बेलायतले पनि गर्‍यो प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा

बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ ।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Britain also announced the recognition of Palestine as an independent state

What you should know

काठमाडौँ — बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् ।

तर यसमा केही सर्तहरू भने छन् । बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । गाजाको भयावह अवस्था अन्त्य गर्न इजरायलले ठोस कदम नचाले बेलायतले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिनेछ भन्ने सर कियर स्टार्मरले बताएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्टार्मरले भने, 'यदि गाजाको भयावह अवस्था अन्त्य गर्नका लागि इजरायल सरकारले ठोस कदम चाल्दैन, युद्धविरामको घोषणा गर्दैन, गाजाको पश्चिमी तटमाथि कब्जा गर्दैन र दीर्घकालीन शान्ति प्रक्रियाका लागि प्रतिबद्ध हुँदैन भने बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनेछ ।'

उनले इजरायल र हमास विद्रोही समूहबीच कुनै समानता नरहेको उल्लेख गर्दै हमासले पनि सबै बन्धक छाड्नुपर्ने बताएका छन् । हमासले पनि युद्धविराममा हस्ताक्षर गरेर गाजा सरकारमा कुनै भूमिकामा रहन नहुने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । 

गत हप्ता मात्र फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको थियो । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसै वर्षको सेप्टेम्बरमा औपचारिक रूपमा प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिने बताएका थिए । 

वर्ल्ड पपुलेसन रिभ्युको तथ्यांकअनुसार विश्वका करिब १४० मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् । अरब समूहका सबै देश, इस्लामिक कोअपरेसन अगर्नाइजेसन र असंलग्न आन्दोलन पक्षधर मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् । गत वर्ष मात्र आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए ।

अधिकांश पश्चिमा र युरोपेली मुलुकहरूले भने प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको दर्जा दिएका छैनन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र अस्ट्रेलियाजस्ता शक्तिराष्ट्रहरूले शान्ति वार्तामार्फत नै मध्यपूर्वको समाधान हुने बताए पनि तत्परता भने देखाएका छैनन् ।

कान्तिपुर संवाददाता

Link copied successfully