दिल्लीमा सीजेपीको 'चलो संसद्' मार्च, सुरक्षाकर्मीले गरे लाठीचार्ज

कलाकारदेखि विपक्षी दलका नेतासम्म सहभागी, ८ हजार सहभागी रहेको प्रहरीको दाबी

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

CJP's 'Chalo Sansad' march in Delhi, security personnel lathi-charge

काठमाडौँ —  

कक्रोच जनता पार्टी(सीजेपी) को आह्वानमा नयाँदिल्लीमा सोमबार 'चलो संसद्' मार्च सुरु भएको छ । जन्तर-मन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले बीचमै रोक्ने प्रयास गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मार्चमा सहभागीहरूलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्जसमेत गरेको छ । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ । सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु हुन लागेकाले पनि प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहेका छन् । 

मार्चमा विभिन्न विपक्षी दलका नेताहरूसमेत पुगेका छन् । आजाद समाजवादी पार्टी(काशीराम) का प्रमुख चन्द्रशेखर आजाद, तृणामूल कांग्रेस सांसद महुवा मोइत्रालगायतका नेताहरू पनि मार्चमा सहभागी छन् । त्यस्तै दिल्लीकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी आम आदमी पार्टीका नेताहरू आतिशी, मनीष सिसोलिया, सञ्जय सिंहलगायतका नेताहरू पनि मार्चमा सहभागी छन् ।

विद्यार्थीहरूको आन्दोलनलाई प्रकाश राज, सबाना आजमी, विशाल ददलानी, सोनाक्षी सिन्हा, स्वरा भाष्करलगायतका कलाकारले पनि समर्थन जनाएका छन् । दिल्ली प्रहरीले सीजेपीको मार्चमा करिब ८ हजार सहभागी रहेको दाबी गरेको छ । 

कान्तिपुर

Link copied successfully