गणित र विज्ञानका शिक्षक भेट्नै मुस्किल, १५ औं विज्ञापनसम्म शून्य दरखास्त

गणित–विज्ञान शिक्षकका लागि पटक–पटक आवेदन गर्दा पनि दरखास्त नै नपरेपछि तल्लो तहका शिक्षकबाट कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।

भाद्र ९, २०८२

मनोज पौडेल, तुलाराम पाण्डे, सुदीप कैनी, रामप्रसाद चौहान , सन्तोष महतारा

Hard to find maths and science teachers, zero application till 15th ad

What you should know

गुल्मी, कपिलवस्तु, बर्दिया, कालीकोट — गुल्मीको मुसीकोट नगरपालिकाले संघीय अनुदानअन्तर्गत माध्यमिक तह गणित शिक्षक भर्ना गर्न १५ पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त परेन । पालिकाको शिक्षा शाखाले डेढ वर्षदेखि अंग्रेजी र विज्ञानका शिक्षक पनि पदपूर्ति गर्न खोजिरहेको छ । तर शिक्षक भेटिएका छैनन् । 

वडा–४ स्थित मुसीकोट माविका प्रधानाध्यापक श्याम थापाले निमावि तहका गणित शिक्षकबाटै माथिल्लो कक्षा सञ्चालन गर्नु परिरहेको सुनाए । उनका अनुसार पटक–पटक विज्ञापन गर्दा पनि कोही नआएपछि सूचना निकाल्नै छाडिएको छ । ‘निमाविको शिक्षकलाई एक पिरियड पनि फुर्सद हुँदैन,’ प्रअ थापाले भने । 

मालिका गाउँपालिका–५ जमलपोखरा माविले विज्ञान शिक्षक नियुक्तिका लागि तीन पटक दरखास्त आह्वान गर्‍यो तर कोही आएनन् । अहिले निमावि तहका शिक्षकबाट माथिल्लो कक्षा धानिएको प्रअ ढुण्डीराज अर्यालले बताए । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटको शुक्र माविले गणित शिक्षकका लागि चार पटकसम्म विज्ञापन खुलाएको थियो तर दरखास्त नै परेन । ‘विद्यार्थीको गुनासो बढेपछि गत जेठबाट निमावि शिक्षकबाट अध्यापन गराइरहेका छौं,’ प्रअ प्रेमबहादुर पुनले भने ।

रेसुंगा नगरपालिका–३ भाडगाउँको भाडागाउँ मावि र वडा ११ को राङबास माविका लागि पनि गणित शिक्षक नियुक्ति गर्न ३/३ पटक विज्ञापन गरिएको थियो तर शिक्षक आएनन् । ‘जिल्लामा गणित, विज्ञान र अंग्रेजी शिक्षक पाउनै गाह्रो छ,’ शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले भने, ‘विषयगत शिक्षक नहुँदा शैक्षिक गुणस्तर पनि खस्किएको छ ।’

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्ध पब्लिक माविले संघीय कोटामा निमावि तहको गणित र विज्ञान विषय शिक्षक भर्ना गर्न आठ महिनायता चार पटक विज्ञापन निकालिसकेको छ । तर दरखास्त नपरेपछि शिक्षक नियुक्ति हुन सकेको छैन । कृष्णनगर नगरपालिकाले मावि तहमा विभिन्न विषयमा ५१ स्वयंसेवक शिक्षक भर्नाका लागि गत वर्ष सूचना निकाल्दा गणित विषयमा कसैको आवेदन परेन । जिल्लामा धेरै विद्यार्थी अनुत्तीर्ण हुने पनि यिनै विषय हुन् । 

गत वर्ष जिल्लाबाट एसईईमा सहभागीमध्ये ९ हजारमा ३ हजार ४ सय विद्यार्थी ‘ननग्रेडेड’ (अनुत्तीर्ण) भएका थिए । तिनमा ३ हजार ४ सयमा २ हजार ४ सय विद्यार्थी गणितका ‘ननग्रेडेड’ थिए । ‘ननग्रेडेड’ मा त्यसपछि अर्थशास्त्र र विज्ञान विषयका बढी छन् । ग्रेडवृद्धि परीक्षा भर्खर सकिएको छ । गणित, विज्ञान पढेकाहरू प्रायः डाक्टर, इन्जिनियर, कम्प्युटर र वन विज्ञान पढ्नतिर लाग्दा शिक्षक पाउन समस्या भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका शिक्षा अधिकृत अर्जुन कुँवरले बताए । ‘गणित र विज्ञान प्राविधिक विषय हुन् । यी विषय पढेका धेरैजसो विदेश लागेको देखिन्छ । यहाँ बसेकाहरूमा पनि शिक्षण पेसाप्रति रुचि हुने कम छन्,’ उनले भने । 

गणित र विज्ञान शिक्षकको अभावले पठनपाठनमा समस्या भइरहेको अनिरुद्ध पब्लिक माविका प्रअ रमेशकुमार पाण्डेले बताए । मावि तहको शिक्षक पदपूर्ति गर्न नसक्दा निमावि तहका शिक्षकलाई अतिरिक्त भार परेको पनि उनले सुनाए । 

शिक्षक अभाव चर्किएपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा नेपालको जुनसुकै ठाउँबाट सरुवा भएर आउने विषयमा सहमति लिइएको प्रअ पाण्डेले जानकारी दिए । ‘अब दुवै विद्यालयको सहमति लिएर शिक्षक कपिलवस्तु आउन सक्छन् । तर यो प्रक्रिया सहज छैन,’ उनले भने । शिवराज नगरपालिकाले भने स्थायी अध्यापन अनुमतिपत्र अभावमा विज्ञान र गणित विषयको शिक्षक पदपूर्ति हुन नसकेपछि कार्यविधि बनाएर गाँठो फुकाएको छ । अध्यापन अनुमतिपत्र नभए पनि पढाउन पाउने व्यवस्थाले सहज भएको जनचेतना मावि, लक्ष्मणपुरका प्रअ देवानन्द ठाकुरले बताए । 

विज्ञान शिक्षकको झनै अभाव गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक खोज्न पटक–पटक विज्ञापन निकाल्नुपरेको बर्दियास्थित पालिकाका शिक्षा शाखाका प्रमुखहरू बताउँछन् । दरबन्दीअनुसार शिक्षक नभएका कारण नगर शिक्षकको व्यवस्था गरिएको छ । गुलरिया नगरपालिकाअन्तर्गत १० माविसहित ४६ सामुदायिक विद्यालय छन् ।

माविका लागि ११ शिक्षकसहित ४८ नगर शिक्षक राखिएको गुलरिया नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । राजापुर नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत दलबहादुर चौधरीका अनुसार अंग्रेजी र गणित विषयका लागि एक–दुई विज्ञापन गर्दा शिक्षक पाइन्छ तर विज्ञानका लागि पटक–पटक विज्ञापन निकाल्दा पनि शिक्षक पाइँदैन । 

गत वर्ष निमावि तह विज्ञानका लागि चौथो पटक विज्ञापन गर्दा मात्र शिक्षक पाएको गेरुवा गाउँपालिकाका शिक्षा अधिकृत नवराज अधिकारीले बताए । ‘यो वर्ष मावि तहमा विज्ञान शिक्षकको तेस्रो पटक विज्ञापन निकाल्दा मुस्किलले पायौं,’ उनले भने, ‘यहाँ गणित र अंग्रेजी विषयभन्दा विज्ञान विषयको शिक्षक पाउन समस्या छ ।’ 

दुर्गमका विद्यालयमा झनै सकस

कालीकोटको शुभकालिका गाउँपालिका–२ बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रमा मावि तहको विज्ञान शिक्षकका लागि ५ पटक दरखास्त खुलायो । शिक्षक अनुमतिपत्र (लाइसेन्स) भएको एक जनाले पनि दरखास्त नदिएपछि विज्ञान विषयको संघीय अनुदान फिर्ता भयो । विद्यालयले यसपालि बाध्य भएर लाइसेन्स नभएका विज्ञान शिक्षक नियुक्ति गरेको छ ।

ती शिक्षकलाई अभिभावकबाट उठाएर मासिक २५ हजार रुपैयाँ दिने गरी व्यवस्थापन समितिले गत जेठमा नियुक्ति दिएको प्रअ सरस्वती बस्नेतले बताइन् । ५ सय १ विद्यार्थी रहेको यस विद्यालयमा २ सय ८३ जना दलित समुदायका बालबालिका छन् । प्रावि तहका ३ वटा मात्र स्थायी दरबन्दी रहेको विद्यालयमा पालिका अनुदान, संघीय अनुदान र निजी स्रोतका गरी १३ शिक्षक छन् । 

लाइसेन्स भएका शिक्षकलाई थप रकम दिएर ल्याउन चाहे पनि पाउन सकस भएको शुभकालिका–२ का वडाध्यक्ष मनबहादुर शाहीले बताए । मावि तहको दरबन्दी शून्य भएका दाहाल मावि सुकाटिया र जनता मावि छातीले पनि संघीय अनुदानका विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक नपाएको शुभकालिका गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताए । उनका अनुसार स्थायी दरबन्दी नभएका १२ माविलाई अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकका लागि ४३ हजार ६ सय ८९ रुपैयाँका दरले संघीय अनुदान दिने भनिएको छ । 

प्रधानाध्यापकहरूका अनुसार अध्यापन अनुमतिपत्र प्राप्त गर्न विज्ञान संकायमा स्नातक तह गरे पनि एकवर्षे बीएड गर्नुपर्ने वा कार्यरत हुनुपर्ने नियम छ । संघीय अनुदानको दिगो नहुने, विज्ञान पढेकाहरू दुर्गम जान नचाहने, तलब, भत्तालगायतका सेवासुविधा कम हुने, गाउँका विद्यालयमा ट्युसनजस्ता अतिरिक्त कमाइको अवसर कम हुने, मुस्किलले शिक्षक नियुक्ति गरे पनि अन्य सरकारी सेवामा स्थायी भएर सेवा परिवर्तन गर्नेजस्ता कारण शिक्षक अभाव हुने गरेको छ । 

कालीकोटकै पलाता गाउँपालिकाले गत वर्ष मुख्य ३ विषयका शिक्षक व्यवस्थापन गर्न संघीय अनुदानको बजेटबाट आफैं विज्ञापन गरेको थियो । दरखास्त नपरेपछि सम्बन्धित विद्यालयलाई नै शिक्षक खोज्न लगाइयो । दुधेशिल्लो मावि बेर्सनकोटले ३ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन् । ‘विज्ञान शिक्षक खोज्न देशभरका नेटवर्कमा सम्पर्क गरें,’ नेपाल शिक्षक संघ कर्णाली प्रदेश अध्यक्षसमेत रहेका दुधेशिल्लो माविका प्रअ मानबहादुर रोकायाले भने, ‘कतै नपाइए पनि छिमेकी विद्यालयको शिक्षक फकाएर नियुक्ति गर्‍यौं ।’ 

०१६ मा स्थापना भएको कालीकोटको जेठो विद्यालय दुधेशिल्लोले ०५६ मा ८ कक्षा, ०६७ मा १० कक्षा र ०७५ मा १२ कक्षासम्मको स्वीकृति पाए पनि हालसम्म निमावि र मावि स्थायी दरबन्दी छैन । ‘मेरो काम त शिक्षक खोज्ने मात्र हुन्छ । खोजेर ल्याएका पनि टिकाउनै कठिन छ,’ प्रअ रोकायाले भने । ४ सय ७० विद्यार्थी रहेको दुधेशिल्लो माविमा प्रावि स्थायी ४, राहत १, निमावि राहत ३ र मावि राहत ३ जना कार्यरत छन् । नरहरिनाथ गाउँपालिकाका शिक्षा, युवा खेलकुद शाखा प्रमुख दुर्गालाल न्यौपानेले वडा ७ उच्छवस्थित रूपादेवी माविले विज्ञान विषयका लागि ८ पटक सूचना निकाल्दा पनि नपाएपछि लाइसेन्सबिनाकै शिक्षक नियुक्ति गर्न अनुमति दिइएको सुनाए ।  

दक्ष शिक्षक अभाव देशभरिकै समस्या

शिक्षक सेवा आयोगले गत वर्ष निम्नमाध्यमिक तहको विज्ञान विषयका लागि २ सय ९० शिक्षक माग गरेको थियो । पदपूर्तिका लागि २ सय ८१ जना मात्र सिफारिस भए । आवेदन भने ३ हजार ८ सय ७३ जनाको परेको थियो । प्रारम्भिक परीक्षामा ३१ प्रतिशत अर्थात् १ हजार २ सय १३ जना मात्र उत्तीर्ण भए । तीमध्ये ९ सय ८४ जना मात्र विषयगत परीक्षामा सहभागी भए । त्यसमा पनि ३३ प्र्रतिशत ३ सय २६ जना मात्र उत्तीर्ण भए ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी विज्ञान, अंग्रेजी र गणितमा दरबन्दी नै कम रहेको र त्यसमा पनि शिक्षक पदपूर्ति गर्न नसकिएको बताउँछन् । ‘दूरदराज र पहाडमा यी विषयका शिक्षक जान चाहँदैनन् । आरक्षण समूहमा पदपूर्ति नहुँदा कोटा रिक्त जाने गरेको छ । स्थायी शिक्षकका लागि अहिलेसम्म जसोतसो पदपूर्ति हुँदै आए पनि अस्थायी र करारमा शिक्षक नपाउने अवस्था देशभर नै छ ।’

माध्यमिक तहमा गत वर्ष १ सय ९३ विज्ञान शिक्षक पदपूर्तिका लागि माग गरिएको थियो । सबै पदमा पदपूर्ति भए पनि उत्तीर्ण ११ प्रतिशत मात्रै छ । ५ हजार १ सय ३० जनाले सामान्य परीक्षा दिएकामा २ हजार ८ सय ५२ जना मात्रै सफल भए । विषयगत परीक्षामा २ हजार ३ सय ६९ जना सहभागी भएकामा २ सय ७७ जना मात्र उत्तीर्ण भए । गणित, अंग्रेजीलगायत विषयको अवस्था पनि लगभग विज्ञानको जस्तै रहेको आयोगको तथ्यांकबाट देखिन्छ ।

मावि तहको अंग्रेजीमा गत वर्ष ४ र गणितमा ११ प्रतिशत उम्मेदवार मात्र उत्तीर्ण भएका थिए । अंग्रेजीको विषयगत परीक्षामा ३ हजार ७ सय ४० जना सहभागी भएकामा १ सय ६३ जना मात्रै उत्तीर्ण भए । गणितमा २ हजार २ सय ३६ जना सहभागी हुँदा २ सय ७८ जना मात्र सफल भए । आयोगले लिएको विभिन्न विषयको मावि शिक्षक पदपूर्तिसम्बन्धी परीक्षामा ८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । निमाविको उत्तीर्ण प्रतिशत साढे १८ प्रतिशत रहेको आयोगले जनाएको छ । 

शिक्षक पदपूर्ति भए पनि विद्यालयमा नटिक्ने प्रवृत्ति झनै बढ्दै गएको अध्यक्ष रेग्मीले बताए । ‘शिक्षक नटिक्ने समस्या छ । सकभर अन्य सार्वजनिक सेवामा जान्छन्,’ उनले भने । शिक्षा मन्त्रालयले गरेको अध्ययनमा प्राथमिक तहमा शिक्षक दरबन्दी आवश्यकताभन्दा बढी र मावि तथा निमाविमा कम रहेको पाइएको थियो । दरबन्दी कम भएपछि स्थायी पदपूर्तिका लागि मावि र निमाविमा न्यून संख्यामा मात्रै विज्ञापन आह्वान हुने गरेको छ । देशभरका माविमा विज्ञान, गणित र अंग्रेजी विषयको स्थायी दरबन्दी रहेको विद्यालयको संख्या ७० मात्र रहेको अध्ययनमा पाइएको थियो । स्थायी दरबन्दी नहुँदा अस्थायी, राहत, करारलगायत कोटामा शिक्षक पदपूर्ति गर्न विद्यालयहरू बाध्य छन् । सार्वजनिक विद्यालयमा दुई दशकदेखि स्थायी शिक्षकको दरबन्दी थप हुन सकेको छैन ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

सन्तोष

Link copied successfully