पहिले पहिले थारु समुदायमा गहना लगाउने चलन थिएन । अहिले मसँगै काम गर्ने साथीले पनि गहना बनाएका छन्, पछि दुःख पर्दा काम लाग्छ भनेकाले मेरो पनि रहर बढेको हो
रूपन्देही — पारिवारिक दुःखको चौघेरामा परेकाले ७ कक्षाभन्दा माथि पढ्न पाइनँ । स्कुल छुटेपछि दैनिन्दिनको मजदुरी नै मेरो दिनचर्या बन्यो । तीन वर्षअघि प्रेमविवाह गरेँ । ज्याला मजदुरी गर्ने क्रममा मेरो गाउँकै खुसीराम चौधरीसित भेट भयो । खुसीसँगको देखादेख थाहै नपाई मायामा बदलियो । यसरी अंकुराएको मायाको डोरो समातेर खुसीसाथ जीवन बिताउने निर्णय गरेर हामीले बिहे गर्यौं ।
बिहेपछि कमाउन श्रीमान्सँगै रूपन्देही आएकी हुँ । श्रीमान घर बनाउने मिस्त्रीको काम गर्नुहुन्छ । म मजदुरी गरेर सघाउँछु । मजदुरीबाट हात पर्ने दैनिक ज्याला नै हाम्रो घरखर्च हो । तिलोत्तमा–६, मा रहेको डेराबाट हामीहरू बिहान ७ नबज्दै काममा निस्किन्छौं । म भने बिहान १० बजेतिर कोठामा फर्किएर खाना पकाउँछु । श्रीमान् श्रीमती सँगसँगै भोक मेटेर फेरि काममा फर्किन्छौं ।
हामी बसिरहेको कोठा पनि ठेकेदारले मिलाइदिनु भएको हो । खानका लागि रासनको प्रबन्ध पनि उहाँले गरिदिनु भएको छ । हरेक साँझ ६ बजे दिनभरको कामबाट थाकेर डेरामा फर्किन्छौं । त्यसपछि म खाना बनाउन थालिहाल्छु ।
पाँच दिदीबहिनीमध्येमा जेठी हुँ म । दाङको गढवामा जन्मिएकी हुँ । जेठी छोरी भएकाले सानैदेखि घर व्यवहारको दुःखबारे मलाई राम्रोसित जानकारी छ ।
दुःख गरेर हुने धेरथोर कमाइले हामी खुसी छैनौं । तैपनि जेनतेन घरखर्च चलेको छ । कहिलेकाहीं यही सोचेर मन बुझाएका छौं । दैनिक ज्यालाबाट मैले ५ सय रुपैयाँ कमाउँछु । मासिक सरदर १५ हजार रुपैयाँजति कमाइ हुन्छ । खान र बस्न खर्च नलाग्ने भएकाले यति पैसाले घरखर्च धान्न ठिक्क छ । अझ सयो भनौं, दिनभरि कमाएको साँझ–बिहान खान ठिक्क छ । कमाएको पैसाबाट एक रुपैयाँ पनि भविष्यका लागि बचत नहुँदा भने साह्रै पिर पनि लाग्छ ।
दाङको घरमा सासू, ससुरा र देउरानी हुनुहुन्छ । देवरका २ सन्तान बोर्डिङमा पढ्छन् । देवर, श्रीमान् र मैले गरेर मासिक २० देखि ५० हजार रुपैयाँ कमाउँछौं, तर ज्याला/मजदुरीको काम भएकाले सधैं एकैनासको कमाइ हुँदैन । दुःख गरेर कमाएको पैसाबाट महिनामा ३ हजार रुपैयाँको कपडा किन्छौं । बाँकी तिनै जनाले कमाएको पैसा घरमा पठाउने गरेका छौं ।
ज्याला मजदुरी गरेर पैसा जोगाउन सकिन्न भन्ने निष्कर्षमा पुगिसक्यौं । तैपनि, सँगै काम गर्ने साथीहरूले पैसा जोगाएर सुनका गहना बनाएको सुन्दा मेरो मनमा पनि त्यस्तै रहर पलाउँछ । सुनको गहना बनाए पछिसम्म काम लाग्छ भनेर साथीहरू भन्छन् । मलाई गहना बनाउने रहर भए पनि किनेर लगाउन सकेकी छैन ।
पैसा जोगाएर गहना किन्ने विषयमा मैले श्रीमान्सँग सल्लाह पनि गरिसकेकी छु । मासिक हुने कमाइबाट केही रकम जम्मा गरेर कानमा टप, सिक्री र औंठी बनाएर लगाउने सपना देखेकी छु । पहिले पहिले थारु समुदायमा गहना लगाउने चलन थिएन । अहिले मसँगै काम गर्ने साथीले पनि गहना बनाएका छन्, पछि दुःखपर्दा काम लाग्छ भनेकाले मेरो पनि रहर बढेको हो ।
मेरा माइतीको आर्थिक अवस्था पनि राम्रो छैन । माइती घरमा बुबामात्रै कमाउने हुनुहुन्छ । काइँली बहिनी अपांगता भएकी छिन् । माइतीको अवस्था नाजुक छ । बुवा–आमा वृद्ध हुन लाग्नुभयो । बहिनीहरू हुर्किरहेका छन् । एउटा भाइ सानै छ । यस्तो बेला माइतीलाई हेर्न नसकेकामा मलाई थकथकी छ ।
अभावमा हुर्किए पनि, अभावले दिनहुँ सताए पनि म निराश बनेकी छैन । कहिलेकाहीँ जेठी सन्तान भएर पनि कर्तव्य निभाउन नपाएको कुरा सम्झ्यो कि दुःख पर्छ । छोरी हुनुको पीडा त त्यतिखेर लाग्ने रहेछ । अहिले जेनतेन खर्च चलिरहेको छ, भोलि बालबच्चा भएपछि कसरी पो घरखर्च धान्ने हो भन्ने चिन्ता मेरो मनमा उब्जिरहेको छ । सन्तान जन्मिएपछि त यही कमाइले पुग्दैन नि !
मन लागेको कुरा किन्न, खान अनि घुम्न जाने बेला यही खर्च तगारो भइदिन्छ । महिना मरेपछि पैसा त हात पर्छ, तर एकाध दिनमै सकिएपछि सधैं पकेट रित्तै हुने गर्छ । त्यसो भनेर काम नगरी बस्न पनि भएन । आराम गरेर त पैसा पाइँदैन, तर कमाएर पनि केही किन्न नपाउँदा खिन्न लाग्छ ।
प्रस्तुति : सन्जु पौडेल
