व्यापार नभएका बेला रासनपानी उधारो नमिल्दा निकै गाह्रो हुन्छ
तनहुँ — तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर मेरो कागजी ठेगाना हो । आफ्नो जीवनको भने कुनै ठेगान छैन । सबेरै उठेर घरधन्दा सक्छु । छोराछोरीलाई खाना खुवाइवरी विद्यालय पठाएर बिहान १० बजेतिर प्रशासन चोक पुगेपछि बेलुका ८ बजेसम्म मकै पोल्दै ग्राहक पर्खिन्छु ।
६ वर्षदेखि मकैसँगै सिजनअनुसारका तरकारी र फलफूल बेचेर गुजारा गरिरहेकी छु । जाडो सकिन लागेकाले बदाम त्यति बिक्दैन, सुन्तला महँगा भएकाले धेरै ल्याउन सक्दिनँ ।
एक क्रेटमा हुने २० किलो सुन्तलाको २६ सय तिरेर ल्याएर १ सय ५० रुपैयाँ प्रतिकिलोसम्म बेचिन्थ्यो । ६ हजार तिरेर एकपटकमा ४० किलो बदाम ल्याए पनि भुट्दा र छान्दा त्यति नै बच्दैन । खुद्रे व्यापार गरेर दिनमा कहिले २ हजार त कहिलेकाहीँ २ सय पनि मुस्किलले बचत हुन्छ ।
मेरो सम्पत्तिका नाममा यिनै दुई छोरा र एक छोरी छन् । दिनहुँको कमाइबाट दाल, चामल, तरकारी, तेल, नुन, बेसार, मसला किन्नुपर्छ । यतातिर २०–२५ किलो चामलको २ हजारदेखि २५ सय मूल्य छ । १०/१५ दिनलाई पुग्ने गरी २/४ किलो र खत्र्याकखुत्रुक समान एकैचोटि ल्याउँछु । ५ लिटर खाने तेलको करिव १३ सय रुपैयाँ पर्छ । व्यापार नभएका बेला रासनपानी उधारो नमिल्दा निकै गाह्रो हुन्छ । ५ हजार महिनाको तिरेर दुईवटा कोठा भाडामा लिएर बसेका छौं ।
बिहे हुँदाको उमेर याद नभए पनि अहिले २६ वर्षकी भएँ । माइतीघर दमौली भएकाले यतै कोठा भाडामा लिएर बसेकी हुँ । घरखर्च चलाउन सुरुमा ज्याला मजदुरी गर्दा दिनको ४/५ सय कमाइ हुन्थ्यो । खर्च नधान्ने अवस्था भएपछि छोरी जन्मिएको २ महिनामा काम खोज्दै पहिलो श्रीमान् राम तामाङ पोखरा गएका थिए ।
लामो समय श्रीमान् नफर्किएपछि यतै भेट भएका उमेश यादवसँग दोस्रो विवाह गरेँ । पहिलो श्रीमान्बाट पासाङ र माया अनि दोस्रोबाट सागर जन्मिएका हुन् । जेठो छोरा १४, छोरी १३ र कान्छो छोरा ९ वर्षका भए । उनीहरू नजिकैको महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा ७, ६ र ३ मा पढ्छन् ।
एक जनाको कमाइले ५ जनाको परिवार जेनतेन चलिरहेको छ । पहिलो श्रीमान्ले छाडेर गएपछि माइतीबाट आफूले नागरिकता बनाए पनि दोस्रो श्रीमान् भारतीय भएकाले छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । छोराछोरीले नयाँ कपडा, विभिन्न खानेकुरा, कापी किताब र साइकल चाहियो भन्छन् ।
केही समयअघि जेठो छोराले फुटबल खेल्दा लाउने जुत्ता किनिदिन ढिपी गरेको थियो । बजार गएर मूल्य सोधेको जुत्ताको २ हजार पर्छ भनेपछि किन्न सकिनँ । केटाकेटीको चाहना पुर्याउन नसक्दा कहिलेकाहीँ मन त्यसै खिन्न हुन्छ । छोराछोरीलाई वर्षमा एक जोर नयाँ कपडा किन्दिन्छु । अरूले दिएको कपडा लगाएर आफूले मन बुझाएकी छु ।
मैले त नपढेर धेरै दुःख पाएँ । दिनभरि चोकमा आगो र धूवाँमा बस्दा आँखा कमजोर भएको महसुस हुन्छ । स्वास फेर्न धौ हुन थालेको छ । जाडोमा त न्यानो लाग्छ, तर गर्मी महिनामा रापले सकस हुन्छ ।
अचेल चितवनबाट जिपले मकै ओसार्ने गरेको छ । १८ रुपैयाँका दरले दिनमा एक सय घोगा मकै किन्छु । नपोलेको प्रतिघोगा २० रुपैयाँमा बेच्छु भने पोलेको घोगाको ४० रुपैयाँ लिन्छु । मकै पोल्ने कोइला किलोको ३६ रुपैयाँ पर्छ । एक पल्टमा २ हजारका दाउरा र कोइला ल्याउँदा दुई दिनलाई पुग्छ । दिनरात नभनी दुःख गरेर छोराछोरीले चाहेजति पढाउन मन छ । पढाइ खर्च जुटाउन आफैं घोटिन तयार छु ।
प्रस्तुति : सम्झना रसाइली
