मिठो तरकारी नखाएको वर्षौं भयो ।
रुपन्देही — आमनागरिकका आफ्नै दु:ख र नौवत छन् । यस्तो हैरानीमा अक्सर घरखर्च उनीहरूका निम्ति प्रमुख समस्या भइदिन्छ । कतिपय त घरखर्चको जोहो गर्दागर्दै स-साना रहर र सपनासमेत भुल्न बाध्य हुन्छन् । कतिपय भने यही घरखर्चको भारीले थिचिएका छन् । आमनागरिकको घरखर्चको शैली र यससँग जोडिएर आउने संघर्षका आयाम बुझ्न ईकान्तिपुरले यो नियमित स्तम्भ सुरु गरेको हो : सम्पादक
मेरो नाम अकवाल पठान हो । अहिले ७५ वर्षको भएँ । वृद्धभत्ता बुझ्न थालेको पाँच वर्ष भयो । मेरो घर रूपन्देहीको रोहिणी गाउँपालिका–२, खुरहुरहुरिया नजिकै छ । मलाई गाउँघरमा मिस्त्री, साहू, रघु भनेर चिन्छन् । साइकल मर्मत गर्ने भएकाले रूपन्देही जिल्ला मात्र होइन, भारतको भगवानपुर र नौतनवासम्म मिस्त्री भनेर चिन्छन् ।
मैले साइकल मर्मत गर्न थालेको ५० वर्ष पूरा भइसक्यो । पहिले मेरो पसल भैरहवा–परासी सडक खण्डको वैकुण्ठपुर चोकमा थियो । अहिले खुरहुरहुरियामा छ । मैले पसल सुरु गर्ने बेला रोहिणी मात्र होइन, सदरकमुकाम भैरहवामा पनि साइकल मर्मत गर्ने पसल थिएनन् ।
नवलपरासीको सदरमुकाम परासीमा एउटा पसल थियो । भारतका भगवानपुर, सुनौली र नौतनवाबाट साइकल बनाउन मेरो पसलमा आउँथे । रूपन्देही जिल्लाभरिबाट साइकल बनाउन आउने हुँदा मेरो पसलमा ठूलै जमघट हुन्थ्यो । मैले पसल सुरु गरेको समयमा एउटा पञ्चर टालेको ५० पैसा मिल्थ्यो । अहिले एउटा पञ्चर टालेको ३० रुपैयाँ खर्च लाग्छ । तर, एक चियाको मूल्य पनि २० रुपैयाँ पुगिसक्यो । पहिले साइकल नै सवारीको मुख्य साधन थियो ।
साइकल नहुने पैदल यात्रा गर्थे । अहिले सवारीका साधन धेरै भए । मर्मत गर्ने पसल पनि छ्यापछ्याप्ती छन् । सुरुवातका दिनमा प्रतिदिन ३५ रुपैयाँसम्म कमाइ हुन्थ्यो । अहिले कमाइ छैन । कहिले एक कप चिया बराबरको पैसा कमाउँछु । कहिलेकाहीँ दुई सय रुपैयाँसम्म आम्दानी हुन्छ ।
मेरो परिवारमा ७ जना सदस्य थियौं । जेठी छोरीको बिहेपछि ६ जना बस्छौं । श्रीमती खतबुन निशा ५० वर्षकी भइन् । २० र १९ वर्षका छोरी घरमै छन् । उनीहरूले पढेनन् । १७ र १६ वर्षका दुई छोरा विद्यालय जान्छन् । जेठा छोरा १० कक्षा र कान्छो छोरा ९ कक्षामा पुगेका छन् । 
आम्दानीको मुख्य आधार यही साइकल पसल हो । मेरो नाममा आठ कट्ठा खेत छ । मूल ढोकासमेत नभएको र प्लास्टर पनि नगरेको इँटाको घर छ । एउटा भैंसी र पाडी अनि तीन बाख्रा पालेको छु । मेरो सम्पत्ति यति नै हो ।
गाउँमा अरुको खेत अँधियाँ गरेर अन्न उत्पादन गर्छौं । पैसा नभएका बेला घरलाई चाहिने अन्न राखेर बाँकी धान र गहुँ बिक्री गर्छौं । अन्न बेचेर आउने कमाइबाट परिवारका सदस्यलाई लुगाफाटो किन्छु । वृद्धाभत्ताबापत पाउने पैसाले खाजापानी पुग्छ । अन्नपात घरमै हुने भएकाले साइकल पसलको कमाइबाट नुनतेल जोहो गर्छु । छोराहरू सानै भएकाले काम गर्दैनन् । स्कुल छुट्टी भएका बेला साइकल पसलमा आएर सघाउँछन् ।
म मुटुको बिरामी छु । ६ वर्षअघि हृदयघात भयो । बुटवलस्थित मुटु अस्पतालमा शल्यक्रिया गरियो । त्यसबेला उपचार गर्न पैसा भएन । घर–जग्गाको लालपुर्जा कृषि विकास बैंकमा राखेर ५ लाख ऋण निकाल्नु पर्यो । उपचारमा ३ लाख ७२ हजार खर्च भयो । धन्न रोग निको भयो । त्यही बेलादेखि दैनिक मुटुको दबाइ खानुपर्छ । मासिक ४ हजार रुपैयाँको औषधि किन्नुपर्छ । सुरुमा डाक्टरले मासिक ६ हजारको औषधि लेखेका थिए । दबाई नखाए हुन्न भनेर डाक्टरसित सोधेँ । डाक्टरले मान्नु भएन । पछि २ हजार कमको दबाई लेखिदिनुभयो ।
अहिले कृषि विकास बैंकमा मासिक ५ हजार रुपैयाँ ब्याज बुझाउनुपर्छ । बैंकको ब्याज र औषधि खर्च जुटाउन चिया पिउन छाडियो । मिठो तरकारी नखाएको वर्षौं भयो । साइकल पसलबाट मासिक मुस्किलले ५ हजार कमाइ हुन्छ । त्यसबाट बचेको र अन्नपानी बेचेर बटुलबाटुल पारी बुटवलको मुटु अस्पतालमा महिनामा एकपटक जँचाउन जान्छु । एकपटक जँचाउन गएपछि ३ हजार ५ रुपैयाँ खर्च लाग्छ । जीवनमा घरबाट टाढा गएको पनि त्यही बुटवलमा उपचार गराउन हो ।
जेठी छोरीको बिहे गर्दा १० लाख रुपैयाँ खर्च लाग्यो । बिहे गर्दा गाउँमा खोजेको डेढ लाख ऋण तिर्न बाँकी छ । दुई छोरीको बिहेवारी गर्ने बेला भयो । छोरीको बिहेवारी कसरी गर्ने चिन्ताले सताउँछ । छोराहरूलाई विदेश पठाउन उमेर पुगेको छैन । पढाइ टुटाएर विदेश पठाउन मन लाग्दैन । परिवारको एकमात्र कमाउने म पनि बूढो भएँ । अब पहिलेजस्तो हातखुट्टा चल्दैनन् । ५० वर्षदेखि साइकल मर्मत गरेँ । मसित एउटा साइकल छ । त्यसमा छोराहरू पढ्न जान्छन् । म पैदलै नै पसलमा आउँछु । पसल पनि के भन्नु, गाउँघरका पाका मानिस भेला हुने र समय कटाउने मेसो मात्रै हो ।
प्रस्तुति : दीपेन्द्र बडुवाल
