हालसम्म फेला परेका नेपाल वा नेपालीसम्बन्धी सन्दर्भहरू जेफ्री एप्स्टिनसँग जोडिएको विवादको प्रमुख विषय, यौन दुराचार, मानव बेचबिखन र बलात्कारजस्ता आपराधिक घटनासँग भने सम्बन्धित देखिएका छैनन् । तर केही नेपाली नाम भएका सीभी न्याय मन्त्रालयको ‘एप्स्टिन लाइब्रेरी’ भित्र छन् ।
What you should know
काठमाडौँ — अमेरिकी न्याय मन्त्रालयले ठूलो राजनीतिक विवादबीच सार्वजनिक गरेको जेफ्री एप्स्टिनसँग सम्बन्धित तीस लाख पृष्ठका गोप्य दस्तावेज र १ लाख ८० हजार तस्बिरहरूमा नेपालबारे पनि विभिन्न प्रसंग उल्लेख भएको पाइएको छ ।
न्याय मन्त्रालयको वेबसाइटमा रहेको ‘एप्स्टिन लाइब्रेरी’ भित्र नेपालसँग सम्बन्धित मुस्ताङका राजादेखि गलैँचा र भूकम्पपछिको सहयोगसमेतका विषयमा इमेल आदान-प्रदान भएको भेटिन्छन् ।
पछिल्ला केही महिना अमेरिकाको प्रमुख राजनीतिक मुद्दा बन्दै आएको यो विषयमा नेपालका पनि केही सन्दर्भहरू भेटिएपछि सामाजिक सञ्जालमा चर्चा बाक्लिएको छ । कतिपय जानकारीहरू तस्बिरका रूपमा रहेकाले ‘कि वर्ड’ मार्फत खोजेर सजिलै फेला पार्न नसकिने खालका छन् ।
सार्वजनिक गरिएका धेरैजसो सामग्रीहरू पनि स्क्यान गरिएका र कतिपय पृष्ठहरू पूर्ण वा आंशिक रूपमा सुरक्षा र गोपनीयताका लागि छोपिएका (रिड्याक्टेड) कारण ती सबैलाई सहजै सर्च गरेर पढ्न वा विश्लेषण गर्न सकिने अवस्था नरहेको बीबीसीले पनि उल्लेख गरेको छ । यस्तै, एआईको प्रयोगले सजिलै बनाउन सकिने ईमेल स्क्रिनसट वा आधिकारिक दस्तावेजजस्ता देखिने भ्रामक सूचनासमेत फैलनसक्ने सम्भावना रहेको सो समाचारमा उल्लेख छ ।
अमेरिकी न्याय मन्त्रालयको तथ्यांकअनुसार करिब ३० लाख पृष्ठ, १ लाख ८० हजार तस्बिर र २ हजार भिडियोहरू सार्वजनिक गरिएको यस प्रकरणमा नेपालको नाम ११८ पटक उल्लेख भएको पाइन्छ । यद्यपि, यी दस्तावेजहरूमा उल्लेख भएका विवरणहरूले कुनै पनि आपराधिक घटना वा गम्भीर मुद्दाहरूमा एप्स्टिन वा उनको समूहको नेपालमा संलग्नता रहेको संकेत गर्दैनन् वा हालसम्म भेटिएका छैनन् ।
दस्तावेजहरूमा मुस्ताङ, काठमाडौं र भूकम्पपछिको सहयोगका सन्दर्भमा नेपालको नाम जोडिएको छ । ह्यात होटेल चेनका पूर्वअध्यक्ष अमेरिकी अर्बपति थोमस प्रिट्ज्करले एक इमेलमा मुस्ताङका राजालाई आफ्नो साथी भएको दाबी गरेका छन्। दस्तावेजमा मुस्ताङका कुन राजा भन्नेबारे भने केही खुलाइएको छैन ।
अर्को एक दस्तावेजमा नेपालमा बनेको तिब्बती गलैँचा झन्डै ५१ हजार अमेरिकी डलरमा किनबेच भएको देखिन्छ । इमेल कुराकानीमा एप्स्टिन आफैंले र उनका सहकर्मीहरूले नेपाली कार्पेटको प्रसंग बारम्बार उल्लेख गरेको पाइएको छ। न्युयोर्कमा रहेको स्टार्क कार्पेटका तेन्जिङ नेपालीले एप्स्टिनसँग भेटेरै उनलाई कार्पेट बिक्री गर्न खोजेको प्रसंग यी इमेलहरूमा उल्लेख छ । अर्को एक इन्टेरियर डिजाइनमा ‘नेपाल कफी टेबल’ समावेश भएको छ। नेपालमा हात्ले बुनेको कार्पेटलगायत्का उत्पादनहरूमा एप्स्टिनको चासो रहेको कैयौं इमेलमा त्यसको प्रसंगबाट बुझ्न सकिन्छ।
विभागले रिड्याक्ट गरेको इमेल भएका एक व्यक्तिले एप्स्टिनलाई बारम्बार नेपाल वा तिब्बतजस्ता अनौठो ठाउँबारे भनेका छन् भने नेपालको हिमाली क्षेत्रका बच्चाको दिसामा औषधि हुनसक्ने दाबीसमेत गरेका छन् । एप्स्टिनको नेपाल चासोको एक पक्ष माइक्रोवायोम रिसर्च भएको विभिन्न इमेलबाट बुझ्न सकिन्छ ।
नेपालबारे बारम्बार उल्लेख भएको अर्को प्रसंग २०७२ सालको भूकम्पपछिको सहायता हो । चेक गणतन्त्रकी मोडल पेट्रा नेम्कोभाले एप्स्टिनलाई सम्बोधन गरेर लेखेको इमेलमा नेपालका कलिला बालबालिकाले आफ्नो घर, विद्यालय र आफन्तहरू गुमाएकोले सहयोग गर्न आग्रह गरेकी छिन् । आफ्नो संस्था ह्याप्पी हार्ट्स फन्डबाट नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक लगायत जिल्लामा विद्यालय मर्मत र अन्य सहयोग गर्न भूकम्पपछिको पहिलो दुई वर्षमै झन्डै ३५ लाख अमेरिकी डलर जम्मा गरेकी पेट्रालाई एप्स्टिनले सघाएको कुनै प्रत्यक्ष प्रमाण हालसम्म भेटिएको छैन । तर, अल ह्यान्ड्स एन्ड हार्ट्सको रूपमा सो संस्था स्वयंसेवी रूप्मा अझै नेपालमा कार्यरत छ।
अर्को एक इमेलमा सेकेन्ड रेस्पोन्स नामक संस्थाका विलियम स्पेयरले २५ हजार अमेरिकी डलर चन्दाका लागि एप्स्टिनलाई धन्यवाद भन्दै त्यो सहयोग नेपालमा सघाउन खर्च भएको उल्लेख गरेका छन्।
नेपालबारे इजरायली सैन्य न्युजलेटरले एप्स्टिनलाई पठाएको इमेलमा पनि भूकम्पपछि नेपाल पुगेर झन्डै १ हजार ५ सय व्यक्तिको उपचार गरेको दाबी गरेको छ। आफ्नो समयमा एप्स्टिनले आईडीएफ भनिने इजरायली डिफेन्स फोर्सलाई नियमित चन्दा दिने गरेको रेकर्डहरूमा भेटिन्छ ।
नेपालको सन्दर्भ राखेर विभिन्न व्यक्तिहरूले पनि एप्स्टिनसँग सहयोग मागेको देखिन्छ। एक व्यक्तिले आफूले नेपालको मेडिकल एसोसियसनलाई १० हजार डलर सघाउने गरेको भन्दै एप्स्टिनसँग जागिर मागेका छन्।
यस्तै, एप्स्टिनको लागि काम गर्न वा नखुलेका प्रयोजनका लागि जम्मा गरिएका विभिन्न व्यक्तिका व्यक्तिगत विवरणहरू पनि अमेरिकी न्याय मन्त्रालयद्वारा सार्वजनिक दस्तावेजमा भेट्न सकिन्छ । तीमध्ये एकमा, एप्स्टिनकी तत्कालीन प्रेमिका करिना शौलिएकलाई इमेल गरिएको छ ।
इमेलमा अमेरिकामा ग्रीन कार्ड प्राप्त गरिसकेकी एक नेपालीलाई घरायसी कामदारको रूपमा काम गर्न करिनासमक्ष पेस गरिएको छ। एप्स्टिन वा उनीसँग सम्बन्धित स्थानहरूमा कति नेपाली काम गर्थे वा एप्स्टिनका आपराधिक गतिविधिहरूमा नेपाली वा नेपाली मूलका कोही व्यक्ति सामेल थिए वा थिएनन् भन्ने भने अहिलेसम्म भेटिएका दस्तावेजहरूबाट प्रस्ट हुँदैन ।
