एप्स्टिनसँग सम्बन्धित मुद्दामा आठ पूर्वअमेरिकी महान्यायाधिवक्ताहरूलाई पनि बयानका लागि बोलाइयो
What you should know
काठमाडौँ — अमेरिकी राजनीतिमा जेफ्री एप्स्टिनसँग सम्बन्धित विषयले नाटकीय मोड लिएको छ । यस क्रममा अमेरिकी संसद्को निगरानी समितिले पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनलाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।
गएको केही महिनादेखि निरन्तर रूपमा चलिरहेको एप्स्टिनसँग सम्बन्धित बालयौन दुराचार र मानव तस्करीसम्बन्धी मुद्दाहरूमा सो समितिले आठ पूर्वअमेरिकी महान्यायाधिवक्ताहरू र संघीय अनुसन्धान ब्युरो (एफबीआई) का पूर्वनिर्देशकहरूलाई पनि बयानका लागि बोलाएको छ ।
सबैलाई आगामी दुई साताभित्र बयानमा उपस्थित हुन निर्देशन दिएको समितिको वेबसाइटमा उल्लेख छ । क्लिन्टन दम्पती क्रमशः अक्टोबर ९ र १४ मा बयानका लागि समितिमा उपस्थित हुनुपर्ने सो निर्देशनमा भनिएको छ । समितिका अध्यक्ष जेम्स कर्नरले एप्स्टिनसम्बन्धी विषयलाई नयाँ तवरले हेर्नुपर्ने धारणा राखेका छन् । कर्नरले बिल क्लिन्टनले एप्स्टिनको व्यक्तिगत जहाजमार्फत उनको टापु, पोर्चुगल र चीनमा २६ पटक उडान गरेको लगायतका विषयहरूमाथि अनुसन्धान हुनुपर्ने मत राखेका छन् ।
विगत केही महिनायता एप्स्टिनसम्बन्धी विषयहरूमा आफू संलग्न नरहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय सो विषय असान्दर्भिक र अनावश्यक भएको दाबी गरिरहेका छन् । यही बेला संसदीय समितिले आफ्नो अनुसन्धानमा यी विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई बोलाउने निर्णय गरेको हो । जुलाईमा अमेरिकी न्याय मन्त्रालय र एफबीआईले भने एप्स्टिनसम्बन्धी कुनै पनि ‘ग्राहक सूची’ नभएको विवरण सार्वजनिक गरेका थिए । तथापि, समितिले यसमा अनुसन्धान अघि बढाएको हो ।
सन् २००१ देखि २००३ का बीच राष्ट्रपति रहेकै बेला क्लिन्टन फाउन्डेसनको काम परेको भन्दै क्लिन्टनले एप्स्टिनसँग उनको निजी जहाज ‘लोलिता एक्प्रेस’ मा २६ पटक युरोप, एसिया र अफ्रिकाका विभिन्न भागमा उडान गरेको आधिकारिक दस्तावेजहरूमा उल्लेख छ । सञ्चार माध्यमहरूमा क्लिन्टन फाउन्डेसनका प्रवक्ताले जनाएअनुसार ती उडानहरू एचआईभी एड्स लगायत परोपकारी विषयहरूमा आधारित थिए । तर, पछिल्ला दिनमा इन्टरनेट र सञ्चार माध्यममा फैलिएका केही तस्बिरमा क्लिन्टन एप्स्टिनका पूर्वप्रमुख सहायक चन्ते डेभिस सँगसँगै देखिन्छन् । एप्स्टिनले व्यक्तिगत रूपमै हिलारी क्लिन्टनको संस्थामा २० हजार डलर योगदान गरेका थिए ।
पूर्वराष्ट्रपति बिल क्लिन्टनले भने एप्स्टिनको टापुमा कहिले पनि भ्रमण नगरेको दाबी गर्दै आएका छन् । उनकी श्रीमती हिलारीलाई चाहिँ एप्स्टिनकी साझेदार गिलेन म्याक्सवेलका भतिजाले उनको चुनाव प्रचार अभियानमा काम गरेको आधार देखाउँदै उनी पनि यो प्रकरणमा संलग्न हुन सक्ने कारण देखाएर बोलाएको रोयटर्सले जनाएको छ । ट्रम्प प्रशासनले ओबामा सरकारका अन्य वरिष्ठ अधिकारीहरूमाथि समेत विभिन्न बहानामा अनुसन्धान अगाडि बढाएको छ ।
क्लिन्टन दम्पतीसँगै एफबीआईका पूर्वनिर्देशकद्वय जेम्स कोमे र रोबर्ट मुलर, पूर्वअमेरिकी महान्यायाधिवक्ताहरू, विलयम बार, जेफ सेसन्स, लोरेटा लिन्च, एरिक होल्डर, मेरिक गारल्यान्ड र अल्बर्टो गोन्जालेजलगायतलाई समितिले बयानमा आउन भनेको छ ।
हाल अमेरिकामा एप्स्टिनसम्बन्धी गोप्य राखिएका फाइल सार्वजनिक गर्नुपर्ने माग उत्कर्षमा पुगेको छ । एप्स्टिन फाइलहरू भन्नाले लगानीकर्ता जेफ्री एप्स्टिनसँग सम्बन्धित कानुनी कागजात, हवाइ उडान रेकर्ड, भेटघाटका नोट र शिलबन्दी गरिएका अभिलेखहरूको एउटा संग्रह हो ।
यी फाइलहरूमा उनले कसरी बालिकाहरूलाई दुर्व्यवहार गरे र यसमा अरू को–को संलग्न थिए भन्ने विवरण समावेश रहेको अनुमान गरिएको छ । नाबालिगहरूलाई यौन तस्करीमा संलग्न गरेको आरोपमा संघीय अपराधअन्तर्गत सन् २०१९ मा एप्स्टिनलाई पक्राउ गरिएको थियो । (एजेन्सीको सहयोगमा)
एप्स्टिन फाइलसँग सम्बन्धित अन्य समाचारहरु
एप्स्टिन फाइल विवादले रन्थनिएका ट्रम्प
एप्स्टिन फाइल के हो ? राष्ट्रपति ट्रम्प यस विषयमा किन बोल्न खोजिरहेका छैनन् ?
