'छोराछोरीको चाहना पुर्‍याउन नसक्दा मन त्यसै खिन्न हुन्छ'

व्यापार नभएका बेला रासनपानी उधारो नमिल्दा निकै गाह्रो हुन्छ

फाल्गुन १०, २०८१

अन्जु थापा

'When the child's wishes cannot be fulfilled, the heart becomes sad.'

तनहुँ — तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर मेरो कागजी ठेगाना हो । आफ्नो जीवनको भने कुनै ठेगान छैन । सबेरै उठेर घरधन्दा सक्छु । छोराछोरीलाई खाना खुवाइवरी विद्यालय पठाएर बिहान १० बजेतिर प्रशासन चोक पुगेपछि बेलुका ८ बजेसम्म मकै पोल्दै ग्राहक पर्खिन्छु ।

६ वर्षदेखि मकैसँगै सिजनअनुसारका तरकारी र फलफूल बेचेर गुजारा गरिरहेकी छु । जाडो सकिन लागेकाले बदाम त्यति बिक्दैन, सुन्तला महँगा भएकाले धेरै ल्याउन सक्दिनँ । 

एक क्रेटमा हुने २० किलो सुन्तलाको २६ सय तिरेर ल्याएर १ सय ५० रुपैयाँ प्रतिकिलोसम्म बेचिन्थ्यो । ६ हजार तिरेर एकपटकमा ४० किलो बदाम ल्याए पनि भुट्दा र छान्दा त्यति नै बच्दैन । खुद्रे व्यापार गरेर दिनमा कहिले २ हजार त कहिलेकाहीँ २ सय पनि मुस्किलले बचत हुन्छ । 

मेरो सम्पत्तिका नाममा यिनै दुई छोरा र एक छोरी छन् । दिनहुँको कमाइबाट दाल, चामल, तरकारी, तेल, नुन, बेसार, मसला किन्नुपर्छ । यतातिर २०–२५ किलो चामलको २ हजारदेखि २५ सय मूल्य छ । १०/१५ दिनलाई पुग्ने गरी २/४ किलो र खत्र्याकखुत्रुक समान एकैचोटि ल्याउँछु । ५ लिटर खाने तेलको करिव १३ सय रुपैयाँ पर्छ । व्यापार नभएका बेला रासनपानी उधारो नमिल्दा निकै गाह्रो हुन्छ । ५ हजार महिनाको तिरेर दुईवटा कोठा भाडामा लिएर बसेका छौं । 

बिहे हुँदाको उमेर याद नभए पनि अहिले २६ वर्षकी भएँ । माइतीघर दमौली भएकाले यतै कोठा भाडामा लिएर बसेकी हुँ । घरखर्च चलाउन सुरुमा ज्याला मजदुरी गर्दा दिनको ४/५ सय कमाइ हुन्थ्यो । खर्च नधान्ने अवस्था भएपछि छोरी जन्मिएको २ महिनामा काम खोज्दै पहिलो श्रीमान् राम तामाङ पोखरा गएका थिए ।

लामो समय श्रीमान् नफर्किएपछि यतै भेट भएका उमेश यादवसँग दोस्रो विवाह गरेँ । पहिलो श्रीमान‍्बाट पासाङ र माया अनि दोस्रोबाट सागर जन्मिएका हुन् । जेठो छोरा १४, छोरी १३ र कान्छो छोरा ९ वर्षका भए । उनीहरू नजिकैको महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा ७, ६ र ३ मा पढ्छन् । 

एक जनाको कमाइले ५ जनाको परिवार जेनतेन चलिरहेको छ । पहिलो श्रीमान‍्ले छाडेर गएपछि माइतीबाट आफूले नागरिकता बनाए पनि दोस्रो श्रीमान् भारतीय भएकाले छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । छोराछोरीले नयाँ कपडा, विभिन्न खानेकुरा, कापी किताब र साइकल चाहियो भन्छन् ।

केही समयअघि जेठो छोराले फुटबल खेल्दा लाउने जुत्ता किनिदिन ढिपी गरेको थियो । बजार गएर मूल्य सोधेको जुत्ताको २ हजार पर्छ भनेपछि किन्न सकिनँ । केटाकेटीको चाहना पुर्‍याउन नसक्दा कहिलेकाहीँ मन त्यसै खिन्न हुन्छ । छोराछोरीलाई वर्षमा एक जोर नयाँ कपडा किन्दिन्छु । अरूले दिएको कपडा लगाएर आफूले मन बुझाएकी छु । 

मैले त नपढेर धेरै दुःख पाएँ । दिनभरि चोकमा आगो र धूवाँमा बस्दा आँखा कमजोर भएको महसुस हुन्छ । स्वास फेर्न धौ हुन थालेको छ । जाडोमा त न्यानो लाग्छ, तर गर्मी महिनामा रापले सकस हुन्छ । 

अचेल चितवनबाट जिपले मकै ओसार्ने गरेको छ । १८ रुपैयाँका दरले दिनमा एक सय घोगा मकै किन्छु । नपोलेको प्रतिघोगा २० रुपैयाँमा बेच्छु भने पोलेको घोगाको ४० रुपैयाँ लिन्छु । मकै पोल्ने कोइला किलोको ३६ रुपैयाँ पर्छ । एक पल्टमा २ हजारका दाउरा र कोइला ल्याउँदा दुई दिनलाई पुग्छ । दिनरात नभनी दुःख गरेर छोराछोरीले चाहेजति पढाउन मन छ । पढाइ खर्च जुटाउन आफैं घोटिन तयार छु । 

प्रस्तुति : सम्झना रसाइली

घरखर्च

अन्जु

Link copied successfully