अल्लोको ब्रान्ड बनाउँदै ४० उपभोक्ता समूह

सुर्खेत, दैलेख, जाजरकोट र अछाममा लोक्ता संकलन गर्न ४० समूहमा २१ सय ५८ जना आबद्ध छन्, उनीहरूबाट प्रतिकिलो १२० देखि १५० रुपैयाँको दरले लोक्ता खरिद हुन्छ

फाल्गुन ७, २०८१

लक्ष्मीप्रसाद ढकाल

40 consumer groups building Allo's brand

सन् २०१० तिरको कुरा हो । दक्षिण कोरिया जानेहरू भाषा परीक्षाको फाराम भर्न लाइन लागिरहेको देखेँ । त्यतिखेर मेरो स्नातक सकिइसकेको थियो, सुर्खेतमा शैक्षिक इन्स्टिच्युट चलाइरहेका थिएँ । बेलायत पढ्न जाने भनेर पहिला नै राहदानी बनाइसकेको थिएँ । मलाई पनि कोरियाको रोजगारीले तान्यो । एक महिना कोरियन भाषा सिकें । भाषा परीक्षामा पास भएँ ।

सन् २०१० तिरको कुरा हो । दक्षिण कोरिया जानेहरू भाषा परीक्षाको फाराम भर्न लाइन लागिरहेको देखेँ । त्यतिखेर मेरो स्नातक सकिइसकेको थियो, सुर्खेतमा शैक्षिक इन्स्टिच्युट चलाइरहेका थिएँ । बेलायत पढ्न जाने भनेर पहिला नै राहदानी बनाइसकेको थिएँ । मलाई पनि कोरियाको रोजगारीले तान्यो । एक महिना कोरियन भाषा सिकें । भाषा परीक्षामा पास भएँ । रोजगारदातासँग करार सम्झौता भएपछि सन् २०११ मा कोरिया गएँ । फर्निचर उद्योगमा काम त पाएँ तर काठको धूलोका समस्याले निरन्तर दिन सकिनँ । कम्पनी फेरेर झोलामा जलप (रङ) लगाउनुपर्ने काममा आबद्ध भएँ ।

हाम्रो मझौला कम्पनी थियो, जहाँ ७ जना नेपालीसहित २० जना श्रमिक थिए । कोरियाको साना र मझौला उद्योगमा मात्रै हामीजस्ता विदेशी श्रमिकले काम गर्न पाइने नीति रहेछ । ठूला कम्पनीमा विदेशी श्रमिकलाई अवसर छैन । कोरियनलाई मात्रै प्राथमिकता दिइन्छ ।

नेपालमा धेरै घोटिएर काम गर्ने बानी थियो । खेतीपातीकै काम गर्दा पनि दिनमा ५–६ घण्टा मात्रै हो । कोरियामा दैनिक १२ घण्टा घोटिएर काम गर्नुपर्थ्यो । कोरिया सबैले मिहिनेत गरेर बनेको देश हो । साहू पनि हामीसँगै घोटिन्थे । बिहान ९ बजेदेखि काम सुरु हुन्थ्यो । १२ देखि एक बजेबीच खानाको समय हुन्थ्यो । त्यसपछि निरन्तर उभिएर काम गर्नुपर्ने । कफी र पानी पिउनेबाहेक आराम गर्न पाइँदैनथ्यो । त्यहाँको स्थानीय बिदा र चाडबाडबाहेक १२ महिना गर्नुपर्थ्यो । म सुरुमा १ लाख रुपैयाँ मासिक तलब पाउँथे । नेपाल फर्किने बेला ३ लाख पुगेको थियो । 

पहिलो पटक ४ वर्ष १० महिना सकिएपछि २०१६ मा स्वदेश फर्किएँ । दोस्रो पटक जान फेरि कम्प्युटर बेस टेस्ट (सीबीटी) उत्तीर्ण हुनुपर्छ । मेरो साथी पुनः कोरिया जाने तयारीमा थिए । सीबीटी उत्तीर्ण गरेर मेडिकल परीक्षण गर्ने चरण पुग्दा मेरो मन बदलियो– कहिलेसम्म कोरिया गएर काम गरिराख्ने ? अब यतै व्यवसाय गर्नुपर्छ ।

व्यवसाय गर्न पैसा, आँट, आइडिया र उपयुक्त समय चाहिन्छ । घर र जग्गा किनेर पैसा जोगिएको थियो । अहिले लगानी गरेर स्थापित हुन सक्ने उपयुक्त समय लाग्यो । मेरो केही साथी सुर्खेतमा गार्मेन्ट व्यवसाय बन्द गरेर बसेका थिए । मैले गार्मेन्ट उद्योग नै चलाउन सक्ने आँट गरें । त्यसमा ८ लाख रुपैयाँमा खरिद गरें । किनभने थप पैसा भयो भने यसलाई बढाउँदै लैजान सकिन्थ्यो । कोरियामा गार्मेन्ट उद्योगमा काम गरेको अनुभव पनि थियो । विद्युतीय मेसिन ५ वटा र हाते मेसिन ६ वटा थिए ।

40 consumer groups building Allo's brandसुरुवाती चरणमा घाटा लाग्यो । किनेभने उत्पादन मूल्य बढी हुने र बिक्री मूल्य कम राख्ने गरेको रहेछु । यसबारे पछि मात्रै थाहा भयो । हार खाइनँ । अगाडि बढाएँ । गार्मेन्टमा लगानी बढाउँदै गएँ । विशेषगरी विद्यालयको पोसाक बनाउन थाले । अहिले मसँग १५ वटा विद्युतीय मेसिन छन् । सिलाइदेखि प्याकिङ गर्नेसम्म १६ जना श्रमिक छन् । सुर्खेत, दैलेख, जाजरकोट, अछाम, मुगु र हुम्लासम्मका १ सय ५० विद्यालयको पोसाक बनाइरहेका छौं । दैनिक सय सेटभन्दा बढी उत्पादन हुन्छ । 

जब कोभिड आयो, यसले मलाई अर्को एउटा अवसर थपिदियो । सुर्खेतका एउटा डाक्टरको समूह आएर भन्यो, ‘कोभिडको बिरामीलाई हामी बचाउँछौं । तपाईंले हामीलाई जोगाउनुपर्‍यो ।’ पीपीएको अभाव थियो त्यसबेला । मसँग पीपीए बनाउन गुणस्तरीय सामान थिएन । तर, पानी र हावा नछिर्ने कपडा थियो । त्यसैलाई पीपीएको रूप दिएँ । डाक्टरका जवाफ थियो, ‘हतियारबिना युद्धमा जानुभन्दा कमसेकम लट्ठी लिएर जाँदा त केही लड्न सकिन्छ ।’ 

यो कामले मेरो सम्पर्क सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधिसम्म विस्तार भयो । त्यसपछि सरकारी काम हात पर्न थाल्यो । उनीहरूलाई चाहिने झोला र पोसाक बनाएर दिन थालें । स्थानीय कच्चा पदार्थबाट बनेको सामानलाई प्राथमिकता दिने कर्णाली प्रदेश सरकारको नीति आएपछि मलाई झनै सहज भयो । उसले स्थानीय कच्चा पदार्थबाट बनेको सामग्री विदेशीभन्दा २० प्रतिशतसम्म महँगो भए पनि खरिद गर्ने नीति ल्यायो । यो नीतिले स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योगको विकासमा ठूलो योगदान पुग्छ । 

कर्णालीमा सबैभन्दा बढी पाइने जडीबुटी, खाद्यान्नका रूपमा गेडागुडी र अल्लो नै हो । पहाडी भेगतिर अल्लोको ठूलो झाडी–जंगल नै छ । यो घाम नलाग्ने ठाउँमा बढी उम्रिन्छ । दुई मिटरसम्मको बोट हुन्छ । यसको आयु एक वर्षको हुन्छ । प्रशस्त रूपमा जंगलमा पाइने अल्लो त्यत्तिकै खेर गइरहेको छ । मलाई लाग्छ, जंगलमा भएको १० देखि २० प्रतिशत मात्रै प्रयोगमा आएको छ । सबै मान्छेलाई यसबारे जानकारी पनि छैन । यसका लागि निश्चित सिजनमा मात्रै उत्पादन हुन्छ । यसलाई कात्तिकदेखि माघभित्र संकलन गरिसक्नुपर्छ । अल्लोमा आधारित गार्मेन्ट उद्योग सञ्चालन गर्ने योजना बनाए कर्णालीको अल्लोलाई एउटा ब्रान्डका रूपमा चिनाउन सकिन्छ भन्ने लाग्यो । अनि स्थापना गरें– कर्णाली फाइबर इस्ड्रस्ट्रिज । 

पहिला मैले संखुवासभामा उत्पादन भएको अल्लोको कपडा ल्याएर झोला र कोट बनाइरहेको थिएँ । कर्णालीकै अल्लोलाई बृहत् रूपमा संकलन गरी कपडा बनाउनुपर्छ भनेर लागिरहेको छु । यो सिजनमा ५० हजार किलो अल्लो लोक्ता संकलन गर्ने योजना बनाएको छु । त्यसमा १२ हजार किलो लोक्ता आइसकेको छ । यसको साइज ठूलो हुन्छ । तौल कम हुन्छ । थोरैले पनि गाडी भरिन्छ । त्यही भएर सुर्खेत, दैलेख, जाजरकोट र अछामका जंगलबाट ल्याएको हो । यो संकलन गर्न स्थानीय उपभोक्ता समूह बनाएको छु ।

40 consumer groups building Allo's brandस्थानीय २१ सय ५८ उपभोक्ताका ४० वटा समूह छन् । एउटामा समूहमा ५० जना छन् । त्यसमध्ये ५० प्रतिशतबाट संकलन गरिरहेको छु । उनीहरूसँग मैले सम्झौता गरेको छु । उनीहरूसँग प्रतिकिलो १ सय २० देखि १५० रुपैयाँको दरले खरिद हुन्छ । वन डिभिजन कार्यालयको अनुमतिबिना अल्लो संकलन गर्न पाइँदैन । ठाउँअनुसार पुर्जी रकम ३ देखि ७ रुपैयाँ लाग्छ । यसमा लाग्ने सबै खर्च मैले नै दिने गरेको छु । 

सुर्खेतको वीरेन्द्रनगरमा संकलन र प्रशोधन अलग–अलग ठाउँमा भइरहेको छ । यसले झोला, टोपी बनाउने काम भइरहेको थियो । हामीसँग जति धेरै अल्लोको धागो बन्छ, कपडा पनि त्यति नै बढी पाइन्छ । यसो हुँदा मागअनुसारको कपडा बनाउनेदेखि झोला, टोपी र कोटको उत्पादन हुन्छ । यसको संकलनदेखि प्रशोधनसम्म धेरै समय र खर्च लाग्ने हुँदा कपडा पनि महँगो छ । यसको कपडा प्रतिमिटर १५ सयसम्म पर्छ । यसको लगानी दीर्घकालीन हो । तुरुन्तै फाइदा लिइहाल्ने प्रकृतिको होइन । यो व्यवसायको लाभ समुदायसम्म फैलिएको छ । अब हामी आफैंले अल्लोको बजार देखाउँदै विस्तार गर्नुपर्नेछ ।

अल्लोको कपडाको प्रयोगले व्यापार घाटा कम गराउन मद्दत पुग्छ । कोरियामा पनि आन्तरिक उत्पादन र कच्चा पदार्थको प्रयोगलाई निकै प्राथमिकता दिइएको देखें । त्यहाँ विदेशी श्रमिक र आयस्तर कम हुनेले मात्रै आयतीत वस्तुको प्रयोग गर्ने हो । स्थानीय रूपमा उत्पादित वस्तुको मूल्य आयातितभन्दा महँगो पर्छ । मध्यम र उच्च आम्दानी भएकाहरूको प्राथमिकता स्थानीय रूमा उत्पादन हुने मासु, चामल, कपडा उपभोग गरेको देख्छु । 

कर्णाली सरकारले स्थानीय स्रोतमा आधारित दिगो उद्योग बनाउन खोजिरहेको छ । कर्णाली प्रदेशमा ८९ वटा पालिका छन् । उनीहरूको प्रत्येक वर्ष अधिवेशन हुन्छ । कम्तीमा ७ हजार झोला त पालिकाको कार्यक्रममा मात्रै चाहिन्छ । यसरी झोला मात्रै किन्दा पनि यहाँको पैसा सबै बाहिर जान्छ । एउटा झोला बेच्दा २ सय रुपैयाँ मात्रै स्थानीय व्यापारीले कमाउँछन् । तर, हामीले बनाएको अल्लोको झोला खरिद गर्दा ९५ प्रतिशत पैसा कर्णालीकै व्यापारी र समुदायले कमाउँछ । किसान, श्रमिक र र व्यापारीले कमाउँछन् । 

अहिले बेरोजगारलाई भत्ता दिनुभन्दा थोरै काम गराएर पैसा दिँदा उचित हुन्छ । कोरियामा सरकारले ज्याला बढाउँदा साना व्यापारीले विरोध गर्छन् । त्यसबेला कोरिया सरकारले बढेको पैसा साना उद्योगीलाई दिन्छ । यसले श्रमिकले पनि निर्धारण गरिएको ज्याला पाए, साना व्यापारी पनि टिके । हामीकहाँ ठूलाठूला उद्योगभन्दा साना लगानीका उद्यमलाई सहयोग गर्ने नीति हुनुपर्छ । 

कोरियामा कार्यस्थलमा धेरैजसो कोरियन साउदी, श्रीलंका र युरोपलगायत देशमा काम गरेर फर्केकासँग संगत भयो । उनीहरूलाई प्रवर्द्धन गर्न राज्यले फन्ड दिएर आआफ्ना व्यवसाय गर्न लगाएको रहेछ । त्यहाँ ठूला उद्योग थोरै छन् भने साना उद्योग धेरै । ठूला उद्योगभन्दा ससाना धेरै उद्योग खोल्दा रोजगारी पनि सिर्जना हुन्छ । लगानी गर्न पनि ठूलो पुँजी पर्दैन । उनीहरू जस्तै, हामीले पनि वैदेशिक रोजगारमा सिकेको सीप, पुँजी र प्रविधिलाई स्वदेशमा नै प्रयोग गर्नेको संख्या बढिरहेको छ ।

यो नेपालका लागि ठूलो अवसर हो । रोजगारीका लागि सधैं विदेशमा नै बसिराख्न हुँदैन । स्वदेशमा नै फर्किएर उद्यम गर्न उत्साहित भइरहेको देख्छु । यसका लागि थोरै मात्रै सहजीकरण भयो पनि पुग्छ । ८ लाखबाट सुरु गरेको व्यवसाय १ करोड पुगिसकेको छ । यो हरेक वर्ष थपिँदै जाने हो । म निराश छैन । उत्साहित नै छु । थप भविष्य देखिरहेको छु । 

उद्यम गर्ने भन्दै जथाभावी लगानी गर्ने होइन । मैले सुरुमा घाटा खाएर व्यवसाय गर्न सिकें । अब उद्यम सुरु गर्नेलाई सुरुमा नै सरकारले उपयुक्त सल्लाह र सुझाव दिने निकाय बनाइदिनुपर्छ । विदेशबाट आएकालाई उद्यमसम्बन्धी केही पनि थाहा हुँदैन । कम्पनी कहाँ दर्ता गर्ने ? कम्पनी कार्यालयमा दर्ता गर्दा के हुन्छ ? घरेलुमा दर्ता के हुन्छ ? बन्द कसरी गर्ने थाहा हुँदैन । उद्यम गर्नेलाई चरण–चरणको प्रक्रिया बताइदिने निकाय चाहिन्छ । घाटामा गएर भोलि बन्द गर्नुपर्ने अवस्था हुँदा पनि न्यूनतम क्षतिपूर्ति दिने एउटा कोष बनाइदिनुपर्छ । 

लक्ष्मीप्रसाद ढकाल कर्णाली नेचुरल फाइबर इन्डस्ट्री

Link copied successfully