दिनभरि कमाएको साँझ–बिहान खान ठिक्क छ

पहिले पहिले थारु समुदायमा गहना लगाउने चलन थिएन । अहिले मसँगै काम गर्ने साथीले पनि गहना बनाएका छन्, पछि दुःख पर्दा काम लाग्छ भनेकाले मेरो पनि रहर बढेको हो

माघ २६, २०८१

पुष्पा चौधरी

It is okay to eat in the evening and in the morning that you have earned throughout the day

रूपन्देही — पारिवारिक दुःखको चौघेरामा परेकाले ७ कक्षाभन्दा माथि पढ्न पाइनँ । स्कुल छुटेपछि दैनिन्दिनको मजदुरी नै मेरो दिनचर्या बन्यो । तीन वर्षअघि प्रेमविवाह गरेँ । ज्याला मजदुरी गर्ने क्रममा मेरो गाउँकै खुसीराम चौधरीसित भेट भयो । खुसीसँगको देखादेख थाहै नपाई मायामा बदलियो । यसरी अंकुराएको मायाको डोरो समातेर खुसीसाथ जीवन बिताउने निर्णय गरेर हामीले बिहे गर्‍यौं ।

बिहेपछि कमाउन श्रीमान‍्सँगै रूपन्देही आएकी हुँ । श्रीमान घर बनाउने मिस्त्रीको काम गर्नुहुन्छ । म मजदुरी गरेर सघाउँछु । मजदुरीबाट हात पर्ने दैनिक ज्याला नै हाम्रो घरखर्च हो । तिलोत्तमा–६, मा रहेको डेराबाट हामीहरू बिहान ७ नबज्दै काममा निस्किन्छौं । म भने बिहान १० बजेतिर कोठामा फर्किएर खाना पकाउँछु । श्रीमान् श्रीमती सँगसँगै भोक मेटेर फेरि काममा फर्किन्छौं । 

हामी बसिरहेको कोठा पनि ठेकेदारले मिलाइदिनु भएको हो । खानका लागि रासनको प्रबन्ध पनि उहाँले गरिदिनु भएको छ । हरेक साँझ ६ बजे दिनभरको कामबाट थाकेर डेरामा फर्किन्छौं । त्यसपछि म खाना बनाउन थालिहाल्छु । 

पाँच दिदीबहिनीमध्येमा जेठी हुँ म । दाङको गढवामा जन्मिएकी हुँ । जेठी छोरी भएकाले सानैदेखि घर व्यवहारको दुःखबारे मलाई राम्रोसित जानकारी छ ।

दुःख गरेर हुने धेरथोर कमाइले हामी खुसी छैनौं । तैपनि जेनतेन घरखर्च चलेको छ । कहिलेकाहीं यही सोचेर मन बुझाएका छौं । दैनिक ज्यालाबाट मैले ५ सय रुपैयाँ कमाउँछु । मासिक सरदर १५ हजार रुपैयाँजति कमाइ हुन्छ । खान र बस्न खर्च नलाग्ने भएकाले यति पैसाले घरखर्च धान्न ठिक्क छ । अझ सयो भनौं, दिनभरि कमाएको साँझ–बिहान खान ठिक्क छ । कमाएको पैसाबाट एक रुपैयाँ पनि भविष्यका लागि बचत नहुँदा भने साह्रै पिर पनि लाग्छ । 

दाङको घरमा सासू, ससुरा र देउरानी हुनुहुन्छ । देवरका २ सन्तान बोर्डिङमा पढ्छन् । देवर, श्रीमान् र मैले गरेर मासिक २० देखि ५० हजार रुपैयाँ कमाउँछौं, तर ज्याला/मजदुरीको काम भएकाले सधैं एकैनासको कमाइ हुँदैन । दुःख गरेर कमाएको पैसाबाट महिनामा ३ हजार रुपैयाँको कपडा किन्छौं । बाँकी तिनै जनाले कमाएको पैसा घरमा पठाउने गरेका छौं । 

ज्याला मजदुरी गरेर पैसा जोगाउन सकिन्न भन्ने निष्कर्षमा पुगिसक्यौं । तैपनि, सँगै काम गर्ने साथीहरूले पैसा जोगाएर सुनका गहना बनाएको सुन्दा मेरो मनमा पनि त्यस्तै रहर पलाउँछ । सुनको गहना बनाए पछिसम्म काम लाग्छ भनेर साथीहरू भन्छन् । मलाई गहना बनाउने रहर भए पनि किनेर लगाउन सकेकी छैन । 

पैसा जोगाएर गहना किन्ने विषयमा मैले श्रीमान‍्सँग सल्लाह पनि गरिसकेकी छु । मासिक हुने कमाइबाट केही रकम जम्मा गरेर कानमा टप, सिक्री र औंठी बनाएर लगाउने सपना देखेकी छु । पहिले पहिले थारु समुदायमा गहना लगाउने चलन थिएन । अहिले मसँगै काम गर्ने साथीले पनि गहना बनाएका छन्, पछि दुःखपर्दा काम लाग्छ भनेकाले मेरो पनि रहर बढेको हो । 

मेरा माइतीको आर्थिक अवस्था पनि राम्रो छैन । माइती घरमा बुबामात्रै कमाउने हुनुहुन्छ । काइँली बहिनी अपांगता भएकी छिन् । माइतीको अवस्था नाजुक छ । बुवा–आमा वृद्ध हुन लाग्नुभयो । बहिनीहरू हुर्किरहेका छन् । एउटा भाइ सानै छ । यस्तो बेला माइतीलाई हेर्न नसकेकामा मलाई थकथकी छ । 

अभावमा हुर्किए पनि, अभावले दिनहुँ सताए पनि म निराश बनेकी छैन । कहिलेकाहीँ जेठी सन्तान भएर पनि कर्तव्य निभाउन नपाएको कुरा सम्झ्यो कि दुःख पर्छ । छोरी हुनुको पीडा त त्यतिखेर लाग्ने रहेछ । अहिले जेनतेन खर्च चलिरहेको छ, भोलि बालबच्चा भएपछि कसरी पो घरखर्च धान्ने हो भन्ने चिन्ता मेरो मनमा उब्जिरहेको छ । सन्तान जन्मिएपछि त यही कमाइले पुग्दैन नि !

मन लागेको कुरा किन्न, खान अनि घुम्न जाने बेला यही खर्च तगारो भइदिन्छ । महिना मरेपछि पैसा त हात पर्छ, तर एकाध दिनमै सकिएपछि सधैं पकेट रित्तै हुने गर्छ । त्यसो भनेर काम नगरी बस्न पनि भएन । आराम गरेर त पैसा पाइँदैन, तर कमाएर पनि केही किन्न नपाउँदा खिन्न लाग्छ ।

प्रस्तुति : सन्जु पौडेल

पुष्पा

Link copied successfully