बेल्जियमले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

बेल्जियमले गाजामा भइरहेको मानवीय संकटलाई मध्यनजर गर्दै प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Belgium will also recognize Palestine as an independent state

What you should know

काठमाडौँ — बेल्जियमले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । बेल्जियमले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने बताएको हो । बेल्जियमका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री म्याक्सिम प्रेभोले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेका हुन् ।

परराष्ट्र तथा उपप्रधानमन्त्री प्रेभोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘प्यालेस्टाइनलाई बेल्जियमले संयुक्त राष्ट्र संघको सत्रमा मान्यता दिनेछ ।’

 प्रेभोले यो निर्णय ‘गाजामा भइरहेको मानवीय त्रासदी’ का कारण गरेको जनाएका छन् ।‘यो मान्यता औपचारिक रूपमा त्यतिबेला मात्र लागू हुनेछ जब गाजाबाट अन्तिम बन्धक मुक्त हुनेछन् र हमासले अब प्यालेस्टाइनको व्यवस्थापनमा कुनै भूमिका खेल्ने छैन,’उनले लेखेका छन् ।

यसअघि बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताइसकेको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् । केही समयअघि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्यांक्रोले समेत यसै वर्षको सेप्टेम्बरमा औपचारिक रूपमा प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिने बताएका थिए ।

वर्ल्ड पपुलेसन रिभ्युको तथ्यांकअनुसार विश्वका करिब १४० मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् । अरब समूहका सबै देश, इस्लामिक कोअपरेसन अगर्नाइजेसन र असंलग्न आन्दोलन पक्षधर मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् । गत वर्ष मात्र आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए ।

अधिकांश पश्चिमा र युरोपेली मुलुकहरूले भने प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको दर्जा दिएका छैनन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र अस्ट्रेलियाजस्ता शक्तिराष्ट्रहरूले शान्ति वार्तामार्फत नै मध्यपूर्वको समाधान हुने बताए पनि तत्परता भने देखाएका छैनन् ।

कान्तिपुर

Link copied successfully