‘भेडा चराएर कमाउनेभन्दा रमाउने काम भएको छ’

४२ वर्षअघि १९ वर्षको उमेरमा बिहे भएपछि श्रीमान्–श्रीमती अलग्गिनु परेको छैन

फाल्गुन १२, २०८१

मनकुमारी बुढा

”Rather than earning money by grazing sheep, it has become a job to be happy”

What you should know

रुकुम पूर्व — भेडाको बथानसँगै कहिले लेक चढ्दै त कहिले बेसी झरेरै जिन्दगी कटिरहेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ माथिल्लो शेरामा घर भएर पनि एकै थलोमा जुनी बिताउन पाइँदैन । साथी बनेका २ सय २० भेडाले डोर्‍याएर डाँडाकाँडा पुर्‍याइरहेका छन् ।

फिरन्ते जीवन बिताउँदा आरामले घरमा बस्न नपाइने भए पनि ४२ वर्षअघि १९ वर्षको उमेरमा बिहे भएपछि श्रीमान्–श्रीमती अगग्लिनु परेको छैन । 

तीन छोरी र एक छोरा जन्मिए पनि परिवारमा अहिले बुढाबुढीमात्रै छौं । चार सन्तानमध्ये पहिलो छोरीको ग्वाला गएका बेला भीरबाट खसेको ढुंगा लागेर मृत्यु भयो । त्यसपछिका २ छोरी पनि बिहे गरेर कर्मघर गइसके । एउटै छोरा पनि विदेशमा छ । नाति–नातिना पढाउन भनेर बुहारी दाङ झरेको धेरै वर्ष भइसक्यो । त्यसैले परिवार भने पनि सम्पत्ती भने पनि यिनै भेडा हुन् । हरदम रेखदेख गरेर हुर्काएका भेडाबाट हुने आम्दानीले घरखर्च चलेको छ । 

एउटा भेडाको मूल्य अहिले १८ देखि २५ हजारसम्म पर्छ । आम्दानीको लेखाजोखा दिनहुँ सम्भव नहुँदा वर्षको एकपटक हिसाब गर्दा भेडा र ऊन बेचेर त्यही ८/९ लाख कमाइ हुन्छ होला । आर्जन भएको सबै बचत पनि कहाँ हुन्छ र !

भेडाको स्याहार र रेखदेखका लागि तीन जना गोठाला राखेका छौं । बाह्रै मास हामीसँगै बसेर काम गर्ने गोठालालाई वर्षमा प्रतिव्यक्ति एक/एक लाखका दरले ज्याला पनि दिन्छौं । भेडालाई दाना, उपचार गर्दा आम्दानी र खर्च बराबर जस्तै हुन्छ । भेडा चराएर कमाउनेभन्दा रमाउने काम भएको छ । 

पहिला घरकै आटो–ढिँडोले गुजारा चल्थ्यो भने अहिले बजारबाट चामल किन्नुपर्छ । चामल लगायत खाद्यान्न खरिदमा वर्षमा ६० देखि ७० हजार खर्च हुन्छ । बजारमा भन्दा लेकमा सामानको मूल्य दोब्बरजस्तै पर्छ । एक बोरा चामलको ३ हजार पर्छ । दाल किलोको ५ सयसम्म छ । नुन, तेल लगायत मरमसलामा महिनाको १५ सय खर्च लाग्छ । औषधिमूलोमा वर्षको ३०–४० र लत्ताकपडामा १५–२० हजारजति खर्च हुन्छ । सबै खर्च कटाएर वर्षमा त्यही २/३ लाख त बचत हुन्छ । 

छोराले हेर्ने भएकाले बुहारी र नाति–नातिनालाई खर्च पठाउनु पर्दैन । तैपनि चाडबाडमा माया गरेर उनीहरूलाई लत्ता–कपडा किनिदिन्छौं । कष्ट सहेर कर्म गरेर कमाएको लाख रुपैयाँ पनि हाम्रा लागि करोड बराबर हुँदो रहेछ । बिहे गर्ने साल शेरामा बनाएको घर पुरानो भए पनि धेरै समय बस्न नपाइने भएकाले ज्यादै माया लाग्छ । धेरैजसो त अन्नपात बोकेर भेडालाई ‘सिउ.. सिउ..’ गर्दै लेकबेसी गरिरहन्छौं । 

यसपटक गत कात्तिक अन्तिम साता भेडा लिएर घरबाट निस्किएका थियौं । रोल्पाको थवाङ हुँदै प्यूठानको नौबहिनीको लेक काटेर मंसिर पहिलो साता रुकुम पश्चिमको मुसिकोटको ठूली दह आइपुगेका हौं । यहाँबाट फागुन अन्तिम साता फर्किएर ढोरपाटन आसपासका बुकी (लेक) जान्छौं ।

ढोरपाटनमा भदौसम्म भेडा चराएपछि असोज–कार्तिकमा घर फर्किएर चाडबाड मनाउँछौं । मौका जुरेका बेला कहिलेकाहीं छुस्स घरसम्म पुग्छु । भेडा चराउन बुढा गोठालासँगै वनतिर जाने, भेडा दुहुने, ऊन निकल्ने काम गर्नुहुन्छ ।

म गोठमै बसेर खाना पकाउने, ऊन कात्ने र राडीपाखी बुन्ने काम गर्छु । राडीपाखी बेचेर उत्पातै कमाइ हुन्न । वर्षमा १५–२० हजारका राडीपाखी बेचेर पकेट खर्च चलाउने गरेकी छु । गोठमा बस्दा हिउँद–बर्खा, झरी–बादल अनि चिसो–तातो केही भन्न पाइँदैन । यहाँ लेकमा हाम्रो दुःख सुन्ने को छ र !

गोठालाका खासै रहर नभएकाले साह्रो–गाह्रो सहने बानी परिसक्यो । परिवार, गोठाला र भेडालाई दुःख–बिराम नलागोस्, कर्म गरेर खान पुगोस् भनेर कामना गर्दै जालकी (बुकीमा बनाइएको देवताको थान) मा फूलपाती चढाउँछु । अझै भेडा थपेर बथान ठूलो बनाएर गोठाला थप्ने मन छ । 

प्रस्तुति : महेश केसी

मनकुमारी

Link copied successfully