‘छाक जुटाउन बुढ्यौलीमा पनि घामपानी नभनी काम गर्छौं’

छोराबुहारी, नाति–नातिना बसाइँ सरेर कोहलपुर गएपछि बुढाबुढी मात्र घर–कुरुवा

फाल्गुन १३, २०८१

गंगाराम तारम

”We work tirelessly even in old age to earn money”

सल्यान — मेरो जाँगरका सामु नाथे उमेरको के कुरा गर्नु ! अहिले ६० वर्ष पूरा गरे पनि सबेरै उठेर लक्का जवानले झैं बाख्रालाई घाँसपात, तरकारीमा सिँचाइ र गोडमेल सकेर माहुरीको स्याहार गर्नसमेत भ्याउँछु । नभ्याएर पनि के गर्नू ? ७ जनाको परिवारमध्ये छोरा–बुहारी, नाति–नातिना पोहोरै बाँकेको कोहलपुर बसाइँ सरेर गएपछि हामी बुढाबुढीमात्र घर–कुरुवा भएका छौं ।

जंगलबीचमा रहेको एक्लो घरमा थपक्क बसेर पेट भरिने अवस्था नभएकाले गुजारा चलाउन केही न केही त गर्नै पर्‍यो भनेर बाख्रा र मौरी पालनका साथै तरकारी खेती गरिरहेका छौं । अहिले घरमा १५/२० घार मौरी, ८/१० खसीबोका र केही बाख्राका साथै १५ वटाजति स्थानीय जातका कुखुरा पनि छन् । घर छेवैमा रहेको एक रोपनी पाखोमा तरकारी खेती  गरेका छौं । 

वर्षमा १०/१५ किलो मह उत्पादन भइरहेको छ । घरबाट एक घन्टाको दूरीमा रहेको कालिमाटी गाउँपालिका–१ को पोखरीडाँडा पुगेर प्रतिकिलो एक हजार रुपैयाँमा मह बिक्री गर्छु । खरिदकर्ताले घरमै आएर वर्षमा चारवटासम्म खसीबोका किनेर लैजाँदा ५० हजारसम्म कमाइ हुन्छ । तरकारी बेचेर २० हजारजति कमाउँछु । चार/छवटा कुखुरा बेच्दा ५/६ हजार हात परिहाल्छ । 

मौरीका घार, बाख्रा र तरकारीको बीउ किन्दा सुरुमा २०/२५ हजारजति लगानी परेको थियो । त्यसयता माहुरीको स्याहार र तिनलाई बेमौसममा आहारा व्यवस्था गर्दा ३/४ हजार खर्च हुन्छ । बाख्रालाई दाना र घाँस जोहो गर्दा १० हजार, कखुरालाई दाना र तरकारीको बीउ किन्दा ५/६ हजार खर्च लाग्छ । बुढीबुढीका लागि महिनामा ७ देखि ८ हजारको खाद्यान्न, नुन, तेल र मरमसला चाहिन्छ । वर्षमा एक जोर भए पनि नयाँ कपडा फेर्दा ५ हजारजति खर्च लाग्छ । 

२५ किलोको एक बोरा चामल किन्दा २ हजार ५ सय पर्छ । एक लिटर तेलको २ सय ५० पर्छ । प्रतिकिलो नुनको २५ रुपैयाँ पर्छ । महिनामा एक बोरा चामल, दुई लिटर तेल र दुई किलो नुन चाहिन्छ । उमेर छउन्जेल महिनामा ४/५ लाख रुपैयाँसम्म कमाइ गर्थें । त्यही भएर त कोहलपुरमा घर, घडेरीसम्म जोडेँ । बुढेसकाल लागेपछि बिहान–बेलुकीको छाक टार्नेभन्दा अरू गर्न सकिएको छैन । खेतीपाती गर्न नसक्दा अहिले १५ रोपनी जग्गा बाँझै छ । एकातिर पाखोबारीमा सिँचाइको समस्या छ भने अर्कोतिर बाँदर र जंगली जनावरले बाली सखाप पार्दिन्छन् । 

घरखर्च जुटाउन भनेर भारतका विभिन्न सहर पुगेर मजदुरी गरेँ । ८/१० वर्ष भारतमै बसेर काम गरेर भएको कमाइजति खानलाउन ठिक्क भएपछि परिवारसँग आफ्नै माटोमा हातपाउ खियाउँछु भनेर फर्किएँ । आफूले जानेको भनेको त्यही बस्तुभाउ पाल्न र खेती किसानी गर्न मात्रै हो । घर आएपछि त्यही पेसा गरेर भए पनि परिवारका सदस्यले हातमुख जोर्ने मेसो तयार गरे । मेरो पौरखले गर्दा अहिलेसम्म घरखर्चका लागि अरूको भर पर्नु परेको छैन । 

कमाइ नगरी खान नमिल्ने भएकाले बुढ्यौलीमा पनि घामपानी र चिसो भन्न पाइँदैन । एक्लो घर भएकाले खानेपानीको कष्ट छ । मोटरबाटो नभएकाले स्वास्थ्य सेवाका लागि पैदलै टाढासम्म जानुपर्छ । कोलाहल, गाडीको घाइँघाइँघुइँघुइँ मन नपर्ने भएकाले छोराबुहारीसित जान मन परेन । 

उमेरले नेटो काटिसकेकाले अब भौतिक सम्पत्ति जोड्ने लोभलालच छैन । बाचुन्जेल आरामले दुई छाक खान र लाउन पाए पुग्छ । त्यसका लागि बुढाबुढी मिलेर दुःख गरिरहेका छौं । 

प्रस्तुति : विप्लव महर्जन

गंगाराम

Link copied successfully