कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको घोषणा

काठमाडौँ — युरोपेली मुलुकहरू आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिने भएका छन् । तीन देशले यही मे २८ बाट प्यालेस्टाइनलाई एक स्वतन्त्र मुलुकको मान्यता दिने बताएका हुन् ।

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको घोषणा

स्पेन र आयरल्यान्डले आफूहरू इजरायलको विपक्ष र हमासको पक्षमा नभएको पनि बताएका छन् । उनीहरूले शान्तिप्रति समर्थन जनाउँदै उक्त कदम चालिएको बताएका छन् । इजरायलले भने यो निर्णयले अस्थिरता ल्याउने भन्दै कडा प्रतिक्रिया जनाएको छ । उसले तीन देशबाट आफ्ना राजदूतसमेत फिर्ता बोलाइसकेको छ ।

हमास र प्यालेस्टिनी अधिकारीहरूले भने आयरल्यान्ड, नर्वे र स्पेनको कदमको स्वागत गरेका छन् । आयरल्यान्ड र स्पेनसँग समन्वय गरी नर्वेले बुधबार प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेका हुन् । नर्वेका प्रधानमन्त्री युनास गार स्टुराले 'लामो र बर्बर युद्ध' को अन्त्यका लागि उक्त कदम चालिएको बताएका छन् । उनले भनेका छन्, 'यो मध्यपूर्व दीर्घकालीन शान्ति ल्याउने एक मात्र समाधानको बाटो हो ।'

दुई राष्ट्रको सिद्धान्तलाई इंगित गर्दै उनले प्यालेस्टाइन र इजरायल स्वतन्त्र मुलुकका रूपमा शान्तिपूर्ण ढंगले अगाडि बढ्न सक्ने बताएका छन् । नर्वेपछि आयरल्यान्ड र स्पेनले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने घोषणा गरेका हुन् ।

वर्ल्ड पपुलेसन रिभ्युको तथ्यांकअनुसार विश्वका करिब १४० मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् । अरब समूहका सबै देश, इस्लामिक कोअपरेसन अगर्नाइजेसन र असंलग्न आन्दोलन पक्षधर मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् ।

अधिकांश पश्चिमा र युरोपेली मुलुकहरूले भने प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको दर्जा दिएका छैनन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र अस्ट्रेलियाजस्ता शक्तिराष्ट्रहरूले शान्ति वार्तामार्फत नै मध्यपूर्वको समाधान हुने बताए पनि तत्परता भने देखाएका छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?