विभागले गत महिना एप्स्टिनमाथि दशकौंसम्म गरिएको अनुसन्धानसँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्न सुरु गरेको थियो ।
What you should know
वासिङटन — अमेरिकी न्याय विभागले दोषी ठहर भइसकेका यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित २० लाखभन्दा बढी कागजातहरू अझै पनि समीक्षाको प्रक्रियामा रहेको जनाएको छ ।
ती सबै फाइल सार्वजनिक गर्ने समयसीमा थप दुई साताभन्दा बढी समय सारिएको विभागले सोमबार जानकारी दिएको छ ।
विभागले गत महिना एप्स्टिनमाथि दशकौंसम्म गरिएको अनुसन्धानसँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्न सुरु गरेको थियो । तर ‘एप्स्टिन फाइल ट्रान्सपरेन्सी ऐन’ अनुसार तोकिएको समय (१९ डिसेम्बर) भने विभागले गुजारिसकेको छ ।
सोमबार संघीय न्यायाधीशलाई पठाइएको पत्रमा मन्त्रालयका अधिकारीहरूले २० लाखभन्दा बढी कागजातहरू अहिले पनि ‘समीक्षाका विभिन्न चरणमा’ रहेको उल्लेख गरेका छन् ।
पत्रअनुसार हालसम्म १२ हजार २ सय ८५ कागजात मात्र सार्वजनिक गरिएको छ, जसमा करिब १ लाख २५ हजार पृष्ठ समावेश छन् । यो संख्या हाल समीक्षामा रहेका कागजातहरूको एक प्रतिशतभन्दा पनि कम हो ।
विभागले २४ डिसेम्बरमा प्रारम्भिक समीक्षामा समावेश नगरिएका १० लाखभन्दा बढी अतिरिक्त फाइलहरू पहिचान गरेको जनाएको छ । तीमध्ये केही कागजात दोहोरिएका (डुप्लिकेट) देखिए पनि तिनको ‘प्रशोधन र डिडुप्लिकेसन’ अझै आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ ।
महान्यायाधिवक्ता पाम बोन्डी र अन्य सम्बन्धित अधिकारीहरूले हस्ताक्षर गरेको पत्रमा ‘अझै पनि पर्याप्त काम बाँकी छ’ भनेर स्पष्ट गरिएको छ । विभागका अनुसार ४ सयभन्दा बढी मन्त्रालयका वकिलहरूले आगामी केही सातासम्म यी कागजातहरूको विस्तृत समीक्षा गर्नेछन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्स्टिनसँग सम्बन्धित सबै फाइल समयमै सार्वजनिक गर्न नसकेको विषयलाई लिएर डेमोक्रेट दलबाट कडा दबाबको सामना गरिरहनुपरेको छ ।
