चोकमा भेला हुने आममान्छेका कथा, अटोरिक्सा र टेम्पो चालकका दुःखका किस्सा सुन्दा मेरा दुःख केही होइन जस्तो लाग्छ
रौतहट — झिसमिसेमा उठेबाटै मेरो दैनिकी सुरु हुन्छ । रौतहटको चन्द्रपुर नगरपालिका–५, चिडियादहमा मेरो घर छ । अहिले ४५ वर्षकी भएँ । रौतहटको चन्द्रनिगाहपुर चोकको पूर्वतिर रहेको टेम्पो पार्कछेउमा ठेला राखेर पकौडा बिक्री गर्छु । मेरो नाम उर्मिलादेवी साह भए पनि मलाई यहाँ भने ‘पकौडावाली’ भनेरै चिन्छन् । पकौडा बेचेरै एक दशकदेखि घरखर्च धानिरहेकी छु ।
हरेक दिन पकौडा बनाउनका लागि सरदर पाँच सय रुपैयाँको सरसामान किन्छु । यसबाट एक दिनमा करिब सात/आठ सयको व्यापार हुन्छ । यसबाट बचत हुने दुई/तीन सय कमाइले मेरो घरखर्च चलेको छ । सधैं यस्तै व्यापार हुन्छ भन्ने पनि छैन । कुनै दिन त खर्च बराबर आम्दानी गर्न पनि मुस्किल पर्छ । त्यस्तो साँझ एक किलो चामल–दाल किन्न पसलमा उधारोका लागि हात पसार्नुपर्छ वा छरछिमेकीसँग सापट माग्नुपर्छ ।
८० देखि १ सय रुपैयाँ किलोसम्म पर्ने चामलको भाउ सुनेर पनि मलाई बेलाबखत रिस उठ्छ । प्रतिकिलो १ सय ५० भन्दा माथि पर्ने दालको मूल्य सुन्दा त भाउन्न हुन्छ । अहिले सबै सामानको भाउ छोइसाध्ये छैन । हरियो तरकारी त किनेर खानै मुस्किल हुन्छ ।
हातमुख जोर्नै धौधौ हुने समस्याले मलाई सधैं सताउँछ । तैपनि अनेकतिरबाट खर्च जोगाएर हरेक दिन खुत्रुकेमा बचत गर्छु । यही खुत्रुके फुटालेर हात परेको पैसाले गत छठमा परिवारका लागि नयाँ कपडा किनेकी थिएँ । कपडामा पाँच हजार खर्च लाग्यो । अब फेरि सबै सदस्यले नयाँ लुगा लगाउने भनेको अर्को छठमा मात्रै हो ।
सडक छेउमा व्यापार गर्नेका निम्ति नगरपालिका पनि उदार भइदिएको भए घरखर्चका निम्ति यतिसारो धौधौ हुँदैनथ्यो । बेलाबखत नगरपालिकाको मेरो रोजीरोटीको आधार ठेला नै खोसिदिन्छ । सडक छेउमा व्यापार गरेको भन्दै यसअघि दुईपटक नगरपालिकाले उनको ठेला उठाइसकेको छ । दोस्रोपटक ठेला खोस्ने बेला नगर प्रहरीसँग ठेलमठेल भयो । त्यसबेला ठेलाका दुवै चक्का भाँचिए । त्यही भएर अहिले ठेला राम्ररी गुड्दैन । ठेला मर्मत गर्ने पैसा पनि जोगाउन सकेकी छैन ।
मेरो मनमा नयाँ ठेला किन्ने सोच पलाएको त महिनौं भयो । तर पैसाकै अभावमा पूरा हुन सकेको छैन । कहिले बचत गरौंला र नयाँ ठेला किनौंलाजस्तो लाग्छ । यस्तो सपना देख्न थालेको पनि धेरै भइसक्यो ।
परिवारमा श्रीमान्, दुई छोरा, एक बुहारी र नाति छन् । तर, श्रीमान् र छोराहरू बेरोजगार छन् । म एक्लैको कमाइले कहिलेसम्म घरखर्च धानिने हो, टुंगो पनि छैन । घरखर्चकै चिन्ताले दिनरात सताउँछ । एक्लै भएका र व्यापार पनि नभएका बेला मेरो मनमा अनेक कुरा खेल्छन् । तर चोकमा भेला हुने आममान्छेका कथा, अटोरिक्सा र टेम्पो चालकका दुःखका किस्सा सुन्दा मेरा दुःख केही होइनजस्तो लाग्छ । यो हेरेर पनि मन बुझाउँछु ।
मेरा दुःखको कुनै सिमाना छैन । अनेकन् सन्दर्भ छन् । एक साताअघि आफैं बिरामी परेँ । तर मसँग नजिकको मेडिकलमा गएर औषधि किन्ने पनि पैसा भएन । त्यसैले सिटामोल र बिहान खाली पेटमा खाने गरेर ५० रुपैयाँको औषधि उधारोमा किनेँ । निको भएको धेरै दिनपछि मैले त्यो उधारो चुक्ता गरेकी थिएँ ।
हाम्रो घरमा सबैभन्दा धेरै खर्च चामल र दाल किन्नमै हुन्छ । पैसा नै नबच्ने भएपछि नयाँ लुगा किन्ने कुरा त मेरा लागि अधुरो सपना मात्रै हो । प्रत्येक महिना चामल, दाल, तेल किन्दा कम्तीमा ५५ सय खर्च हुन्छ । यही खर्च कसरी धान्ने भन्नेमै पूरै महिना बित्छ ।
५ धुर ऐलानी जग्गामा बनेको सानो घर नै हामीसँग भएको सबैभन्दा ठूलो अचल सम्पत्ति हो । खर्चको अभाव मेरालागि स्थायी दुःख हो । पैसाकै अभावमा आफूले दुई छोरालाई पढाउन नसकेको दुःखेसो मनमा गढेको छ । भन्न त मलाई सबैले मिहिनेती भन्छन् । तर मिहिनेत गरेर मात्रै सबै कुरा हुने रहेनछ कि क्या हो भन्ने कुराले मलाई सताइरहन्छ । कहिलेकाहीँ त लाग्छ– गरिब भएर जन्मिनु पाप त होइन होला ! जेनेतन काम गरेर खान्छु, परिवार पाल्छु भन्दा पनि व्यवसायलाई बलियो बनाउन सघाउने कोही छैनन् । त्यही कुरामा चिन्ता लाग्छ ।
प्रस्तुति : शिव पुरी
