मेरो खुट्टा काटिएपछि सायद त्यही पिरले दुई वर्षअघि हृदयघातबाट श्रीमतीको निधन भयो
बागलुङ — बागलुङको बरेङ गाउँपालिका–२, हुग्दीशिरको सुदालामा मेरो बसोबास छ । अहिले ५० वर्षको भएँ । कपडा सिलाएर गुजारा चलाइरहेको छु । गुजारा पनि के भन्नु आँसु पिएरै दिन काटिरहेको छु ।
अपाङ्गता हुनुअघि ज्याला–मजदुरी गरेरै भए पनि परिवारको गुजारा चलाएको थिएँ । खान पुग्ने परिवार नभएकाले ठूला सपना पनि थिएनन् । चार वर्षअघि आफैंमाथि बज्रपात परेपछि भने परिवारको चिल्लीबिल्ली भयो ।
एकदिन हिँड्दाहिँड्दै ठेस लाग्दा देब्रे कुर्कुच्चाको भित्री भाग दुख्यो । सुरुमा त वास्ता गरिनँ । धेरैदिन दुखेपछि उपचारका लागि बुटवल जाँदा लिगामेन्ट च्यातिएको भन्दै डाक्टरले प्लास्टर गरिदिए । छिट्टै निको हुन्छ भन्दै डाक्टरले पठाएका थिए । दुई सातापछि पट्टी खोलेर हेर्दा त पैताला कुहिसकेको थियो । लगत्तै सकीनसकी बुटवल पुग्दा त्यहाँ उपचार नहुने जनाएर पाल्पाको मिसन अस्पताल रिफर गरिदिए । उपचार प्रक्रिया थाल्दा थाल्दै देव्रे खुट्टाको घुँडासम्म संक्रमण फैलिसकेको थियो । मिसन अस्पतालले घुँडामुनि काट्नुपर्ने जनायो । खुट्टामा संक्रमण भएका बेला मधुमेह बढेको रहेको छ । डाक्टरले मधुमेह परीक्षण नगरी घाउमा प्लास्टर गरिदिएकाले संक्रमण थपिएको धेरैपछि मात्र बुझेँ । मैले बुझ्ने बेलासम्म खुट्टा काटिसकिएको थियो ।
आफू अपाङ्ग बनेदेखि घरमा पिर थपियो । चिन्ताले हो कि दुई वर्षअघि हृदयघातबाट श्रीमती हरिमायाको निधन भयो । त्यसपछि त टेक्ने खुट्टा मात्रै गुमाइनँ, समात्ने हाँगा पनि भाँचियो । आफैंले छोराछोरी पढाउने र हुर्काउने सपना तुहियो । अनि छोरीलाई गुल्मीको शान्तिपुरस्थित सालीको घरमा पढाउन पठाएको छु । छोरा मजदुरीका लागि भारत पुगेको छ । अहिले घरमा एक्लै भएँ । छोराछोरीको कमाइ कहिले हात पर्छ, पत्तो छैन ।
उपचार गर्न स्थानीय बचत समूह र साहुबाट गरेर ९ लाख रिन लिएँ । अहिलेसम्म ४ लाख तिरे पनि बाँकी ५ लाख रुपैयाँ कसरी चुक्ता गर्ने ? यही चिन्ताले निद लाग्दैन । बाहिरफेर मजदुरी गर्न नसक्ने बनेपछि घर र उपचार खर्च जुटाउन सिलाइ पेसा अपनाएको छु । मेरो अवस्था देखेर केही संघसंस्थाले आर्थिक सहयोग पनि गरेका छन् ।
ग्रामीण स्वास्थ्य सुधार परियोजनाले वैशाखी किनेर दियो छ । सिलाई मेसिन खरिद गर्न पैसा दियो । अपाङ्ग भएको जानकारी गराएपछि गाउँपालिकाले परिचयपत्र दिने भएको छ । त्यसपछि केही भत्ता मिल्छ कि ?
मलाई कृत्रिम खुट्टा आवश्यक परेको छ । त्यसका लागि २ लाख ५० हजारभन्दा बढी खर्च लाग्छ । कपडा सिलाएर कमाएको पैसाले कृत्रिम खुट्टा किन्न सक्दिनँ । गाउँघरमा बजारमा जस्तो लुगा सिलाउने काम पनि मिल्दैन । दैनिक एक/दुई जोर कपडा सिलाउँछु । नियमित लुगा सिलाउन पाएको महिना १५ हजार जति कमाइ हुन्छ ।
बर्खाका बेला महिनाको ५/७ हजार मात्र कमाउँछु । खाना र घरखर्चमा १० हजार रुपैयाँ खर्च हुन्छ । महिनाको ५ हजारजति बचाउँछु । भविष्यमा कृत्रिम खुट्टा हालेर हिँडडुल गर्न भनेर स्थानीय सहकारीमा बचत जम्मा गर्छु ।
मान्छेको जुनी समस्यामुक्त कहिले पो हुन्छ र ? त्यही सम्झिएर सिलाइको काम थालेको हुँ । शारीरिक अवस्थाले व्यावसायिक बन्ने आँट छैन । मेरा लागि साँझ–बिहान पकाउने खाने काम कष्टकर बनेको छ । पकाउन नसकेका दिन भोकै सुत्नुपर्छ ।
खुट्टामा संक्रमण भएका बेला उपचारका लागि पाल्पा आउजाउ गर्दा २ हजार रुपैयाँ त बाटो खर्च नै लाग्छ । हरेक तीन/चार महिनामा एकपटक पाल्पा जान्छु । त्यसरी जाँदा उपचार गराउँदा एकपटकमा २५ हजारजति खर्च लाग्छ । अनि कृत्रिम खुट्टाका लागि भनेर साँचेको पैसा उपचारमै सकिन्छ ।
अहिले पनि मासिक २ हजार ३ सय रुपैयाँको औषधि खानुपर्छ । तर, पैसा नभएकाले चार महिनादेखि नियमित औषधि खान सकेको छैन । घाउमा सर्का हानेर सहनै नसक्ने गरी दुख्छ । त्यस्तो बेला सिलाइ छाडेर आराम गर्नुपर्छ । काम छाडेर उपचारमा धाउनुपर्छ ।
प्रस्तुति : प्रकाश बराल
