अमेरिकाले मदुरोलाई लगेपछि भेनेजुएलाको सत्ता कसको हातमा पुग्यो ? 

नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने ट्रम्पको घोषणा, कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न उपराष्ट्रपति रोड्रिगेजलाई भेनेजुएलाको सर्वोच्च अदालतको आदेश

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Who took power in Venezuela after the US removed Maduro?

What you should know

काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले रूपमा पक्राउ गरेपछि अब त्यहाँको सत्ता कसले सम्हाल्छ भन्नेबारे अन्योल र विवाद चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गर्न विपक्षी नेतृ मारिया कोरिना माचादो असक्षम रहेको टिप्पणी गर्दै नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने घोषणा गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाको संक्रमणकालीन अवस्थामा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत दिएका हुन् ।

नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी मुख्य विपक्षी नेतृ मारिया कोरिना माचादोले मदुरोको गिरफ्तारीलाई 'स्वतन्त्रताको घडी' भन्दै स्वागत गरेकी छन् । उनले सेनालाई निर्वाचनका वास्तविक विजेता एडमन्डो गोन्जालेज उरुटियालाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न आह्वान गरेकी छन् ।

तर, राष्ट्रपति ट्रम्पले भने माचादोको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । 'उनी (माचादो) एक असल महिला हुन्, तर भेनेजुएलाको नेतृत्व सम्हाल्न उनीसँग देशको सम्मान र समर्थन छैन,' ट्रम्पले भने, 'हामीले सुरक्षित र न्यायोचित नभएसम्म भेनेजुएलाको शासन आफैँ चलाउनेछौँ ।'

ट्रम्पको दाबीविपरीत ल्याटिन अमेरिकी मामिला विज्ञ लिज अलार्कोनले माचादोसँग जनसमर्थन नभएको कुरा अस्वीकार गरेकी छन् । उनले भनिन्, 'भेनेजुएलाका जनता मदुरोको पतनमा खुसी छन्, तर हामी चाहन्छौँ कि हाम्रो देश हामीले नै छानेका नेताहरू माचादो वा गोन्जालेजले चलाऊन् ।'

गत जुलाईको चुनावमा विपक्षी उम्मेदवार गोन्जालेजले दुई तिहाइ मत प्राप्त गरेको दाबी गरिए पनि मदुरोले सत्ता छोड्न अस्वीकार गरेका थिए । अहिले मदुरो हटेपछि कतै उस्तै प्रकृतिको अर्को तानाशाही वा विदेशी कठपुतली सरकार आउने त होइन भन्नेमा भेनेजुएलाका नागरिक चिन्तित देखिन्छन् ।

यद्यपि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवार सम्हाल्न भनेको छ । सर्वोच्च अदालतको संवैधानिक च्याम्बरले राष्ट्रपति मदुरोको अनुपस्थितिमा कार्यभार सम्हाल्न भनेको हो । 

उपराष्ट्रपति रोड्रिगेजले अमेरिकी कारबाहीको कडा भर्त्सनासमेत गरेकी छन् । सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले मदुरो र उनकी पत्नीको तत्काल रिहाइ माग गरिन् । 'यो कारबाही केवल भेनेजुएलाको ऊर्जा, खनिज र प्राकृतिक स्रोत कब्जा गर्ने बहाना मात्र हो,' रोड्रिगेजले भनिन्, 'मदुरो नै भेनेजुएलाका एकमात्र वैध राष्ट्रपति हुन् ।' उनले नागरिक र सशस्त्र बललाई देशको रक्षाका लागि एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

रोड्रिगेजले सार्वजनिक रूपमा विरोध गरे पनि ट्रम्पले भने अर्कै दाबी गरेका छन् । ट्रम्पका अनुसार विदेशमन्त्री मार्को रुबियोसँगको लामो टेलिफोन संवादमा रोड्रिगेजले वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । ट्रम्पले भने, 'उनले भेनेजुएलालाई फेरि महान् बनाउन हामीले जे आवश्यक ठान्छौँ, त्यो गर्न तयार रहेको संकेत दिएकी छन् ।'

अहिले काराकासको अवस्था शान्त देखिए पनि आगामी दिनहरू कता मोडिनेछन् भन्नेमा अनिश्चितता कायमै छ । अमेरिकी सेनाको यो कदमले भेनेजुएलामा लोकतन्त्र बहाली गर्छ वा नयाँ द्वन्द्व निम्त्याउँछ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित छ ।

कान्तिपुर संवाददाता

Link copied successfully