लुटिल्यायो, भुटी खायो भनेजस्तो छ

माघ २२, २०८१

भावना मगर

It is like being robbed and eaten

विराटनगर — मोरङको विराटनगर–१९, मिलनचोकमा घर भए पनि सधैंजसो म विराटनगर–५ कंचनबारीको षडानन्द चोकतिरै हुन्छु । षडानन्द चोकमा हिमाल फ्रेस हाउस नामको मासु पसल खोलेकी छु । अहिले ३० वर्षकी भएँ । उमेरसँगै आवश्यकता पनि बढिरहेकाले घरखर्च मेरा निम्ति स्थायी चिन्ताको विषय बनेको छ । त्यसैले हरेक बिहान ६ कक्षामा पढ्ने जेठी र ४ कक्षामा पढ्ने कान्छी छोरीलाई स्कुल पठाएर पसल खोल्छु । त्यसपछि एकैचोटि साँझ मात्रै घर फर्किन्छु ।

धेरै पढेर ठूलो मान्छे बन्ने धोको भए पनि पूरा हुन पाएन । किनभने, ९ कक्षाभन्दा माथि पढ्न सकिनँ । परिवारको गरिबी नै मेरो पढाइको तगारो बनिदियो । विकट पहाडी जिल्ला खोटाङमा जन्मिएँ । आफूले पढ्न नपाए पनि दुई सन्तानलाई उच्च शिक्षा पढाएर ठूलो मान्छे बनाउने मेरो इच्छा छ । त्यही कारण म सधैं काममा घोटिन्छु ।  

छोरीहरूले धेरै पढे भने जागिरे भएर बुढेसकालका सहारा बन्लान् भन्ने लागेको छ । घरखर्चको अभाव मैले सानैदेखि देखेकी छु । त्यही अभाव टार्न बाल्यकालमै घरेलु कामदार हुनुपरेको थियो । किशोरकाल सुरु भएपछि केही समय व्युटी पार्लरमा पनि काम गरेँ । तर, त्यहाँको कमाइले घरखर्च चल्लाजस्तो लागेन । अनि पार्लरलाई चटक्कै छाडेर दुई वर्षअघि मासु पसल खोल्ने निधोमा पुगेँ । व्यापार गरेपछि पैसा देखिरहन पाइने रहेछ । जागिर गर्दा पैसा देख्न महिना दिन नै कुर्नु पर्थ्यो ।

पहिले जागिर गर्दा मासिक ५/७ हजार मात्रै कमाइ हुन्थ्यो । अहिले मासु बिक्री गरेर मासिक १५ हजार रुपैयाँ चोखो आम्दानी गर्छु । श्रीमान‍्ले पनि गाडी चलाएर मासिक २५/३० हजार कमाइ गर्नु हुन्छ । भाइ पनि गाडी नै चलाउँछ । भाइको कमाइ भने मासिक २० हजारसम्म पुग्छ । बैनी भने सहकारीको मासिक बचत संकलन गर्ने काम गर्छिन् । बैनीको कमाइ भने मासिक ५/६ हजार रुपैयाँजति हुन्छ । 

श्रीमान्–श्रीमतीको कमाइबाट घरखर्च चल्ने भएकाले मेरो चिन्ता त घटेको छ । तर, सधैं यसैगरी चल्दैन भन्ने अर्को चिन्ता थपिएर सताइरहन्छ । १२ धुर जमिनमा निर्माण गरेको एकतले घरमा परिवारका ७ जना बस्छौं । घरको सबैभन्दा ठूलो खर्च भनेको छोरीहरूको पढाइ खर्च नै हो । खाना, लत्ताकपडा र औषधिउपचार लगायतको अन्य खर्च भने ठिकठिकै छ । फेसनअनुसार कपडा किनेर लगाउने क्षमता हामीसँग छैन । वर्षमा एक पटक मात्रै कपडा खरिद गर्छौं । 

श्रीमान्–श्रीमतीको गरेर मासिक ५० हजार रुपैयाँ हाराहारी कमाइ हुन्छ । तर, सबै कमाइ घरखर्चमै जान्छ । कमाइ र खर्च बराबर छ । बचत गर्न पुग्दैन । खानचाहिँ जसोतसो पुगिरहेको छ । लुटी ल्यायो, भुटी खायो भनेजस्तो पो भइरहेको छ ।  

बढ्दो बजार भाउको चिन्ताले बेलाबखत साह्रै पीर थप्छ । कमाएको घरखर्चमा ठिक्क हुने अवस्थाका कारण कहिलेकाहीं मन लाएको कुरा लगाउन र दिल खोलेर खान सक्ने साहस जुटाउन सक्दिनँ ।  कहीलेकाहीं त खर्चको अभावमा मन मारेर बस्नुपर्दा मन अमिलो पनि बन्छ । अहिलेसम्म मैले फजुल खर्च गरेकी छैन ।  घरमा पाकेको दाल, भात तरकारी खान्छौं । होटल, रेस्टुराँ जाने, घुम्ने, डुल्ने अवस्था छैन ।  

कहिलेकाही बढ्दो महँगीमा घरखर्च कसरी जुटाउने भन्ने चिन्ताले साह्रै चिन्तित बन्छु । कसरी पुर्‍याउने होला भन्ने लाग्छ । खासगरी लालाबालाको भविष्यप्रति बढी चिन्ता हुन्छ । अहिले त यस्तो महँगाइ छ, भविष्यमा झन् कस्तो होला जस्तो लाग्छ । छोराछोरीलाई उच्च शिक्षा पढाउन सकिँदैन कि ? मेरो मनमा चिन्ताले डेरा जमाइरहन्छ । मनमा कहिलेकाहीं ख्याल आउँछ, ‘यस्ता कुराको चिन्ताबाट कहिले मुक्त भइन्छ होला ?’

प्रस्तुति : पर्वत पोर्तेल

भावना

Link copied successfully