहार गर्नु परिरहेको छ । छोरीलाई खाना खुवाएर विद्यालयका लागि तयार गरेसँगै म पनि क्याम्पस रोड छेउछाउ ठेला अड्याएर दिनभरि चटपटे बेच्छु । 

गरिखाने उपाय नभएपछि मामा (हिक्मत बादी)ले बादी सरोकार मञ्चको आर्थिक सहयोग ३० हजार खर्च गरेर ठेला किनुदिनु भयो । मामाले नै फलफूल किनेर व्यापार सुरुवात गराइदिनुभएको थियो । ती फलफूल बिक्री भएपछि थपेर बेच्न मसित पैसा भएन । त्यसपछि चाउचाउ, भुजा, आलु, बन्दा, खुर्सानी, चना, केराउ जुटाएर चटपटे व्यापार सुरु गरेकी हुँ । 

अहिले चाउचाउ पेटीको ५ सय र भुजाको ३० रुपैयाँ प्याकेट पर्छ । प्रतिकिलो बन्दा ५० देखि ८० रुपैयाँ पुगेको छ । आलु र खुर्सानी ७० रुपैयाँ प्रतिकिलो पर्छ । एक बोतल ससको १ सय ४० पर्छ । चूक लिटरको १ सय पर्छ । जिरा एक पाउको १ सय ८० र धनिया ९० रुपैयाँ पर्छ । साँझ–बिहान मैले र श्रीमान्ले होस्टेलको काममा सघाएबापत निःशुल्क बस्न र खान पाइएको छ । श्रीमान्ले ४ कक्षासम्म पढेर छाड्नु भयो । १० कक्षा पास गरेकी म पनि चटपटे व्यापारी बनेकी छु । 

दैलेखको डुङ्गेश्वरमा एउटा घरबाहेक जमिनका नाममा आँगन पनि छैन । वीरेन्द्रनगर झर्नुभन्दा अगाडि गाउँमा गाडीको सामान ओसारपसार गर्न पाएका दिन श्रीमान‍्ले ५ सयदेखि १ हजार रुपैयाँसम्म कमाउनु हुन्थ्यो । माछा मार्न सकेका दिन १२ सयसम्म हात पर्थ्यो । महिनाभरि गिट्टी कुटेर एक ट्रयाक्टर पुर्‍याउन सकेका बेला मैले पनि ३ हजार कमाउँथे । ठूलो दाउराको भारी ल्याएर बेचेका दिन २ सय ५० मिल्थ्यो । त्यो सबै रकमले साँझ–बिहान खान पनि मुस्किल हुन्थ्यो । 

चटपटे बेचेर अहिले दिनको हजारदेखि १५ सयसम्म कमाइ भइरहेको छ । त्यसमध्ये ३/४ सय छुट्याएर दिनहुँ खुत्रुकेमा जम्मा गर्छु । बचेको पैसा अर्को दिन चटपटे बिक्रीका लागि चाहिने सामान किन्न ठिक्क हुन्छ । पैसा जम्मा गरेर ठेलाभरि सामान राख्ने सपना छ । अरुको कमाइ नभएकाले मैले मात्र घरखर्च धान्नु परिरहेको छ । दैलेख घरमा पनि वृद्ध सासू–सुसुरा, जेठाजु, सानी नन्द हुनुहुन्छ । उहाँहरूले पनि गिट्टी कुटेर, दाउरा बेचेर र बालुवा ओसारेर गुजारा चलाउनु भएको छ । 

बादी सरोकार मञ्चले नन्दलाई आवासीय रूपमा पढ्ने व्यवस्था गरिदिएको छ । सासूलाई उच्च रक्तचापको समस्या भएकाले महिनाको दुई हजार दबाइ खर्च पनि यतैबाट पठाउँछु । मैले नसकेका बेला जेठाजुले पठाउनु हुन्छ । छोरीहरूका लागि पैसा भएका महिना १५ दिनका दरले ५ सय ५० को एक कार्टुन अण्डा किन्छु । दिनको ५० रुपैयाँ तिरेर आधा लिटर दुध किन्छु । फलफूलमा कहिलेकाहीँ आधा/एक किलो गरेर २/३ सय रुपैयाँ खर्च हुन्छ । खाँचो परेपछि मात्रै वर्षमा एक/दुई जोर कपडा किन्दा २/३ हजार खर्च लाग्छ । चामल, दाल, तरकारी, तेल, नुन, मसलामा महिनाको ५ हजार खर्च हुन्छ । कमाइले सधैं नपुग्ने भएकाले सरसापट खोजेर चलाउँछौं । 

मैले १२ वर्षको उमेरमै बिहे गरिसकेकी थिएँ । बालविवाह गर्न हुँदैन भन्नेहरूले मुद्दा हालेपछि धेरै वर्ष माइतीमै बसेर उमेर पुगेपछि मात्रै श्रीमान‍्को घर आएकी हुँ । माइत बसेका बेला मामाले होस्टेलमा राखेर १० कक्षासम्म पढाउनु भयो । हाम्रो समुदायमा त सानै उमेरमा बिहेबारी गर्ने चलन थियो । पहिले ‘देहव्यापार’का लागि पनि भारत र देशका विभिन्न ठाउँ जाने ‘कुप्रथा’ थियो । सुर्खेतमा मामाले होस्टेल बनाएर बादी समुदायका बालबालिकालाई पढाउन ल्याएपछि यस्तो प्रथा पनि हट्दै गयो । गर्न सक्छु भन्ने जोश, जाँगर ममा भए पनि आर्थिक अवस्थाले गर्दा दबिएर बस्नुपरेको छ । जागिर गर्न मन भए पनि सीप र पढाइ खासै छैन । 

प्रस्तुति : तृप्ति शाही

सन्जु बादी

Link copied successfully