छोराबुहारी, नाति–नातिना बसाइँ सरेर कोहलपुर गएपछि बुढाबुढी मात्र घर–कुरुवा
सल्यान — मेरो जाँगरका सामु नाथे उमेरको के कुरा गर्नु ! अहिले ६० वर्ष पूरा गरे पनि सबेरै उठेर लक्का जवानले झैं बाख्रालाई घाँसपात, तरकारीमा सिँचाइ र गोडमेल सकेर माहुरीको स्याहार गर्नसमेत भ्याउँछु । नभ्याएर पनि के गर्नू ? ७ जनाको परिवारमध्ये छोरा–बुहारी, नाति–नातिना पोहोरै बाँकेको कोहलपुर बसाइँ सरेर गएपछि हामी बुढाबुढीमात्र घर–कुरुवा भएका छौं ।
जंगलबीचमा रहेको एक्लो घरमा थपक्क बसेर पेट भरिने अवस्था नभएकाले गुजारा चलाउन केही न केही त गर्नै पर्यो भनेर बाख्रा र मौरी पालनका साथै तरकारी खेती गरिरहेका छौं । अहिले घरमा १५/२० घार मौरी, ८/१० खसीबोका र केही बाख्राका साथै १५ वटाजति स्थानीय जातका कुखुरा पनि छन् । घर छेवैमा रहेको एक रोपनी पाखोमा तरकारी खेती गरेका छौं ।
वर्षमा १०/१५ किलो मह उत्पादन भइरहेको छ । घरबाट एक घन्टाको दूरीमा रहेको कालिमाटी गाउँपालिका–१ को पोखरीडाँडा पुगेर प्रतिकिलो एक हजार रुपैयाँमा मह बिक्री गर्छु । खरिदकर्ताले घरमै आएर वर्षमा चारवटासम्म खसीबोका किनेर लैजाँदा ५० हजारसम्म कमाइ हुन्छ । तरकारी बेचेर २० हजारजति कमाउँछु । चार/छवटा कुखुरा बेच्दा ५/६ हजार हात परिहाल्छ ।
मौरीका घार, बाख्रा र तरकारीको बीउ किन्दा सुरुमा २०/२५ हजारजति लगानी परेको थियो । त्यसयता माहुरीको स्याहार र तिनलाई बेमौसममा आहारा व्यवस्था गर्दा ३/४ हजार खर्च हुन्छ । बाख्रालाई दाना र घाँस जोहो गर्दा १० हजार, कखुरालाई दाना र तरकारीको बीउ किन्दा ५/६ हजार खर्च लाग्छ । बुढीबुढीका लागि महिनामा ७ देखि ८ हजारको खाद्यान्न, नुन, तेल र मरमसला चाहिन्छ । वर्षमा एक जोर भए पनि नयाँ कपडा फेर्दा ५ हजारजति खर्च लाग्छ ।
२५ किलोको एक बोरा चामल किन्दा २ हजार ५ सय पर्छ । एक लिटर तेलको २ सय ५० पर्छ । प्रतिकिलो नुनको २५ रुपैयाँ पर्छ । महिनामा एक बोरा चामल, दुई लिटर तेल र दुई किलो नुन चाहिन्छ । उमेर छउन्जेल महिनामा ४/५ लाख रुपैयाँसम्म कमाइ गर्थें । त्यही भएर त कोहलपुरमा घर, घडेरीसम्म जोडेँ । बुढेसकाल लागेपछि बिहान–बेलुकीको छाक टार्नेभन्दा अरू गर्न सकिएको छैन । खेतीपाती गर्न नसक्दा अहिले १५ रोपनी जग्गा बाँझै छ । एकातिर पाखोबारीमा सिँचाइको समस्या छ भने अर्कोतिर बाँदर र जंगली जनावरले बाली सखाप पार्दिन्छन् ।
घरखर्च जुटाउन भनेर भारतका विभिन्न सहर पुगेर मजदुरी गरेँ । ८/१० वर्ष भारतमै बसेर काम गरेर भएको कमाइजति खानलाउन ठिक्क भएपछि परिवारसँग आफ्नै माटोमा हातपाउ खियाउँछु भनेर फर्किएँ । आफूले जानेको भनेको त्यही बस्तुभाउ पाल्न र खेती किसानी गर्न मात्रै हो । घर आएपछि त्यही पेसा गरेर भए पनि परिवारका सदस्यले हातमुख जोर्ने मेसो तयार गरे । मेरो पौरखले गर्दा अहिलेसम्म घरखर्चका लागि अरूको भर पर्नु परेको छैन ।
कमाइ नगरी खान नमिल्ने भएकाले बुढ्यौलीमा पनि घामपानी र चिसो भन्न पाइँदैन । एक्लो घर भएकाले खानेपानीको कष्ट छ । मोटरबाटो नभएकाले स्वास्थ्य सेवाका लागि पैदलै टाढासम्म जानुपर्छ । कोलाहल, गाडीको घाइँघाइँघुइँघुइँ मन नपर्ने भएकाले छोराबुहारीसित जान मन परेन ।
उमेरले नेटो काटिसकेकाले अब भौतिक सम्पत्ति जोड्ने लोभलालच छैन । बाचुन्जेल आरामले दुई छाक खान र लाउन पाए पुग्छ । त्यसका लागि बुढाबुढी मिलेर दुःख गरिरहेका छौं ।
प्रस्तुति : विप्लव महर्जन
