४२ वर्षअघि १९ वर्षको उमेरमा बिहे भएपछि श्रीमान्–श्रीमती अलग्गिनु परेको छैन
What you should know
रुकुम पूर्व — भेडाको बथानसँगै कहिले लेक चढ्दै त कहिले बेसी झरेरै जिन्दगी कटिरहेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ माथिल्लो शेरामा घर भएर पनि एकै थलोमा जुनी बिताउन पाइँदैन । साथी बनेका २ सय २० भेडाले डोर्याएर डाँडाकाँडा पुर्याइरहेका छन् ।
फिरन्ते जीवन बिताउँदा आरामले घरमा बस्न नपाइने भए पनि ४२ वर्षअघि १९ वर्षको उमेरमा बिहे भएपछि श्रीमान्–श्रीमती अगग्लिनु परेको छैन ।
तीन छोरी र एक छोरा जन्मिए पनि परिवारमा अहिले बुढाबुढीमात्रै छौं । चार सन्तानमध्ये पहिलो छोरीको ग्वाला गएका बेला भीरबाट खसेको ढुंगा लागेर मृत्यु भयो । त्यसपछिका २ छोरी पनि बिहे गरेर कर्मघर गइसके । एउटै छोरा पनि विदेशमा छ । नाति–नातिना पढाउन भनेर बुहारी दाङ झरेको धेरै वर्ष भइसक्यो । त्यसैले परिवार भने पनि सम्पत्ती भने पनि यिनै भेडा हुन् । हरदम रेखदेख गरेर हुर्काएका भेडाबाट हुने आम्दानीले घरखर्च चलेको छ ।
एउटा भेडाको मूल्य अहिले १८ देखि २५ हजारसम्म पर्छ । आम्दानीको लेखाजोखा दिनहुँ सम्भव नहुँदा वर्षको एकपटक हिसाब गर्दा भेडा र ऊन बेचेर त्यही ८/९ लाख कमाइ हुन्छ होला । आर्जन भएको सबै बचत पनि कहाँ हुन्छ र !
भेडाको स्याहार र रेखदेखका लागि तीन जना गोठाला राखेका छौं । बाह्रै मास हामीसँगै बसेर काम गर्ने गोठालालाई वर्षमा प्रतिव्यक्ति एक/एक लाखका दरले ज्याला पनि दिन्छौं । भेडालाई दाना, उपचार गर्दा आम्दानी र खर्च बराबर जस्तै हुन्छ । भेडा चराएर कमाउनेभन्दा रमाउने काम भएको छ ।
पहिला घरकै आटो–ढिँडोले गुजारा चल्थ्यो भने अहिले बजारबाट चामल किन्नुपर्छ । चामल लगायत खाद्यान्न खरिदमा वर्षमा ६० देखि ७० हजार खर्च हुन्छ । बजारमा भन्दा लेकमा सामानको मूल्य दोब्बरजस्तै पर्छ । एक बोरा चामलको ३ हजार पर्छ । दाल किलोको ५ सयसम्म छ । नुन, तेल लगायत मरमसलामा महिनाको १५ सय खर्च लाग्छ । औषधिमूलोमा वर्षको ३०–४० र लत्ताकपडामा १५–२० हजारजति खर्च हुन्छ । सबै खर्च कटाएर वर्षमा त्यही २/३ लाख त बचत हुन्छ ।
छोराले हेर्ने भएकाले बुहारी र नाति–नातिनालाई खर्च पठाउनु पर्दैन । तैपनि चाडबाडमा माया गरेर उनीहरूलाई लत्ता–कपडा किनिदिन्छौं । कष्ट सहेर कर्म गरेर कमाएको लाख रुपैयाँ पनि हाम्रा लागि करोड बराबर हुँदो रहेछ । बिहे गर्ने साल शेरामा बनाएको घर पुरानो भए पनि धेरै समय बस्न नपाइने भएकाले ज्यादै माया लाग्छ । धेरैजसो त अन्नपात बोकेर भेडालाई ‘सिउ.. सिउ..’ गर्दै लेकबेसी गरिरहन्छौं ।
यसपटक गत कात्तिक अन्तिम साता भेडा लिएर घरबाट निस्किएका थियौं । रोल्पाको थवाङ हुँदै प्यूठानको नौबहिनीको लेक काटेर मंसिर पहिलो साता रुकुम पश्चिमको मुसिकोटको ठूली दह आइपुगेका हौं । यहाँबाट फागुन अन्तिम साता फर्किएर ढोरपाटन आसपासका बुकी (लेक) जान्छौं ।
ढोरपाटनमा भदौसम्म भेडा चराएपछि असोज–कार्तिकमा घर फर्किएर चाडबाड मनाउँछौं । मौका जुरेका बेला कहिलेकाहीं छुस्स घरसम्म पुग्छु । भेडा चराउन बुढा गोठालासँगै वनतिर जाने, भेडा दुहुने, ऊन निकल्ने काम गर्नुहुन्छ ।
म गोठमै बसेर खाना पकाउने, ऊन कात्ने र राडीपाखी बुन्ने काम गर्छु । राडीपाखी बेचेर उत्पातै कमाइ हुन्न । वर्षमा १५–२० हजारका राडीपाखी बेचेर पकेट खर्च चलाउने गरेकी छु । गोठमा बस्दा हिउँद–बर्खा, झरी–बादल अनि चिसो–तातो केही भन्न पाइँदैन । यहाँ लेकमा हाम्रो दुःख सुन्ने को छ र !
गोठालाका खासै रहर नभएकाले साह्रो–गाह्रो सहने बानी परिसक्यो । परिवार, गोठाला र भेडालाई दुःख–बिराम नलागोस्, कर्म गरेर खान पुगोस् भनेर कामना गर्दै जालकी (बुकीमा बनाइएको देवताको थान) मा फूलपाती चढाउँछु । अझै भेडा थपेर बथान ठूलो बनाएर गोठाला थप्ने मन छ ।
प्रस्तुति : महेश केसी
