चेपाङ गाउँमा ‘६ महिना सहकाल, ६ महिना अनिकाल’ भन्ने उखानै छ
चितवन — चितवनको विकट पहाडी राप्ती नगरपालिका–१३, स्यामराङमा मेरो घर छ । ४७ वर्षको भए पनि अहिलेसम्म गाउँ छाडेको छैन । बादेखि बाजे–बराजुले पनि यहीँ खोरिया खनेर जीवन बिताए । नगरपालिकाभित्र बस्ती परे पनि अहिलेसम्म बिजुली आएको छैन । धारामा दिनको दुई घण्टा मात्रै पानी आउँछ, विकास देखेको भनेको यही मात्र हो । गाउँसम्म गाडी आउन लायक सडक छैन ।
परिवारमा मबाहेक ८० वर्षका बुवा रामबहादुर र श्रीमती काँशीमाया छौं । छोरी अप्सरा र निराको बिहे भइसक्यो । छोरो मिलन कमाउन भनेर गत वर्षबाट काठमाडौंतिरै रुमल्लिरहेको छ । कमाइधमाइ नहुँदा घरखर्च धान्न मुस्किल पर्छ । आँखा नदेख्ने बुवाको घुँडा पनि राम्रोसँग चल्दैन । अस्पताल लगेर जँचाउन नसक्दा बुवा घरमै थलिनुभएको छ । नागरिकता भए पनि वृद्धभत्ता पाउने सूचीमा नाम दर्ता गर्न र बैंक खाता खोल्न सकिएको छैन । बुवाको रेखदेखमा श्रीमती र मेरो समय बित्छ ।
वर्षमा दुई/तीन महिना बाहेक हरियाली नहुँदा चेपाङ बस्तीमा फुङ्ग धूलो उड्छ । पुग–नपुग एक रोपनी पाखो बारीमा दुई बाली खेती गर्दा दुई मुरी मकै र कोदो फल्छ । सिँचाइ हुन्थ्यो भने दालबाली लगाउँथे । पाखोबारीको उत्पादनले आधा वर्ष टर्दैन । चेपाङ गाउँमा ‘६ महिना सहकाल, ६ महिना अनिकाल’ भन्ने उखानै छ ।
काठमाडौंमा ग्यास बोक्ने काम गर्दैछु भनेर खबर गरे पनि छोराले खर्च पठाउन सकेको छैन । गत दसैंमा आएका बेला भने छोराले खर्च धानेको थियो । खर्च जुटाउन म पनि बेला–बेला काम खोज्दै छिमेकी धादिङ जिल्लामा तरकारी रोप्न र गोड्न जान्छु । तरकारी टिप्ने बेलामा खेताला गइन्छ । हामी चेपाङको धेरै खर्च चाडपर्वका बेलामा हुन्छ । नातेदार, इष्टमित्र आउँदा रक्सी र कोकाकोला किन्दैमा कमाएको जति सबै पैसा खर्च हुन्छ ।
घरमा दुई घार माहुरी छन् । खोरमा दुई माउ बाख्रा र दुईवटा पाठा छन् । वर्षमा मह बेचेर ८/१० हजार कमाउँछु । खसी बेचेर १०/१२ हजार कमाइ गर्छु । यसबाटै नुनतेल र खाद्यान्न जोहो गरिन्छ । हरहिसाब गर्दा वर्षको आठ/दस हजार रुपैयाँ घरखर्चका लागि अपुग हुन्छ । फागुन र चैत महिनामा फिटिक्कै पैसा हुँदैन । त्यही बेला पर्ने चैते दसैं खल्लो हुन्छ । साउने संक्रान्तिसम्म पैसा जुटिसकेको हुँदैन । यस्तो बेला सापटी खोज्नुपर्ने भएकाले ८ देखि १० हजार रुपैयाँ ऋण लाग्ने गरेको छ । घरखर्च घटाउन कि पाहुनालाई थोरै खान दिनु पर्यो, नत्र भने उपाय छैन ।
गाउँकै पसलमा पाइने नुन, तेल र खुर्सानीमा महिनामा कम्तीमा हजार रुपैयाँ खर्च भइहाल्छ । गाडी भाडा पनि जोड्दा बजारको भन्दा गाउँमा मसला सात/आठ रुपैयाँ बढी मूल्य पर्दछ । खाद्यान्न गरिद गर्न गाउँबाट चितवनकै भण्डारा पुग्नुपर्छ । त्यहाँसम्म आउजाउ गर्दा गाडी भाडा र खाना गरेर दिनको १५ सयजति खर्च हुन्छ ।
लत्ता कपडामा वर्षमा पाँचदेखि दस हजार रुपैयाँ खर्च हुन्छ । महिना बिराएर ३० किलोका दरले दुई बोरा चामल किन्छु । चामल प्रतिकिलो सय रुपैयाँ पर्छ । चामल, भुटुन, मसला, लत्ता–कपडामा बाहेक मन फुकाएर खर्च गर्न सकिएको छैन ।
साना खाले लोकल बाख्रा पालेको छु । बढ्न समय लाग्ने भएकाले बेच्दा सोचेजस्तो मूल्य पर्दैन । दुई–चारवटा विकासे माउ बाख्रा पाल्न पाए आम्दानी अलि बढ्ने थियो । खर्च जोगाएर बिकासे बाख्रा खोरमा हाल्ने धोको कहिले पूरा हुन्छ ? ठेगान छैन ।
हाम्रो गाउँमा ६३ घर छन् । एकाधबाहेक सबैको अवस्था मेरैजस्तो हो । खर्च जुटाउन नसकेका बेला मनमा अनेक कुरा खेल्छन् । भतभती मन पोलेका बेला श्रीमतीसँग के गर्ने होला भनेर सल्लाहा पनि गर्छु । केहीगरी खर्च जोहो भएन भने ऋण खोज्न निस्कन्छु ।
प्रस्तुति : रमेशकुमार पौडेल
